Sunday, January 24, 2016

‎तपाईंको उचाई कति हो‬ ?


साढे पाँच फुटले एकदिन मेरो सामु आएर ऊ साढे छ फुट भएको बतायो |
उसबेला मेरो समस्या बढी भन्दा बढी बस्तुबादी हुन खोज्नु थियो |
मैले भने - झुठो हो, तिमी साढे पाँच फुट जस्तो मात्र देखिन्छौ | यसपछि ऊ मबाट रिसाएर गयो | फेरि कहिल्यै सम्पर्कमा आएन | मलाई त्यसै नरमाइलो लागिरह्यो |
यस्ता कयौ घटना घटे मेरो जीवनमा |
**
एक दिन देवकोटाको कविताले मलाई आकर्षित गर्यो | मैले पनि काँडालाई फूल र फूललाई काँडा, ढुंगालाई ईश्वर र ईश्वरलाई ढुंगा, यस्ता अनेक कुरा देख्ने प्रयास गरें | २+२=५ पनि हुनसक्छ, ४ पनि हुन सक्छ भनेर बिश्वास गर्न खोजें | दृश्य भन्दा परतिर गएर जीवनलाई बुझ्न खोजें | यसो गर्दा मलाई आफू झन्झन् भ्रममा, झन्झन् कठीनतिर प्रवेश गरिरहेको जस्तो लागिरह्यो | झन् हराए जस्तो भएँ म | तर एक प्रकारको आनन्द भने आइरहे जस्तो पनि लागिरह्यो |
**
समय न हो । एकदिन कताबाट फेरि साढे पाँच फुट मेरो सामु आइपुग्यो | उसले आफ्नो गलाको आइडि कार्ड देखाउँदै भन्यो - अब त म साढे छ फुटको हुँ भन्नेमा बिश्वास लाग्छ ? यसो हेरेको त्यहाँ उसको उचाई साढे छ फुट नै लेखेको थियो |
मैले भने - किन नलाग्नु ? खासमा तपाईं साढे सात फुटको हुनुपर्ने हो | त्यो बेला मैले मजाक गर्न खोजेको थिएँ । तपाईं यसै मसँग रिसाएर हिंडीहाल्नु भयो । तपाईंको जस्तो उचाई भएकोले साढे सात फुट नै लेखे पनि सबले बिश्वास गर्छन् | र त्यो हो पनि | नत्र एकचोटी आफ्नो उचाई आफै नापेर हेर्नुहोस् त | मलाई त लाग्छ - कसैले तपाईंको उचाइको अझै अवमुल्यन गरिरहेको छ |
ऊ कन्फुज भयो | ऊ जे सोचेर मलाई भेट्न आएको थियो, त्यो भन्दा फरक पाएको थियो उसले मलाई | ऊ एकछिन अल्मलियो र त्यहाँबाट हठात् बाहिरियो |
**
एक दिन म कुन सही र कुन गलत बाटो हो भन्ने बुझ्न नसकेर यसै कफीसपमा घोत्लिरहेको थिएँ | ऊ एक्कासि मेरो छेऊमा आयो र भन्यो - तपाईंले मेरो आँखा खोलिदिनु भयो | मेरो वास्तविक उचाइ साढे पाँच फुट नै रहेछ | यी हेर्नुहोस् त मैले मेरो परिचय पत्रमा पनि सुधारेर साढे पाँच नै बनाए | मलाई माफ गर्नुहोला |
उसले थप्यो - तर तपाईं कसरी बदलिनु भयो ? तपाईंले ठीक गर्नु भएन | तपाईं पहिलाको जस्तै हुनुहोस् | प्लिज, मलाई एकचोटी तँ साढे पाँच फुटको होस् भनिदिनुहोस् |
**
म भने झन् छक्क परिरहेको थिएँ | अझै पनि कुन ठीक/ कुन गलत छुट्याउन सकिरहेको थिइन |
उसले अन्तिम प्रश्न गर्यो - तपाईंको उचाई ?
-मेरो आफ्नै उचाइ चाहि "साढे पाँच फुट" हो | तर कहिले कहिं म छ फुट, सात फुट, आठ फुट, दश फुटको पनि देखिन्छु |
मतलब ?
मतलब म कहिले अरुको ढाडमा टेकेर उभिएको हुन्छु, कहिले काँधमा, कहिले टाउकामा | अरुले दिएको उचाइ घटाइन भने र त्यसलाई आफ्नै उचाई सम्झें भने हिसाब फरक निस्कन्छ । परबाट देख्दा धेरै मान्छेहरू भ्रममा हुन्छन् | म केमा टेकेर उभिएको छु त्यो थाहा पाउन्दैनन् र मलाई दश फुटको भनिदिन्छन् र म दश फुटको मूल्यमा बजारमा बिकिरहेको हुन्छु | म खिस्स हाँसें |

उसको निधारमा चिट चिट पसिना निस्किरहेको थियो |
मैले उसलाई आँखिरी प्रश्न गरें -तपाईंको उचाई साढे छ फुट देखिएको बेला तपाईं केमा टेकेर उभिनु भएको थियो ? के तपाईं सम्झन सक्नुहुन्छ ?
...............त्यसपछि ऊ आफ्नो गाउँलाई सम्झिएर भक्कानिंदै धेरैबेर रोइरह्यो | आमाबुबा, साथीभाइ, गुरुहरू धेरै धेरैको नाम लिएर उसले सुँक्कसुँक्क गरिरह्यो |

No comments: