Sunday, January 24, 2016

कुन दिन मेरो फ्रेम चेन्ज हुने हो

कहाँ छु होला म ? कस्तो आकृतिमा ?
म अहिले कुन फ्रेमबाट दुनियाँ देखिरहेको छु ? भोलि कुन फ्रेममा सजिने हूँ र कसरि , कुन कोणबाट हेर्ने हूँ यिनै कुरालाई ?

भन्छु - यो मेरो बिचार हो । मेरो कुरा हो ।मलाई थाहा छ आदि आदि। तर कहिले सम्मको, कस्तो बिचार हो यो मेरो, यसरी भने मलाई सोच्ने फुर्सद छैन । यो फ्रेममा म यसरी छु कि मेरो दिमागमा हरेक कुराहरू जसरी इन्स्टल गरिएको वा भएको छ त्यसरी सिवाय म अरू तरिकाले देख्नै सक्दिन ।

अनि म भित्रको कुन्नि के फुत्त बाहिर निस्किएर भन्छ - मैले भने पछि भने भने ।

हार के हो र जीत के हो भनेर नबुझेको भए पनि मलाई एउटा कुरा सँधै थाहा हुन्छ - मैले हार्नु हुँदैन । झुक्नु हुँदैन ।

कुन दिन मेरो फ्रेम चेन्ज हुने हो र ज्ञान जस्तो केहि कुरा हुँदो हो ~ "हार्नु हुँदैन, झुक्नु हुँदैन" - उफ् यहीं कुरा त रहेछ नि मलाई सँधै हराइरहने ।

लेख

पुङ्ग न पाङ्गको बिबादबाट देश बाहिर निस्कियोस् !

तत्कालिन समयमा युद्दलाई जसरी पनि चरमोत्कर्ष रुप दिएर आफ्नो लक्ष्य हाँसिल गर्न अघि बढेको माओबादीको युद्दकालीन नीति अनुरूपका नारालाई जनताले त्यसपछि पनि पछ्याईरहे | आज झन्डै अर्को दशबर्ष बितिसक्दा पनि केही जनतामा यो भ्रम हटेको छैन | र यसले सिंगो देशको गतिलाई अड्काएर राखेको छ | भित्रभित्र माओबादीहरूलाई पनि अब त जनताले कतिपय कुरा बिर्से पनि हुन्थ्यो भन्ने लागेको होला, तर त्यो हुन सकेको छैन | बर्गीय कुरालाई मात्र अघि बढाएर लैजाँदा युद्दले भनेजस्तो गति लिन नसकेकोले शायद उनीहरूले यस्ता हुनसक्ने नसक्ने सबै प्रकारका नाराहरू बोकेर हिड्नुपरेको थियो | नत्र बर्गीय समस्यालाई नै देश र जनताको मुख्य समस्या ठान्ने कम्युनिष्ठ सिद्दान्तले कहिले पनि जातको, धर्मको, भाषाको, पहाड र मधेशको, आदिबासी र भर्खरबासीको नाममा राजनीति गरेर हिड्नुपर्ने स्थिति आउने थिएन | हुँदा हुँदा द्वन्दात्मक भौतिकबादी सिद्दान्त बोकेर हिंडेका नेताहरूले गेरू बस्त्रधारीकोमा गएर नतमस्तक हुँदै आसिर्बाद र शुभकामना ग्रहण गरेका फोटाहरू देख्दा 'संसारमा असम्भव भन्ने कुरा केही पनि छैन' भन्ने भनाई आँखा अगाडि प्रमाणित भएर उभिएको जस्तो लागिरह्यो |

भलै जे होस् | सबैका आ-आफ्ना समस्या होलान् | तर आज मलाई यो खिचडी जो दशबर्षे युद्दमा माओबादीले सिर्जना गरे, त्यसको समाधान भएको हेर्न मन लागेको छ | मलाई मात्र होइन, मजस्ता धेरैलाई | सकिन्छ भने हामीले बेलैमा माओबादीको खिचडी तत्कालीन युद्दको निम्ति तयार भएको एउटा चलाखी मात्र थियो भन्ने कुरा बुझेर अघि बढ्यौ भने सबैको भलोहुने थियो भन्ने लाग्छ | अनावास्याक रूपमा सिर्जना गरेका यस्ता तमाम बिबादले कुनै पनि देशको राष्ट्रिय एकतामा गिरावट ल्याउँछ | यस्तो कसैको सुनियोजित उदेश्य पनि हुनसक्छ | नेपाल एक स्वतन्त्र, सबल र सक्षम रास्ट्र निरन्तर रहिरहन यसरी टुटेर फुटेर सम्भव छैन | यो पुष्पकमलको खिचडी पाक्ला र खाउँला भनेर बस्ने तपाईं हामी सबै अकबरहरूले बेलैमा कुरो बुझ्यौ भने हाम्रा बहसका शिर्षकहरू बदलिने थिए |

समतामूलक नेपाली समाजको निर्माणका खातिर अधुरा रहेका बालबालिकाका मुद्दा, नारीहरूका मुद्दा, विधिको शासन कायम राख्न प्रशासनिक निकायमा हुनु पर्ने सुधार, भ्रस्टचार घुसखोरीका मुद्दा, बिकाश निर्माणका मुद्दा, सीमा बिबादका मुद्दा, सयौं मुद्दा यस्ता कति छन् कति | राज्यले सबै नागरिकलाई समान अवसर,सुबिधा र अधिकार प्रदान गरेर अघि बढ्नु पर्नेमा दीर्घकालीन यस्ता बिबादका खटिराहरू बोकेर हिड्नु उचित होइन | र सही रूपमा जनताको प्रतिनिधि भएर जाने राज्य संचालकहरूमा यस्तो सोच आउनु पनि हुँदैन | यो राष्ट्रिय अपराध हो | तर दुखको कुरा कतिपय राज्यका उच्च निकायमा बसेकाहरू, समाजमा पथप्रदशकको रूपमा रहेकाहरू, पत्रकार, बुद्दिजीवी र समाजसेवीहरू नै गैह्रजिम्बेवार हुनु नेपालमा सामान्य कुरा बन्दै आएको छ | बरू उल्टो दोसल्ला ओढाएर, फूलमाला पहिर्याएर तीनको ईज्यत र मर्यादामा तिनैले लगाएको कालो धब्बालाई हामी सुद्दिकरण गर्दै आएका छौं र फेरि तिनैलाई हामीले हाम्रो भाग्यको फैसला गर्ने अधिकार सुम्पेर पठाएका छौं |

कसैले भनेका खराब कुराको पछि लागेर यो भन्थिस्/ त्यो भन्थिस्,गरेर देखा भन्ने किसिमका प्रतिसोधात्मक बिचार राखेर हामीले कसैलाई अझ त्यो काम गर्न उत्तेजित र मजबुर गरिरह्यौ भने त्यसको जिम्बेबार हामी पनि कुनै न कुनै रूपमा हुन्छौं नै | त्यसको असर सामाजिक अर्थात राष्ट्रिय जीवनमा कहिल्यै राम्रो हुँदैन | हामीले बरू सत्रु नै होस्- उसले भनेका राम्रा कुराहरूको स्मरण गराउनु राम्रो हुनेछ | व्यक्ति, समाज र कुनै पनि देशको भलाई यसमै छ | माओबादीले बोकेका धेरै अतिबादी मुद्दा उनीहरूको अन्तर्मनको आवाज होइन | उनीहरूले जे गरे गल्ति गरे तर त्यसैको पछि लागेर कुद्नेहरूले झन् कदापि सहि गरिरहेका छैनन् |

कम्तिमा यो बेला जनताले माओबादिले उठाएका कृतिम मुद्दालाई बिर्सिदिन जरुरी छ | यो खिचडी पकाउन तिर नलागी अब सबै मान्छेलाई मान्छेकै तहमा हेरेर समतामुलक विधिको शासनमा अघि बढ्न सबै जातजाती, भाषाभाषी, र धर्मालम्बीहरू एकजुट भएर अघिबढ्नु आवस्यक छ | हैन भने कसैले उचालेका भरमा उचालिनु र थेचार्दा थेचारिनुको नियति भोगेर हाम्रो पुस्तौं पुस्ता रगतको इतिहामा बित्नेछ | हामी सबै आ-आफ्नै गर्बका इतिहास लेख्ने मुर्खतामा आफ्नो कलमको निप आफ्नै मुटुमा धसिरहेका हुनेछौ | कुनै अमरसिंह अर्थात् भक्ति थापाका बीरताहरू कामलाग्ने छैनन् | मान्छे जस्तो बिबेकशील प्राणी जात, धर्म, लिङ्ग, भाषा, आदिमा बखेडा झिकेर टोकाटोक गर्ने र यसो गर्न उक्साउनेहरूलाई संसारको कुनाकुनाले युग-प्रतियुग थुकिरहने छ | र यदि कुनै पनि राज्यले आफ्नै मुलुकका नागरिकमा यस्ता कुरालाई आधार बनाएर विभेद गर्छ भने त्यो देशको ईज्यत कहिल्यै उचो हुने छैन, भलै त्यो देशको शिर सगरमाथा नै किन नहोस् |

यो पुङ्ग न पाङ्गको बिबादबाट देश बाहिर निस्कियोस् र अरू आवास्याक बिषयमा अघि बढोस् |

हार्दिक शुभकामना !
Aug 01, 2015 9:40am

अधुरो कथा ....

कहिले कहीं मलाई म साह्रै हतारमा छु जस्तो लाग्छ | जस्तो हतार फिल्म हलमा पस्नेको छ, निस्कनेको छ | ट्रेनमा उक्लनेको छ, ओर्लनेको छ | यत्तिकै बसिरहँदा पनि हत्तार हतार भएजस्तो भएर आउँछ | मानौ मैले कहीं बेलैमा पुग्नु छ | बेलाबेला म हतार हतार कहीं गइरहेको जस्तो महसुस गर्छु | मानौ बाँच्नु एक धावामा सामेल हुनु हो | मलाई यो जिन्दगी बाट निस्किएर कतै जान पाए हुन्थ्यो जस्तो लाग्छ | यो धपेटी बाट बिश्रान्ती लिन पाए हुन्थ्यो जस्तो लाग्छ |

हे ! कहिले कहीं तँलाई पनि यस्तो हुन्छ ?
ओ ! ओ ! सरी | मैले तँलाई यस्तो प्रश्न सोध्नु हुने थिएन | यो प्रश्नको उत्तर दिनको निम्ति तँ अझै प्रशस्त पाको भएको छैनस् | आइ एम सो सरी !

- म उसको आँखामा खेद प्रकट भएको भाव देखिरहेको थिएँ | मैले केही भन्न नभ्याई फेरी उस्ले अलिकति सम्हालिन्दै भन्यो - मलाइ किन हो आजभोलि यस्तो फिलिंग हुने गर्छ | र मलाइ थाहा छ, यस्तो फिलिंग हुनु राम्रो होइन | मलाइ लाग्छ मेरो दिमागमा धेरै कुराहरू छन् | तर चाहेर पनि म यीं कुराहरूबाट मुक्त हुन सक्दिन | किनकि म हुँ नै त्यस्तै प्रकारको मान्छे |

यति भनेर बैंकमा जम्मा गर्ने पैसा भेला पारिसकेपछि हावाको झोक्का जस्तो भएर अब्बास ढोकाबाट बाहिर निस्कियो | मलाई हिजो मात्र उस्ले भनेका धेरै कुराहरूले घेरिरहे |

ऊ भन्थ्यो - धेरै मान्छेहरू मेरो ईर्ष्या गर्छन् | बिशेष गरेर सोनिया र मेरो सम्बन्धको | सोनिया निक्कै उच्च घरान कि पढाइमा निक्कै राम्रो क्षमता भएकी निक्कै सुन्दर केटी थिई | ऊ एम.बि.बि. एस गर्नको निम्ति १९७० को दशकमा अमेरिका आएकी थिई | म पनि संयोगले त्यहीं समय अमेरिकाको भूमिमा पाइला टेक्न आइपुगेको थिएँ | त्यो समय इरानको अबस्था अहिलेको जस्तो थिएन | संसारका धेरै मुलुकमा जानको लागि इरानी नागरिकलाई पासपोर्टको जरूरत नै पर्दैनथ्यो । उसबेला अमेरिका आउनु इरानीहरूको निम्ति कुनै ठूलो कुरा थिएन ।

संयोगले सोनिया र मेरो भेट यही भयो र हामीले एक अर्कालाई मन पनि परायौं | सोनियाको बुबाआमासँग मैले उसको हात मागेको भए मलाई कहिल्यै पनि उनीहरूले स्विकार्ने थिएनन् । तर त्यसो हुन पाएन, सोनिया र मैले आफ्नो निर्णय गरिसकेका थियौं । अहिले पनि मलाई एउटा कुरामा भने पछुतो नै लाग्छ । मैले सोनियालाई डाक्टर हुनबाट नरोकेको भए हुनेरहेछ ! मेरो हठका सामु सोनियाले पढाई कुर्वान गरिदिई र मेरो इच्छामा सामेल भएर आई । यसरी सुरू भयो हाम्रो प्रेम कहानी । तँलाइ थाह छँदैछ हामी उतातिरका लोग्नेमान्छेलाई स्वास्नीमान्छे आफ्नो अन्डरमा भइदिए भने मात्र हामी आफ्नो पौरुषत्व ढाडे भएको महसूस गर्न थाल्छौ । हामी बेटर फिल गर्छौं ।
-
-
-
अब्बासको जीबनी आफैमा एक रोचक उपन्यास जस्तो छ । तर म जस्तो अल्छि यो दुनियाँमा कमै मान्छे होलान् ।
AUGUST 19

लेख

हिन्दुराज्य भनेर कुर्लनेहरू अनेक अनेक अनुहारका छन् | मलाइ लाग्छ एकदिन तिनीहरू आफूले बोकेको नारा सम्झेर लज्जित हुनेछन | बुद्द नेपालमा जन्मिएका भए पनि चीन, जपान, थाइलैंड जस्ता मुलुकहरूमा मान्छे बुद्दलाई नै मान्छन, किन ? अब नेपालका कथित क्रान्तिकारीहरूले बुद्द एक सामन्त राजपुत्र थिए तिनीको त्यत्रो चर्चा गरिनु आवास्यक छैन भनेर भाषण ठोकेको आधारमा ती सबै मुलुकले यो बुद्द दर्शन त खराब पो रहेछ भनेर ट्रकका ट्रक त्यो बिचार र दर्शन नेपाल पठाएर आफ्नो मुलुक सफा गर्लान् त ? हिन्दु दर्शनमा के छ? किन यो उपयोगी छ ? मान्छेको सोच, बिचार र जीवनशैलीमा यसको महत्वको चर्चा परिचर्चा हुन जरूरी छ | यसलाई सर्वसाधारणले ग्रहण गर्न सक्ने किसिमले ब्याख्या हुनु जरूरी छ | यो महत्वपूर्ण छ भनेर मात्र हुँदैन, त्यसको महत्व बुझाउनु पनि सक्नुपर्छ | यस भित्र हुँदै आएका गलत व्याख्याको बिरुद्द अभियान नै ल्याउन जरूरी छ | आफूलाई सुधारेर उभिन सक्नु पर्छ पहिले | हिन्दु राज्य नभने पनि त्यो त्यतिकै हिन्दु राज्य नै भैसकेको हुन्छ | संबिधानमा लेख्नु जरूरी छैन | जस्तो म छोरो मान्छे हुँ या छोरी मान्छे भनेर निधारमा लेखिरहनु आवास्यक छैन | जबर्जस्ति किन र केका लागि ? जबर्जस्ति कम्जोरहरूले अपनाउने हतियार हो | जबर्जस्त- मसँग बिहे गर | जबर्जस्त - मलाइ यति चन्दा दे | जबर्जस्त - मेरो यो भारी बोकी दे | जबर्जस्ति कतिसम्म टिक्छ ? तिमीलाई आफ्नो बिचार ठीक छ जस्तो लाग्छ भने अरूको बिचारसँग त्यसलाई लगेर सम्बाद गराऊ | आफूलाई प्रमाणित गर | यो धर्म र ऊ धर्ममा बहुमतका कुरा नगर | धर्ममा बहुमत छ भन्ने घमण्ड छ भने एकै छिन् कुनै अल्पमतको कोखबाट जन्मिएको परिकल्पना गरि हेर | जस्तो जन्मँदै कसैले धर्म रोजेर जन्मने होइन | धर्म जो भनिन्छ - यो एक जीवन दर्शन, यति प्रतिशत र उति प्रतिशतको हुँदैन |

क्रिस्चियनहरूले धर्मको नाममा प्रलोभन देखाएर गरिब र अशिक्षित मान्छेलाई धर्म परिवर्तन गराए भन्ने जानिसके पछिको लडाईं गरिबी र अशिक्षा बिरुद्दको हुनुपर्थ्यो | अन्धविश्वास र कुरीति प्रतिको हुनु पर्थ्यो | धार्मिक स्वतन्त्रता भएको मुलुकमा भोको पेट देखिसके पछि मौकाको फाइदा लिन जानेका उनीहरूले रोटी देखाएर धर्मको ब्यापार त गर्ने नै भए नि ! तिनीहरूको बर्मसो खानुपर्ने बाध्यता आउनु पूर्व नै हामीले भोको पेटको निम्ति प्रबन्ध मिलाउन सक्नु पर्थ्यो र पर्छ | छोराछोरी भतुवा भए भनेर न त छोरा छोरीलाई गाली गर्दा समस्या हल हुन्छ, न त भात दिनेलाई नै | संबिधानमा 'हिन्दु अधिराज्य' भनेर पाँच अक्षर लेख्दैमा न त हिन्दुधर्मको सुरक्षा हुन्छ, न त क्रिश्चियन हुने परिपाटीको नै अन्त्य हुन्छ | फेरि क्रिश्चियन हिन्दु मात्र भएको छैन, किरात, बुद्द सबै भएको छ | समस्या हिन्दुको मात्र होइन सबै सनातन नेपाली धर्म र संस्कृतिको हो | सबैको साझा समस्या गरिबी हो, अशिक्षा हो, समस्या अज्ञानता हो | खासमा यस्ता कुराको बिरोद्द लडेर मात्र हिन्दु वा कुनै पनि नेपाली धर्म र संस्कृतिको संरक्षण सम्भव छ | कुरा बुझौं, बुझाउँ | नत्र हिन्दु अधिराज्य भनेर बोल्ड अक्षर मै लेखेपनि धर्म परिवर्तनको गति निरन्तर कायमै रहि रहने छ |

भुलक्कड हामी


सर्वसाधारण नेपाली जनताहरूको स्मरण शक्ति कमजोर छ भनेको हो कि क्या हो ? नेताहरूले चुनावमा के प्रतिबद्धता गरेका थिए त्यो त चाँडै विर्सन्छौ नै, हुँदा हुँदा चार महिना पुरानो समाचारलाई कुनै पत्रिकाले फेरि नयाँ शिर्शक दिएर पोष्ट गर्यो भने पुरै कहिल्यै नपढेको, नयाँ, नौलो जस्तो गरेर पढिरहेका र फेरि त्यहि कुरो सेयर गरिरहेका हुन्छौं ।

एउटै समाचार दश चोटी विकिरहेको हुन्छ । कसरी एउटै विचार पटक पटक नौलो लागिरहन्छ हामीलाई ? दुई चोटी पढेको कुरा पनि किन फेरि अस्ति पढेको हो के जस्तो भएर आउँछ ? पुरानै कुरा पनि कत्ति चाँडै नयाँ, नौलो भइसकेका हुन्छ ?

हाम्रो यो कमज़ोरी बुझेकाहरू हाम्रै घर भित्रका हामीले भुलेका कुराहरू हामीलाई नै बेचिरहेका हुन्छन् । हाम्रै विचाराहरू उनिहरूले आफ्नो वनाएर हामीलाई पढाइरहेका हुन्छन् । हामी भने यो त मलाई पनि यस्तै लाग्थ्यो भनेर आफ्नै कुरा फेरि सिकिरहेका हुन्छौं । भुलक्कड हामी ।

‎तपाईंको उचाई कति हो‬ ?


साढे पाँच फुटले एकदिन मेरो सामु आएर ऊ साढे छ फुट भएको बतायो |
उसबेला मेरो समस्या बढी भन्दा बढी बस्तुबादी हुन खोज्नु थियो |
मैले भने - झुठो हो, तिमी साढे पाँच फुट जस्तो मात्र देखिन्छौ | यसपछि ऊ मबाट रिसाएर गयो | फेरि कहिल्यै सम्पर्कमा आएन | मलाई त्यसै नरमाइलो लागिरह्यो |
यस्ता कयौ घटना घटे मेरो जीवनमा |
**
एक दिन देवकोटाको कविताले मलाई आकर्षित गर्यो | मैले पनि काँडालाई फूल र फूललाई काँडा, ढुंगालाई ईश्वर र ईश्वरलाई ढुंगा, यस्ता अनेक कुरा देख्ने प्रयास गरें | २+२=५ पनि हुनसक्छ, ४ पनि हुन सक्छ भनेर बिश्वास गर्न खोजें | दृश्य भन्दा परतिर गएर जीवनलाई बुझ्न खोजें | यसो गर्दा मलाई आफू झन्झन् भ्रममा, झन्झन् कठीनतिर प्रवेश गरिरहेको जस्तो लागिरह्यो | झन् हराए जस्तो भएँ म | तर एक प्रकारको आनन्द भने आइरहे जस्तो पनि लागिरह्यो |
**
समय न हो । एकदिन कताबाट फेरि साढे पाँच फुट मेरो सामु आइपुग्यो | उसले आफ्नो गलाको आइडि कार्ड देखाउँदै भन्यो - अब त म साढे छ फुटको हुँ भन्नेमा बिश्वास लाग्छ ? यसो हेरेको त्यहाँ उसको उचाई साढे छ फुट नै लेखेको थियो |
मैले भने - किन नलाग्नु ? खासमा तपाईं साढे सात फुटको हुनुपर्ने हो | त्यो बेला मैले मजाक गर्न खोजेको थिएँ । तपाईं यसै मसँग रिसाएर हिंडीहाल्नु भयो । तपाईंको जस्तो उचाई भएकोले साढे सात फुट नै लेखे पनि सबले बिश्वास गर्छन् | र त्यो हो पनि | नत्र एकचोटी आफ्नो उचाई आफै नापेर हेर्नुहोस् त | मलाई त लाग्छ - कसैले तपाईंको उचाइको अझै अवमुल्यन गरिरहेको छ |
ऊ कन्फुज भयो | ऊ जे सोचेर मलाई भेट्न आएको थियो, त्यो भन्दा फरक पाएको थियो उसले मलाई | ऊ एकछिन अल्मलियो र त्यहाँबाट हठात् बाहिरियो |
**
एक दिन म कुन सही र कुन गलत बाटो हो भन्ने बुझ्न नसकेर यसै कफीसपमा घोत्लिरहेको थिएँ | ऊ एक्कासि मेरो छेऊमा आयो र भन्यो - तपाईंले मेरो आँखा खोलिदिनु भयो | मेरो वास्तविक उचाइ साढे पाँच फुट नै रहेछ | यी हेर्नुहोस् त मैले मेरो परिचय पत्रमा पनि सुधारेर साढे पाँच नै बनाए | मलाई माफ गर्नुहोला |
उसले थप्यो - तर तपाईं कसरी बदलिनु भयो ? तपाईंले ठीक गर्नु भएन | तपाईं पहिलाको जस्तै हुनुहोस् | प्लिज, मलाई एकचोटी तँ साढे पाँच फुटको होस् भनिदिनुहोस् |
**
म भने झन् छक्क परिरहेको थिएँ | अझै पनि कुन ठीक/ कुन गलत छुट्याउन सकिरहेको थिइन |
उसले अन्तिम प्रश्न गर्यो - तपाईंको उचाई ?
-मेरो आफ्नै उचाइ चाहि "साढे पाँच फुट" हो | तर कहिले कहिं म छ फुट, सात फुट, आठ फुट, दश फुटको पनि देखिन्छु |
मतलब ?
मतलब म कहिले अरुको ढाडमा टेकेर उभिएको हुन्छु, कहिले काँधमा, कहिले टाउकामा | अरुले दिएको उचाइ घटाइन भने र त्यसलाई आफ्नै उचाई सम्झें भने हिसाब फरक निस्कन्छ । परबाट देख्दा धेरै मान्छेहरू भ्रममा हुन्छन् | म केमा टेकेर उभिएको छु त्यो थाहा पाउन्दैनन् र मलाई दश फुटको भनिदिन्छन् र म दश फुटको मूल्यमा बजारमा बिकिरहेको हुन्छु | म खिस्स हाँसें |

उसको निधारमा चिट चिट पसिना निस्किरहेको थियो |
मैले उसलाई आँखिरी प्रश्न गरें -तपाईंको उचाई साढे छ फुट देखिएको बेला तपाईं केमा टेकेर उभिनु भएको थियो ? के तपाईं सम्झन सक्नुहुन्छ ?
...............त्यसपछि ऊ आफ्नो गाउँलाई सम्झिएर भक्कानिंदै धेरैबेर रोइरह्यो | आमाबुबा, साथीभाइ, गुरुहरू धेरै धेरैको नाम लिएर उसले सुँक्कसुँक्क गरिरह्यो |

‪‎कृष्णप्रसाद‬


सुरुमा लगातार तीन छोराको बिहे भइन्जेल कृष्णप्रशाद चुक्क बोलेनन् | सकेसम्म कुटुम्बबाट दाइजो कुम्ल्याए |
अन्तत: छोरीहरू पनि हुर्के | बिहे गर्ने बेला भयो | त्यसपछि उनी एकाएक बदलिए | जुनसुकै गफलाई पनि मोडेर अघि नै बिहे र दाइजो प्रथामा जोडेर त्यसको बिरोध गरिसकेका हुन्थे | दाइजोको बिरोद्मा नयाँ नयाँ कथा सिर्जना गरेर मान्छेलाई सुनाइ रहेका हुन्थे | केटाकेटीको मन मिल्नु ठूलो कुरा हो | हामीले दाइजोको पछि कुदनु हुँदैन | दाइजोको कुरा गर्ने मान्छे पशु हो | आदि आदि |
साँचै भन्नु पर्दा पछिल्लो समयमा गाउँलेको सोचाईमा कृष्णप्रशादले ठूलो परिवर्तन ल्याईसकेका थिए | उनमा त्यो खुबी पनि थियो | उमेरले पाको बन्दै गए पनि कृष्णप्रशाद गाउँमा सबै भन्दा प्रगतिवादी र क्रान्तिकारी जस्ता लाग्थे | सबैले भन्थे - कृष्णप्रसाद आधुनिक सोचको मान्छे हो |

- कुरो के भने-
हाम्रो गाउँ समाजमा, देशमा, कृष्णप्रसाद जस्ता मान्छे कयौं छन् | जसलाई के खराब हो र के असल हो भन्ने समयमै थाहा छ र त्यो अरुलाई बुझाउन सक्ने क्षमता पनि तिनीहरूमा छ, तर ती आफ्नो स्वार्थमा भइन्जेल त्यो नराम्रै भए पनि चुपचाप हुन्छन | थाहा नभए झैं गर्छन | र फेरि आफ्नो स्वार्थ पुरा भएपछि तिनै कुरालाई उठाएर गतिलो देखिन खोज्छन | हामीले बिद्द्वान र असल ठानेका कयौं नेताहरू यहीं चरित्र भएका कारण सामान्य र अत्याबस्यक परिवर्तनको लागि पनि हामीले बर्षौं कुर्नु परेको हो कि ?

के सहनशीलता नारीको बिशेष चरित्र नै हो त ?


नारी ममताकि खानी होलिन्
तर नारी धर्ति पनि होइनन्/आकाश पनि होइनन् |
नारी सहनशीलता भन्ने कुरा पुरानो कुरा हो | यस्ता शब्दजालमा फँसाएर नारीलाई जुनसुकै पीडा पनि सोच्नै नसक्ने हदसम्मको बनाउने सपना अबका मान्छेले त्यागेको राम्रो ! स्वयम् नारीहरूले नै यस्तो सोच्न छोडेको राम्रो | कुनै उपाए नहुनुको पीडा मात्र सहँदै आएकी हो नारीले अहिलेसम्म | यो उसको बाध्यता हो, चरित्र होइन |

पुरुषहरू पनि यस्तो स्थिति हुनु हो भने शहनशील नहुनुको बिकल्प हुँदैन | द्वन्दकालमा बिनाकारण जति कुटे पनि चुपचाप सहेर हिंडेका पुरुषहरू मैले देखेको छु | इस्लामिक स्टेटहरूमा गर्धन थापिरहेका प्रशस्त पुरुषहरू देखेको छु | ईतिहाँसमा संसारको कुनाकुनामा सिक्री लगाएर बेच्न राखेका पुरुषहरू देखेको छु | आफ्नै श्रीमतीसँग मालिक सुतेको देख्दा पनि थाहा नपाए जस्तो गरेर अर्कै पट्टि फर्केर हिड्ने कमाराहरू पुरुष नै त थिए | बा-आमाको निम्ति बिहे गरेको हो मैले भन्ने शहनशील लघुपुरुषहरू त झन् कति देखेको छु कति |

सहनशील हुनुपरेको हो नारीले, बनाइएको हो | कम्तिमा नारीले आफैलाई नारी सहनशील हुन्छे नभन्नु होला, यहाँ हरेक पुरुष त्यो सुन्न आत्तुर छ |

-नारी फगत एक नारी हो | एक सामान्या मानिस हो ऊ | पूर्ण स्वतन्त्रताको हकमा परिस्थिति अनुसार ऊ जस्ती पनि हुन्छे | दुखेको कुरो दुख्यो नभनी बस्ने कुनै अलौकिक मानव जाति होइन नारी |

# कुनै नारीले त यति लेख्ने आँट गर्नु नि | पुरुषले पढाएका हरफहरू उपहार जस्तो ठानेर शेयर गरेर हैरान | कति साह्रो डराएका गाँठे ! परिवर्तन चाहनेले बोल्नु पनि पर्यो नि ? सबै पुरुषहरू तर्सेर भाग्छन भनेर हो कि के हो ? # grin emoticon

Friday, January 22, 2016

साहित्य समाजको दर्पण हो

'साहित्य समाजको दर्पण हो' - यो परिभाषा धेरैलाई मन पर्दापर्दै पनि यो परिभाषाले व्यक्त गर्न खोजेको कुराले कतिपय सर्जकलाई सोच्न बाध्य बनाउँछ ।
यस परिभाषाले साहित्यमा अर्ति,उपदेश र आदेशलाई स्वीकार्दैन ।
जस्तो हामीले दर्पण हेरिरहँदा दर्पणले तेरो अनुहारको कालो धो, कमाल काट् या दाँत चम्का कहिल्यै भन्दैन । आँखिभौ मिला पनि भन्दैन ।
कालो या सेतो, लामो या छोटो त्यो देखाइदिने काम मात्र गर्छ । बाँकि निर्णय हामीले अर्थात् पाठकले गर्ने हो ।

मनको आरोप



एकदिन कहाँकहाँ पुगेर ठोकियो मन र घाइते भएर फर्कियो ।
यस्तै हुन्छ, धेर बरालिनु राम्रो होइन, आराम गर भनेर थुम्थुम्याए पछि मुसुक्क हाँस्यो र भन्यो - त्यो त मलाई पनि थाहा छ । तर मेरो स्वभावै यस्तो छ कि म एकै ठाऊँ कहिल्यै बस्नै सक्दिन । एकै ठाऊँ गुम्सिएर बस्नु मेरो स्वभाव विरूद्दको कुरा हो । बरू यी यसरी रक्ताम्य भएर फर्किंदा मलाई अफ़सोस लाग्दैन । तर अचेल अलि बढी नै बरालिंदै छु । मलाई माफ़ गर्नुहोला । म सकेसम्म अलि बढी नियन्त्रित हुन कोसिस गर्नेछु ।

त्यसको एकै छिनपछि फेरि कहाँ कहाँ पुगेर मुस्कुराउन थाल्यो मन । धेरै बेर उतै हरायो । फर्किंदा पनि त्यो मेरो ओठमाथि नाच्दै नाच्दै फर्कियो । त्यो म अनुभव गर्न सक्थें । एक प्रकारको आनन्द आइरहेको थियो ।
मैले कहाँ गएको थिइस् पनि भनिन । र यस पटक मैले उस्लाई धेरै बरालिनु हुँदैन पनि भनिन । आराम गर पनि भनिन ।

मैले चुपचाप थाहा नपाए झै गरेको देखेर उस्ले भन्यो - यस पटक त केही भन्नु भएन त ? तपाई पनि स्वार्थी नै त हुनुहुँदो रहेछ नि !