Friday, November 22, 2013

के यसपटक चाहिं नेपाली जनताले जीते त ??


माओवादीप्रतिको जनताको आक्रोस, उसले हार्दा आफ्नै पार्टीले जीतेको भन्दा बढी नेपाली जनतालाई हुने आनन्दको अनुभूति, यीं सब माओवादीको हिंसात्मक राजनीति, शान्ति प्रक्रियामा आइसके पछि माओवादी नेतामा देखापरेको चरम भोगविलास, भ्रष्टचार, आफन्तबाद, कृपाबाद र पार्टीमुखी र सत्तामुखी रणनीति, पार्टी अध्यक्षको बोलीको बेठेगान, देश बिकाश र संबिधान निर्माण भन्दा सत्ता हत्याउने षड्यन्त्र मै केन्द्रित अधिनायकबादी सोच, कुटनीतिक क्षेत्र लगायत देशकै गरिमामय पदमा पार्टीगत बिल्ला भिरेका असक्षम व्यक्तिको नियुक्ति, संघीयताका नाममा देशलाई टुक्र्याउने र सदियौं देखिको जातीय सदभावलाई खल्बल्याएर फूटको राजनीतिबाट फाईदा लिन खोज्ने रणनीति , विभिन्न अपराधमा संग्लग्न पार्टीभित्रका कार्यकर्तालाई दशबर्षे महान जनयुद्दको कहानी र शान्ति सम्झौतासँग जोडेर संरक्षण गर्दै कानुनी राज्यको उपहास, राष्ट्रिय स्तर देखि गाऊँस्तर सम्मका कार्यकर्ता र पार्टी नेता, महानेतामा डर, धम्कि, र त्रासको सृजना गर्ने किसिमका भूमिगत शिल स्वभाव र चरित्रको यथास्थिति, आदि इत्यादी कुराहरु प्रमुख जिम्मेवार छन् | कुनै कांग्रेस अर्थात् एमाले सर्बगुण सम्पन्न भएर चुनाव जितेका होइनन् | मावोबादीको पतन्मोख चरित्रबाट आजीत जनताले आफ्नो झिनो आँखिरी आशा यिनलाई सुम्पेका हुन् | भ्रष्ट्रचार, दम्भ, भोगविलास, सत्तालिप्सा र जनभावनाको अवहेलना गर्ने कांग्रेस / एमालेका शैलीबाट पनि नेपाली जनता अपरिचित छैनन् |

वास्तवमा भन्ने हो भने मावोबादीको अबधारणा नेपालको भूराजनैतिक परिवेशसँग मात्र नभएर बर्तमान विश्वपरिस्थिति अनुसार पनि प्रतिकूल देखिन्छ | अन्तत: तीनका जबर्दस्त निरंकुस प्रवृतिका गुप्त नीति कार्यनीतिले नेपाली जनतालाई नराम्रो धोका दिन्छ | निरक्षर, असिक्षित र होहल्लाको पछि दगुर्ने औंलाको संख्यामा गन्न सकिने नाम मात्रका केही पढेलेखेकाहरुको एउटा अबसरबादी जत्था सिवाय यो केही होइन जस्तो देखाउँछ बिगत ईतिहाँसले | अहिंसाको मनोविज्ञान मानव जगतमा फैलाउन र विश्वमा शान्तिको स्थापना गर्न अहिले सम्मको मानव ईतिहाँसले कतिधेरै समय र पुस्ताहरूको लगानी गरेको होला सम्झिहेर्नुहोस् त ?? तर आँखा अगाडि नै हामीले  ढुंगे युग भन्दा ईत्तर समयमा पनि देख्न नपाईने खालका दर्दनाक र पासविक दृश्यहरू २१ औं शताब्दीको राजनीतिक धरातलमा भोग्यौं, देख्यौं | केन्द्रिय तहमा होस् अर्थात् स्थानिय तहमा, त्यो मानसिकता, त्यो धम्कीको भाषा अझै मायोबादीबाट हटेको छैन | यसरी नै स्वतन्त्र, निस्पक्ष, खुला र डर त्राश बिहीन निर्बाचनहरू हुनु हो भने मावाबादी नेपाली राजनीतिबाट सदा सदालाई बिलय  हुने थियो | तर त्यसो हुन पाउने छैन, किनकी कांग्रेस एमालेको स्वेच्छाचारी, अहम्बादी, भ्रष्ट, सत्तालोलुप प्रवृतिले माओवादको संरक्षण गरिनै रहने छ | र ती फोका जस्ता भएर नेपाली राजनीतिमा उठ्ने र प्याट्ट फुट्ने क्रम जारी नै रहने छ |

यथार्थमा भन्नु हो भने नेपाली जनताहरू एकदमै कुइरोको काग जस्ता भएका छन् | अब के गर्ने होला ? अब के हुन्छ  होला ?? तीनलाई केही कुराको पत्तो छैन, किनकि तीनलाई आफैले चुनेर पठाएको प्रतिनिधि प्रति कति भरोषा छैन | बिचरा जनताहरू यता न उता भएका छन् | चोरै चोरहरूको बीचबाट अलि कमचोर, फटाहा नै फटाहाको बीचबाट अलि कम फटाहा, अनैतिकै अनैतिकको बीचबाट थोरै भए पनि नैतिकवानको खोजिगरेर भोट हाल्नु पर्ने मुस्किलता नेपाली जनताहरूको बिबसता बनेको छ | औंलामा गन्न मिल्ने असल नेताहरू खराबहरूको भीडमा यसै हराएका छन् | कांग्रेस र एमालेले यसपालको जनाताको यो सपोर्टलाई आफ्नो बिगत झुसिल्किरे राजनीतिक गतिबिधिको समर्थनको रूपमा बुझे र त्यहीं अनुसारको आचरणमा अघि बढे भने नेपाली जनताले अत्यन्तै दुखको अनुभव गर्नेछन् | त्यो दिन अब महसुस गर्न नपरोस | यसलाई उनीहरुले जनताले सुम्पेको आँखिरी भरोषा र  जिम्माको रूपमा बुझिदिएर कर्तब्यपरायण भएर अघि बढिदिए भने नेपाली जनताले हर्षले आसुँ चुहाउने छन् | सोह्र हजार सिधा-साधा नेपालीका तड्पिरहेका मृत आत्माले शान्तिको महसुस गर्नेछन् | र माओवादी हिंसात्मक आन्दोलनका पछिला सम्भाव्य योजना-परियोजनाहरू  यसै तुहिएर जाने छन् | नेपाल र नेपालीको सपना साकार हुनेछ | तर के यो सम्भव छ ? सम्भव होस्, सबलाई शुभकामाना छ !!!!!  नेपाली जनतालॆ भरोषा गर्न मिल्ने कोही नभएर रुँदैरुँदै चोरलाई चाबी दिन दिन नाअओस || सच्चा ईमान्दार र भरपर्दो राजनीतिक संस्कारको बिकास भएर जाओस | बिजेताहरूले यसको अभ्यास गर्ने हिम्मत गरुन् |

"के यो ईच्छा कोर्रा परिकल्पना मात्र हो त ?? एउटा बिथ्थाको बस्तु ???"   बिगतले वर्तमानभरी प्रसस्त संकाहरू  छरिदिएको छ |

मित्रहरू,
मलाई के लाग्छ  भने - नेपालमा यी चोर, फटाहा, डाका, हत्यारा, घुसखोरी, बलात्कारी, रास्ट्रघाती, देशद्रोही, बिखन्डनकारी, आतंककारी कुनै पनि अपराधी जन्तु जुनसुकै पार्टीको, अर्थात् जो सुकैको बाउ, बराजु ,छोरो , नाति वा पनाति भए पनि कानुनी राज्याको अबधारणा अनुसार कारबाही हुने परिपाटीको बिकास मात्र हुनु हो भने पनि नेपाली जनाताले अथाहा राहतको महसुस गर्ने थिए,  तर यीं चुत्याहा राजनीतिक पार्टीहरूले जबसम्म यस्ता दुष्टहरुको पृष्ठपोषण गरेर यिनलाई पोल्टामा हालेर जोगाई रहन्छन् तवसम्म नेपाली जनता माओवादी जस्ता हिंसात्मक राजनीतिमा उन्मत्त पार्टीबाट अहिले क्षणिक जीतको महसुस गरेपनि निरन्तर हारिनै रहनेछन् |

                               

Saturday, August 24, 2013

टपरटुईंयाँ बिद्द्वानहरू र तिनका भँगेरे समर्थकहरू

बिसङ्गति त जरुर छ यहाँ | यहीं भित्रबाट प्रकृतित: बाँच्ने प्रिक्रियाको खोज हमेसा गरिरहन्छ मान्छे | जीवनमा दु:खहरूले जतिसुकै दाईं गरेपनि अन्तिमसम्म जिजीबिषा पालीरहन्छ मान्छे, र त्यो हुनु आवस्याक पनि छ | जीवनको अमूल्य मूल्य आफ्ना अपुरा र अधुरा सपनाहरुले सिमान्ततासम्म बोकेर हिंडीरहेकै हुन्छन् | कसैको अर्ति/उपदेश अर्थात् वर्तमानका केही टपरटुईंयाँ बिद्द्वानहरूका भ्रमित ज्ञानगुन बिना पनि मान्छे यसै बाँचिरहेकै हुन्छ |

हमेसा जीवनको निरर्थकताको कुरा गर्ने, क्षणभंगुरता र अस्थाइत्वको कुरा गर्ने, जीवनका दुर्घटना र भ्रमपूर्ण चेतनाको कुरा गर्ने तर फेरि आफू महानताको पगरी गुच्छन अर्थात् बिद्द्वताको टीका लगाउन छिन मै अरूको पाईतालाको छापसम्म खुर्केर फाल्न खोज्ने कंकाल मानसिकताका जिउँदा विसंगतिहरू भ्रमको व्याख्याका क्रममा अरू भ्रम फैलाएर दुनियालाई अरू दिग्भ्रमित पार्न खोजिरहेछन् | यो दुनियाँ हल्लाको पछि धेर दगुर्छ | नाम दामको पछि कुद्दा कुद्दै आफूलाई नै गुमनाम गर्छ | काम भन्दा कुरा, ब्यबहार भन्दा सिद्दान्तको खेति गर्ने प्रचलनको अनुसरण धेर तिनैले अपनाएको देखिन्छ, जो आफू बख्खु लगाउँछन् तर हमेसा आफूलाई धोतीधारी भन्न रुचाऊँछन् | बख्खुको बिरोध गर्छन् र कन्दनी र धोतीको प्रसंसा गर्छन् | आफू नाङ्गो, उदाङ्ग खुल्ला किताब जस्तो छु भन्छन् तर कोड भित्र अनेक कोडहरूमा आफ्नो असली छुपाएर बात गर्छन् | हिजो ढाँटेको कुरा निकाल्यो भने त्यो हिजोको कुराहो,आज फरक भैसक्यो भनेर किच्च गरिदिन्छन् | आफ्नो पंगु जीवनशैली र बकम्फुसे दर्शनको समर्थनमा नयाँ सिद्दान्त नै स्थापना गर्न खोज्छन | आफू कट्टु माथि कट्टु लागाउने र अरुलाई नाङ्गो हुनुपर्छ भन्ने खालका यथार्थबादी लेखक, कलाकार, र नेता, महानेताको बिगबिगी कम गतिमा बढेको छैन अचेल | आफूलाई सत्य सावित गर्न ती रुन्छन् / कराउँछन् | तिनले यहीं प्रक्रिया द्वारा डण्डीफोरलाई पीलो साबित गरेर देखाई दिन्छन् | यिनीहरू आफूलाई लुकाउँछन् र अरुको एकसरो जीवन बाँच्ने प्रतिष्ठा पनि च्यातिदिन्छन् , र भन्छन - उदाङ्ग हुनु पर्छ | खुल्नु पर्छ | लुकाउनुको अर्थ छैन | आँखीर एकदिन असलियत सबैले थाहा पाईहाल्छन् |

यीं यसरी झुठा बिचारको खेती गरेर अगाडि बढिरहनुको एकै कारण तिनको पछाडि ठूलो भ्रमपूर्ण जमात घिसारिएर जानु हो | यस्तालाई काँधमा बोकेर तिनको धमिलो बिचारले आफूलाई प्रदुषित बनाउदै लगेका अदृश्य जमातहरू प्रशस्त: छन् | ती कालान्तरमा यस्ता बिचारले टक्सिकेटेट भएर अन्ध समर्थक जस्ता बन्दै जान्छन् | जसरी कम्युनिष्ट विचारधाराबाट मात्रा प्रशिक्षितहरू दुनियाँका अन्य दर्शनलाई तिनीहरूको अध्यानको सामन्तबादी आँखाले मात्र हेर्छन् र आफू आजीवन अन्धो भएको पत्तो पाउँदैनन् | यीं प्रसंसक अर्थात् समर्थकहरू यस्ता हुन्छन्, जसले ती टपरटुईंयाँ बिद्द्वानलाई बातै पिच्छे पगरी लगाईदिन खोज्छन् | र भन्छन - हजुरले त डकार्दा पनि दर्शन नै निस्कन्छ |

अचेल जसले जेको पनि खेती गरेकोछ | जेको पनि व्यपार गरेको छ | बिक्नेसम्म जसले जे पनि बेच्न खोजेको छ /बेचेको छ | त्यो तुलनामा यस्ता बिद्द्वानहरूले बजार अनुसारको बिचारको आलु उत्पादन गरेर फाईदा लिनुलाई तिनको कलाको सफल प्रयोगको रूपमा लिनुपर्ला ! अनि जे कुरामा पनि समर्थन गरेर भुईं छोड्ने भँगेरे समर्थकहरूलाई असल उपभोक्ता भनेर बुझ्नु पर्ला !! कि कसो ???

Tuesday, February 26, 2013

अनुभव भन्ने कुरा अजीबको हुँदोरहेछ !


कहिले कहीं कति आसानी साथ हाँसिदिनु पर्छ मान्छेले, ता कि आफ्नो सिधापनले ऊनिहरुको आपराधिक मानसिकतालाई अपाङ्ग बनाई दियोस ।
म राजनीति झन् भयङ्कर र रिलेसनसिप मृत प्राय: भएको एउटा गाउँमा पुगेर उभिन्छु । मलाई बिल्कुल डर लागेको हुँदैन तर  मनभरि दुखेसो हुन्छ । पीडा हुन्छ । एक प्रकारको अमिलो खेद उब्जिएर आउँछ । मलाई आफ्नै माटामाथि थुक्ने हिम्मत बिल्कुल हुन्दैन, तर राजनीतिको घोडा चडेर गोप्य मिटिंगमा दिनभर गाएब हुने र रातभर भिष्म पितामह बन्न खोज्ने आफन्ती अनुहारहरू आफ्नो बैचारिकताको सिमान्ततामा तैरिदै गएझै लागिरहेथ्यो । त्यसबेला, त्यो दिन मैले एउटा भ्रमलाई स्वीकारेको थिएँ र बिस्तारी मुस्कुराएको थिएँ ।
जीवन भोग्नुसंग हमेशा सवाल राख्छ । अनुभवका टुक्रा टुक्राले जीवनको लम्बाईको हिसाब राख्छन् । फरक-फरक परिस्थितीमा  मान्छे फरक-फरक  बनिसकेको हुन्छ । अनुहारको उपस्थिती र ब्यबहारको प्रुस्तुती नमिल्दा लाग्न थाल्छन । र फेरी एउटा ज्ञान अर्थात् भ्रमको जन्म भैसकेको हुन्छ ।
जसरी  हरेक भ्रम सहित एउटा ज्ञानको जन्म हुन्छ, ठीक त्यसरी नै हरेक भ्रम सहित अर्को ज्ञानको मृत्यु पनि हुन्छ । तर यो अनुभव भन्ने कुरा चाहीं सँधै अजीबको हुँदोरहेछ !