Friday, January 22, 2016

मनको आरोप



एकदिन कहाँकहाँ पुगेर ठोकियो मन र घाइते भएर फर्कियो ।
यस्तै हुन्छ, धेर बरालिनु राम्रो होइन, आराम गर भनेर थुम्थुम्याए पछि मुसुक्क हाँस्यो र भन्यो - त्यो त मलाई पनि थाहा छ । तर मेरो स्वभावै यस्तो छ कि म एकै ठाऊँ कहिल्यै बस्नै सक्दिन । एकै ठाऊँ गुम्सिएर बस्नु मेरो स्वभाव विरूद्दको कुरा हो । बरू यी यसरी रक्ताम्य भएर फर्किंदा मलाई अफ़सोस लाग्दैन । तर अचेल अलि बढी नै बरालिंदै छु । मलाई माफ़ गर्नुहोला । म सकेसम्म अलि बढी नियन्त्रित हुन कोसिस गर्नेछु ।

त्यसको एकै छिनपछि फेरि कहाँ कहाँ पुगेर मुस्कुराउन थाल्यो मन । धेरै बेर उतै हरायो । फर्किंदा पनि त्यो मेरो ओठमाथि नाच्दै नाच्दै फर्कियो । त्यो म अनुभव गर्न सक्थें । एक प्रकारको आनन्द आइरहेको थियो ।
मैले कहाँ गएको थिइस् पनि भनिन । र यस पटक मैले उस्लाई धेरै बरालिनु हुँदैन पनि भनिन । आराम गर पनि भनिन ।

मैले चुपचाप थाहा नपाए झै गरेको देखेर उस्ले भन्यो - यस पटक त केही भन्नु भएन त ? तपाई पनि स्वार्थी नै त हुनुहुँदो रहेछ नि !

No comments: