Sunday, January 24, 2016

अधुरो कथा ....

कहिले कहीं मलाई म साह्रै हतारमा छु जस्तो लाग्छ | जस्तो हतार फिल्म हलमा पस्नेको छ, निस्कनेको छ | ट्रेनमा उक्लनेको छ, ओर्लनेको छ | यत्तिकै बसिरहँदा पनि हत्तार हतार भएजस्तो भएर आउँछ | मानौ मैले कहीं बेलैमा पुग्नु छ | बेलाबेला म हतार हतार कहीं गइरहेको जस्तो महसुस गर्छु | मानौ बाँच्नु एक धावामा सामेल हुनु हो | मलाई यो जिन्दगी बाट निस्किएर कतै जान पाए हुन्थ्यो जस्तो लाग्छ | यो धपेटी बाट बिश्रान्ती लिन पाए हुन्थ्यो जस्तो लाग्छ |

हे ! कहिले कहीं तँलाई पनि यस्तो हुन्छ ?
ओ ! ओ ! सरी | मैले तँलाई यस्तो प्रश्न सोध्नु हुने थिएन | यो प्रश्नको उत्तर दिनको निम्ति तँ अझै प्रशस्त पाको भएको छैनस् | आइ एम सो सरी !

- म उसको आँखामा खेद प्रकट भएको भाव देखिरहेको थिएँ | मैले केही भन्न नभ्याई फेरी उस्ले अलिकति सम्हालिन्दै भन्यो - मलाइ किन हो आजभोलि यस्तो फिलिंग हुने गर्छ | र मलाइ थाहा छ, यस्तो फिलिंग हुनु राम्रो होइन | मलाइ लाग्छ मेरो दिमागमा धेरै कुराहरू छन् | तर चाहेर पनि म यीं कुराहरूबाट मुक्त हुन सक्दिन | किनकि म हुँ नै त्यस्तै प्रकारको मान्छे |

यति भनेर बैंकमा जम्मा गर्ने पैसा भेला पारिसकेपछि हावाको झोक्का जस्तो भएर अब्बास ढोकाबाट बाहिर निस्कियो | मलाई हिजो मात्र उस्ले भनेका धेरै कुराहरूले घेरिरहे |

ऊ भन्थ्यो - धेरै मान्छेहरू मेरो ईर्ष्या गर्छन् | बिशेष गरेर सोनिया र मेरो सम्बन्धको | सोनिया निक्कै उच्च घरान कि पढाइमा निक्कै राम्रो क्षमता भएकी निक्कै सुन्दर केटी थिई | ऊ एम.बि.बि. एस गर्नको निम्ति १९७० को दशकमा अमेरिका आएकी थिई | म पनि संयोगले त्यहीं समय अमेरिकाको भूमिमा पाइला टेक्न आइपुगेको थिएँ | त्यो समय इरानको अबस्था अहिलेको जस्तो थिएन | संसारका धेरै मुलुकमा जानको लागि इरानी नागरिकलाई पासपोर्टको जरूरत नै पर्दैनथ्यो । उसबेला अमेरिका आउनु इरानीहरूको निम्ति कुनै ठूलो कुरा थिएन ।

संयोगले सोनिया र मेरो भेट यही भयो र हामीले एक अर्कालाई मन पनि परायौं | सोनियाको बुबाआमासँग मैले उसको हात मागेको भए मलाई कहिल्यै पनि उनीहरूले स्विकार्ने थिएनन् । तर त्यसो हुन पाएन, सोनिया र मैले आफ्नो निर्णय गरिसकेका थियौं । अहिले पनि मलाई एउटा कुरामा भने पछुतो नै लाग्छ । मैले सोनियालाई डाक्टर हुनबाट नरोकेको भए हुनेरहेछ ! मेरो हठका सामु सोनियाले पढाई कुर्वान गरिदिई र मेरो इच्छामा सामेल भएर आई । यसरी सुरू भयो हाम्रो प्रेम कहानी । तँलाइ थाह छँदैछ हामी उतातिरका लोग्नेमान्छेलाई स्वास्नीमान्छे आफ्नो अन्डरमा भइदिए भने मात्र हामी आफ्नो पौरुषत्व ढाडे भएको महसूस गर्न थाल्छौ । हामी बेटर फिल गर्छौं ।
-
-
-
अब्बासको जीबनी आफैमा एक रोचक उपन्यास जस्तो छ । तर म जस्तो अल्छि यो दुनियाँमा कमै मान्छे होलान् ।
AUGUST 19

No comments: