Saturday, November 28, 2009

बाँकी जिन्दगी प्रति

ए मेरो बाँकी जिन्दगी !
ए मैले बाँच्नको लागि सुरक्षित मेरो समय !
आज
तँ किन चुपचाप छस् मसँग ?
भन् यो मेरो जन्म दिनमा
के के शुभकामनाहरू छन् तँसंग ?

म तेरै निम्ति भनेर
कति कति सम्झौताहरू बोकेर
हार्दिकताका साथ
तेरो सामु उभिएको छु
ए मेरो बाँकि जिन्दगी !
म तँसम्म आई पुगेको छु |

तँ किन बोल्दैनस मसँग ?
मेरो जन्म दिनमा
किन शुभकामनाहरू छैनन् तँसँग ?

तैंले जति रिसाए पनि
जीउनु त तैंले मसँग नै पर्छ
तँ भन्नु नै बाँकी म होस्
म भन्नु नै बाँकी तँ होस्
रिस गर्नु राम्रो कुरा होइन
यतासुन यो जन्मदिनमा
मिलेर सँग सँगै केक काटौं
घृणा गरेर कसले जित्छ र !
एक अर्कामा प्रेम साटौं |

Read more...

Wednesday, November 18, 2009

समय र अर्थ

समय,
मैले बाँचेर छोडेको
तेरो बगरमाथि
पटक पटक मर्दै बौरीए जस्ता
यीं विचारका पार्थिब शरीरहरू
यीं आस्थाका पार्थिब शरीरहरू
यीं विश्वासका पार्थिब शरीरहरू
तेरो सत्यको दुनियाँमा
भ्रमका मुर्कुट्टा भएर
भुते राँको बोकेर हिंडेका छन् |

अचेल,
सँधै एउटा
बायोटेक्नोलजीको बिद्यार्थी
निरुत्तर भएर
मेरो सामु उभिन्छ
र सुनाउँछ केवल
पाठ्यपुस्तक पढेर कण्ठस्थ
प्रस्नहरू...
भन्न त उसले भन्छ -
यीं उत्तरहरू हुन् उसका
निकट आउँदो परीक्षाका लागि !

मेरो परीक्षामा सँधै असफल ऊ
सुन्छु हरेक सेमिस्टारमा
'ए' ग्रेड ल्याएको छ |

समय मैले बाँचिरहेको
तेरो बगरमाथि
यो कक्रिँदो चीसोमा पनि हाँसिरहेका
यीं निशब्द पत्थरहरू
मलाई असिमित अर्थ दिइरहेछन् |

Read more...

Monday, November 2, 2009

तिमी त आकाश भइसक्यौ !

प्रिय,
अचेल म-
हमेसा अनुभूत गरिरहेछु
एउटा नीलो आकाश
एउटा शान्त आकाश
कहिले फिक्का हुन नजान्ने
एउटा गाढा गाढा बस्तु
फगत नीलो रङ्गका थाक थाक दृश्यहरू !

प्रिय,
त्यो आकाश
मन भन्दा परको आकाश
अनुमान भन्दा टाढाको आकाश
हेर्दा हेर्दै आँखाहरू नै गायब भए झैं लाग्ने
एउटा बिशाल भीमकाय आकाश !

तै पनि हेरिरहेछु निरन्तर
विश्वास गरेर भ्रमित चेतहरूमा
तर पोखिएकै छ त्यो बिम्ब अक्सर
माथि माथि क्षितिज भएर ...
घोप्टिएर हरदम आँखाहरूमा !!

प्रिय ,
तिमी त आकाश भइसक्यौ !

भन
कुन शिखरहरू फैलाएर
तिम्रो रेखांकन गरूँ
कुन क्षितिजहरू फैलाएर
तिम्रो सीमांकन गरूँ
कुन पहाडहरू उठाएर
भन -
कुन पहाडहरू उठाएर
तिमीलाई सिमाबद्द गरूँ
नितान्त निजी आफ्नै भूगोल भित्र !

कहिले घाम नलागेको
कहिले जून नपुगेको
फगत झरी बर्षातमा रुझेको
धर्तीको यो बाँझो गरामा
भूगोलको यो कालो क्यानभासमा
मलाई थाहा छ प्रिय,
तिमी निली टासिन सक्तिनौ !

उफ् !
तर यो बित्थाको रहर भइरहन्छ ..
भन, किन भइरहन्छ......

कि
जिन्दगीभर हेरेर बसिरहूँ
यो नीलो रङ्ग
जिन्दगीभर छोएर बसिरहूँ
यो नीलो रङ्ग
जिन्दगी भर खेलाएर बसिरहूँ
यो नीलो रङ्ग !

साँच्चि प्रिय ,
तिमी त आकाश भइसक्यौ !

Read more...

Tuesday, October 20, 2009

मैले बाँचिरहेको यो धर्तीमा


मैले बाँचिरहेको यो धर्तीमा
अचेल किन मान्छेहरू
जाल बुन्न ब्यस्त छन्
र किन चुपचाप छन् मकुराहरू
मान्छेहरूको बिरुद्दमा !

यो समय
मैले जाल बुन्न जानिन भने
परिवारले मलाई घर निकाला गर्ने छ
राष्ट्रले मलाई देश निकाला गर्नेछ
म विश्वका जुन जुन कुनामा पुगूँ
धर्तीले मलाई उपेक्षाले हेर्नेछ !

तर मलाई त आमा
जाल बुन्न पटक्क मन छैन |

कैले कहीं त लाग्छ -
एउटा नयाँ धर्ती
एउटा नयाँ सूर्य
एउटा छुट्टै ब्रह्माण्डले
मलाई न्यानो काखमा सुताउला
र प्यारले स्पर्श गर्ला
मेरा प्रतिक्रिया बिहीन
निशब्द ओठहरूमा
मधुरो चुम्बन गर्ला
मलाई हातमा समातेर उठाउला

मेरा पैतालाहरूका संघारमा
एउटा सुन्दर बाटो छोडिदेला !


तर यो के सम्भब छ आमा ?

Read more...

Monday, October 5, 2009

तीन मुक्तक

मन परेन

मलाई बज्यै त्यसरी सती गएको मन परेन
मलाई बाजे त्यसरी पति भएको मन परेन
हुन त परम्परामा सबैका कमजोरी हुन्छन नै
तर हाम्रोमा यसरी अति भएको मन परेन |

सुन्छु

अझै पनि देशको हालत खराब छ भन्ने सुन्छु
हो कि हैन कुन्नि सतिको सराप छ भन्ने सुन्छु
हुन त सँधै नयाँ नेपालको कुरा हुँदैछ भन्छन्
तर अहिले सम्मको रोडम्याप धराप छ भन्ने सुन्छु |


बिचार गरेर सुन्नु

यहाँ जसले जे पनि भन्छ कुरा बिचार गरेर सुन्नु
साउती मार्ने झन् खराब हुन्छ पुरा बिचार गरेर सुन्नु
यो ठाउँमा पुरुषमात्र बस्छन, महिला आउन निषेध छ
हरेक रात कसरी बज्छ चुरा बिचार गरेर सुन्नु !!

Read more...

Thursday, September 17, 2009

एउटा बिरानो मुलुक

म कबितामा यीं सबै कुराहरू लेख्न सक्ने सामर्थ्य राख्दिन त्यसैले बिना शृंखला आज एउटा लामो गध्यमा अवरोह गर्दैछु | धेरै कुराहरू मनमा चित्त नबुझेजस्ता भएर बसेका छन् र लेखूँ लेखूँ भएर आएको छ एका एक मनभित्र |

मानब सभ्यता निरन्तर एउटा सम्मान जनक सह-अस्तित्वको खोजमा छ | उत्तरआधुनिक यस युगमा बहुलवादी चिन्तन ,सोच, एवम् धारणाबाट अभिप्रेरित हुँदै गएर मान्छेले अनेकता भित्र एकताको खोज गरिरहेको छ | पछिल्लो समयमा संचारको क्षेत्रमा भएको तिब्र प्रगतिले विश्वलाई एक सानो डबली जस्तो बनाउँदै लान खोजिरहेको छ | विश्व ध्रुबिकरणको प्रक्रियाले संसारका हरेक मुलुक र त्यहाँका हरेक बासिन्दा, जाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज र परम्परा आदिलाई एकसाथ समेटेर सम्बादमा उभ्याउँदै लगिरहिको छ | संसारका कुनै पनि मुलुकका मान्छेका पीडाहरूले एउटा सम्बेन्दनशील विश्वको कुनै पनि मान्छेको हृदयमा छुन्छ नै र मानब सभ्यताको कुनै पनि उपलब्धिले मनमा नजानिँदो हर्ष कुनै न कुनै रूपमा प्रकट हुन्छ नै | तर अर्काको टाउकामा टेकेर माथि पुग्ने हामीहरू, अर्कालाई हमेशा कमसल प्रमाणित गरेर आफू असल बन्न खोज्ने हामीहरू, निरन्तर म्युजिकल चेयर प्रतियोगिताको आयोजना र बिजेता घोषणामा हराई रहेका हामीहरू, हमेशा षडयन्त्रका नयाँ सूत्रको निमार्णमा तल्लिन छौं यसैलाई हामीले राजनीति बुझेका छौं ,हाम्रो विद्वता सम्झेका छौं |

विश्वको कुनै पनि धर्मले कसैलाई काट, मार, समातेर जिउंदै जलाइदेऊ, घरमा बम पड्काई देऊ, स्कूल जाँदैगरेको बच्चालाई अपहरण गरिदेऊ र मारिदेऊ अर्थात् तीनको हातमा बन्दुक थमाईदेऊ, लोग्नेलाई समातेर पाता कस र स्वास्नीलाई तिनकै सामु बलात्कार गरिदेऊ, मदिरा पेऊ, चरेस तान, मत्त भएर लडिरहू, चोर, खोस, डकैती गर, अपशब्द बोल, ग्याँस च्याम्बरहरूको निर्माण गर, लडाकु प्लेनहरू तयारीमा राख, नया सुरुंग युद्दको तयारी गर, लड, सबलाई मार, दुख देऊ या आफूपनि मर भनेर कहीं पनि भनेको रहेनछ | तर हामीलाई राजनीतिले जसरी हुन्छ सत्ता कब्जा गर र शक्ति हातमा लेऊ भनेर सिकाएको हुनाले बीच बीचमा हामी मानब इतिहासमा रक्ताम्य भइरह्यौं | मानवीय वैयक्तिक कमजोरीका हिंसात्मक भावहरूको सक्रियतामा, संस्कारको रुप धारण गर्दै गएका परम्परागत हिंसाहरूको प्रोत्साहनमा र सत्ता प्राप्तिको तिब्र महत्वाकांक्षी अहम्मा हामीले पटक पटक हिंसालाई निरन्तरता दिंदै आइरह्यौं | तर जति सुकै हिंसा गरे पनि कुतर्क गरेर मनोगत सन्तुष्टि लिने र दुनियालाई भ्रममा राख्न खोज्ने हाम्रा आफैले नबुझ्ने दर्शनहरू र आदर्शहरुले हामीलाई पत्थर बनाउँदै लगेको हामी आफैलाई कहिले थाहा हुने हो कुन्नि !

धर्ती एउटा सिंगो घर हो, मानवता सबभन्दा ठूलो धर्म हो, यहाँका सबै मान्छेहरू एक हौँ भन्ने बिशाल भावना के सुनेर मज्जा लिने एउटा आदर्श मात्र हो त ? कुनै एक देशको भौगोलिक सीमास्तम्भ भित्र पनि जातीयताका नाममा, भाषाका नाममा, धर्म संस्कृतिका नाममा, दलित र गैर दलितका नाममा, रंग या वर्णका नाममा, आदिबासी र भर्खरबासीका नाममा दोश्रो भौगोलिक कित्ता बाँडफाँड गरेर स्वत्तताको स्वप्निल मज्जा लिने दैनिकी हाम्रो देशमा चलिरहेको छ | भड़काऊ अतिबादी खराब राजनीति गर्नेहरूले अस्तित्व र पुनरुत्थानको नाममा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने उदेश्यले उब्जाएको एउटा कलङ्क शिवाय यो केही पनि होइन | कसैसंग पनि यस्तो किसिमको सुनौलो भविष्य भएको भोलिको नेपालको सुन्दर नक्सा छैन र यो सम्भब छ जस्तो पनि लाग्दैन | यो संकुचित अबधारणाको बिजारोपण, कलहको सुरूवात, बदमास राजनीति गर्नेहरूको भाषणको चर्को आवाज मात्र हो | आभाव भए पछि तनाब उत्पन्न हुन्छ भन्छन | दिन दिन गरीब बन्दै गइरहेको देशमा राजनीति गर्नेहरूका लागि प्रसस्त कुराहरू छन् जो सपनाको रूपमा सोझा जनातालाई चोक चोकमा भेला गरेर सित्तैमा प्रशस्त बाँड्न सकियोस | र जनताहरू फेरी एकचोटी सपनाको खोजमा निस्किऊन र मरून | के यहीं एउटा विकल्प मात्रा बाँचिरहन्छ हामीसंग जहिले ?

पछिल्लो समयमा निक्कै चर्चामा उठेको विषय भाषा पनि हो | भाषा विचार अभिव्यक्तिको माध्यम मात्र हैन विचार विनिमयको साधन पनि हो | भाषाको आवास्यकता र जन्म पनि यहीं प्रक्रियाले नै भएको हो | भाषाभित्र कुनै पनि जाति वा समुहको इतिहाँस पनि छिपेर बसेको हुन्छ | उसको संस्कृति, स्वभाव, परम्परा, रीतिरिवाज, वेशभूषा, आदिपनि भाषाभित्र लुकेर बसेका हुन्छन | यसर्थ भाषा कुनै समूह वा जातिको पहिचान पनि हो | समूह समूह वा जाति जातिको अर्को एउटा संगठनात्मक सिङ्गो भूभाग स्वतन्त्ररूपमा देश भएर रहेको हुन्छ भने कुनै पनि जाति वा भाषा त्यो देशको पनि पहिचान हो | त्यसको सही सम्मान र बिकास कुनै पनि सचेत र अशल राष्ट्रबाट हुन्छ र त्यो हुनु पनि पर्छ | तर पछिल्लो समयमा भाषिक उत्थान र पुनरुत्थानका नाममा देखापरेका बेस्वादका नौटंकीहरूले यो भाषाको महत्वलाई बढाउने होइन बरू भाषिक विविधताको गर्विलो परम्पराप्रति पनि नकारात्मक सोच उब्जाउन खोजेको छ | भाषा केही हो बाट राजनीति सुरू गरेर भाषा केही होइन भन्ने मनोविज्ञान जनतामा भर्न खोजिरहेछन भाषामा राजनीति गर्नेहरू ! भाषिक स्वतन्त्रताको चर्को रूपले उदण्डतातिर पाईला राख्दै छ | भनिन्छ कुनै पनि स्वतन्त्रताले जब उदण्डताको रुप लिंदै जान्छ त्यो स्वतन्त्रताले कि त आफ्नो हुँदै भएको स्वतन्त्रता पनि गुमाउँछ कि त उदण्डताको नमीठो छाप बोकेर नै बाँचीरहन्छ | जसको प्रभाव अन्तत असल रहँदैन जो सम्झन लायक भएर रहिरहोस |

संसद भन्ने ठाउँ राष्ट्रिय समस्याका अनेक बिषयमा बहस गर्ने ठाउँ हो | भोलिको हरेक सुनौलो भविष्यको लागि कानुन र नीति निर्माण गर्ने ठाउँ हो | यहाँ विचार विनिमयको अत्यन्तै ठुलो हात रहन्छ | तर वर्तमानमा झैं हरेक सभासदले आफ्नो भाषा मात्र बोलेर विचार राख्ने हो भने यो विसङ्गतिले भरिएको नाट्यशाला बढ्ता र संसद भवन कम होला | यो अन्तराष्ट्रिय स्तर मै एउटा नपुंसक बहसालय होला | एउटा सभासदले संसदमा उसको मातृभाषा बोल्दैमा त्यो भाषाको उत्थान भै हाल्छ जस्तो मलाई चाहीं लाग्दैन, जरूर उसको राजनीतिक उत्थान चाहीं होला किनकि हामीकहाँ यस्ता कुराहरू बढी बिक्रि हुने चलन छ | उसले त सबैले बुझ्ने भाषामा आफ्ना समयस्या राखेर कानुन पो बनाउन सहयोग गर्नु पर्थ्यो त, ता कि जुन कानुनले ऊ लगायत तमाम पिछडिएका भाषा, जातजाति , संस्कृतिको उठान होस् र देशको पहिचान माथि उठोस |

जुन देशमा प्रशासनिक निकायको हरेक क्षेत्रमा पटक पटक राजनीतिक भागबण्डा भैरहन्छ , जहाँ तस्करहरूले राजनीतिक सहमतिका आधारमा मुक्त्त भएर आफ्नो धन्दा गरिरहन्छन, जहाँ हर प्रकारका गिरोहहरू निर्ढुक्क भएर बस्तितिर चहारी रहन्छन | जुन देशमा कानुन कम र फोहोरी राजनीति बढी लागु हुन्छ , जुन देशका जनतालाई आफ्नो अधिकारको लागि हिँसा नै नगरी हुँदैन भनेर सिकाइएको छ र जनताहरूले पनि त्यहीं मात्र राम्ररी बुझ्दै आएका छन् ,जहाँ छिन भर मै सत्य असत्य र असत्य सत्य हुन्छ ,त्यो देश ,मेरो देश जहाँ निहत्था जनताको आँसु निरन्तर बागमती भएर बगेको छ र विष्णुमतिको पानि जस्तो हमेशा ह्वास्स दुर्गन्ध बोकेर फैलिरहेको छ लाशमा उन्मत्त राजनीति ! किन किन आफ्नो देश आफैलाई ऐठन भैरहन्छ अचेल | कुनै दन्त्य कथाको एउटा बिरानो मुलुक लागिरहन्छ अचेल !

Read more...

Tuesday, September 15, 2009

सूनको बाँसुरी

कृष्ण अष्टमीको बेला लेखेको भए पनि समय परिस्थितिको कारण आज मात्र प्रकाशन गर्दैछु

कृष्ण,
मैले सुनेको
तिम्रो बाँसुरीको धून
सारै मीठो थियो रे !

तिमीले बाँसुरी फुकिहँरदा
गाईहरू घाँस चर्न बिर्सन्थे रे !
चराहरू चिरबिर गर्न बिर्सन्थे रे !
गोपिनीहरू गाउँमा कम
र जंगलमा बढ्ता हुन्थे रे !
जब फुकिरहन्थ्यौ तिमि बाँसुरी
पशु पशु हुँदैन थ्यो रे !
मान्छे मान्छे हुँदैन थ्यो रे !
सबै बग्थे रे !
बगिरहन्थे रे !
तिम्रो धूनको प्रबाह समातेर !
नदी जस्तो निरन्तर भएर !

साँची कृष्ण,
मैले सुनेको
तिमि त प्रेमको बाँसुरी फुक्थ्यौ रे !
तिमि त प्रेमको बाँसुरी फुक्थ्यौ रे !
कृष्ण,
तिमि त प्रेमको बाँसुरी फुक्थ्यौ रे !

युगौं भैसक्यो
तै पनि ..
तिमी भनेपछि हुरुक्क
यीं बस्तीका सारा महिलाहरू
भेंटे-
आज एका बिहानै
तिम्रो मन्दिर गइरहेको
र सोधें -
साँची कृष्ण केको बाँसुरी फुक्थे हँ ?
तिनीहरू एकै स्वरमा भन्दै थिए -
कि कृष्ण सूनको बाँसुरी फुक्थे !
कि कृष्ण सूनको बाँसुरी फुक्थे !
कि कृष्ण सूनको बाँसुरी फुक्थे !

यीं सूनको बाँसुरी सुन्नेहरूलाई
यीं सूनको बाँसुरी सुन्ने बानी परेकाहरूलाई
यीं सूनको बाँसुरीमा लठ्ठ भइरहनेहरूलाई
मलाई जवाफ फर्काउनै आएन
कि कृष्ण,
तिमी प्रेमको बाँसुरी फुक्थ्यौ !

साँची कृष्ण,
तिमी त प्रेमको बाँसुरी फुक्थ्यौ नि हैन ?
कि तिमी पनि
तिमी भनेपछि हुरुक्क -
यीं महिलाहरूले भनेको
एउटा सूनको बाँसुरी फुक्थ्यौ कृष्ण !

Read more...

Tuesday, September 8, 2009

दुई जिन्दगी

न्यानो मन !
न्यानो भेट !
न्यानो स्पर्श !
न्याना न्याना सम्झौताहरू !
खुल्ला आकाश र सुकिला दिनहरू !
अनन्त अनन्त फैलिएका
सुनौला सुनौला भविष्यहरू !
कहिले दिग्दारीले नभरिएका
झन् झन् सुन्दर यात्राहरू !
लाग्छ, जिन्दगी -
अन्त्यको कल्पनै नहुने
एउटा सुरुवातमा छ
हमेशा सुरुवातमा छ |

चिसो मन !
चिसो भेट !
चिसो स्पर्श !
चिसा चिसा सम्झौताहरू !
तुषाराले छपक्क ढाकेका भविष्यहरू !
ठिहीले कक्रक्क पारेका पाइतालाहरू !
अनेक बक्रमा फन्को मारेका यात्राहरू !
लाग्छ, जिन्दगी -
अकमक्क उभिएको छ
वा भासिंदै गइरहेको छ
निरन्तर त्यहींबाट |

Read more...

Thursday, August 6, 2009

यो मान्छेहरूको सपना हो

यो मान्छेहरूको सपना हो
मान्छे यसलाई
मनभरी जतन गरेर पाल्छ, हुर्काउँछ
सबभन्दा लायकको,ठूलो बनाउँछ
र यसलाई हेरेर
हाँस्छ,हाँसिरहन्छ
यो अनौठो शक्ति केन्द्र हो मान्छेको
र यसैले गरेर कतिपटक
मान्छे बाँच्छ,बाँचिरहन्छ |

कहिले कहीं सपना
हेर्दा हेर्दै रङ्ग बिरङ्ग भएर फाट्छ
र हराउँछ नि शब्द दृश्यबाट
बिना सूचना, आँखाबाट
संधै हिंडेर आउँदो भैसकेका
आफ्नै जीवनका बाटाबाट |

तैपनि भरोसा ठानेर मान्छे
कयौं सपनाहरूको खेती गरिरहन्छ
मान्छे सपनाहरूमा बाँच्छ
बाँचिरहन्छ |

तर मान्छेहरूलाई थाहा नै त छैन
कि यो मान्छेहरूको सपना हो
तर मान्छेहरूलाई थाहा हुनु पनि त भएन
कि यो मान्छेहरूको सपना हो ||

Read more...

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP