Saturday, November 28, 2009
Wednesday, November 18, 2009
समय र अर्थ
Monday, November 2, 2009
तिमी त आकाश भइसक्यौ !
प्रिय,
अचेल म-
हमेसा अनुभूत गरिरहेछु
एउटा नीलो आकाश
एउटा शान्त आकाश
कहिले फिक्का हुन नजान्ने
एउटा गाढा गाढा बस्तु
फगत नीलो रङ्गका थाक थाक दृश्यहरू !
प्रिय,
त्यो आकाश
मन भन्दा परको आकाश
अनुमान भन्दा टाढाको आकाश
हेर्दा हेर्दै आँखाहरू नै गायब भए झैं लाग्ने
एउटा बिशाल भीमकाय आकाश !
तै पनि हेरिरहेछु निरन्तर
विश्वास गरेर भ्रमित चेतहरूमा
तर पोखिएकै छ त्यो बिम्ब अक्सर
माथि माथि क्षितिज भएर ...
घोप्टिएर हरदम आँखाहरूमा !!
प्रिय ,
तिमी त आकाश भइसक्यौ !
भन
कुन शिखरहरू फैलाएर
तिम्रो रेखांकन गरूँ
कुन क्षितिजहरू फैलाएर
तिम्रो सीमांकन गरूँ
कुन पहाडहरू उठाएर
भन -
कुन पहाडहरू उठाएर
तिमीलाई सिमाबद्द गरूँ
नितान्त निजी आफ्नै भूगोल भित्र !
कहिले घाम नलागेको
कहिले जून नपुगेको
फगत झरी बर्षातमा रुझेको
धर्तीको यो बाँझो गरामा
भूगोलको यो कालो क्यानभासमा
मलाई थाहा छ प्रिय,
तिमी निली टासिन सक्तिनौ !
उफ् !
तर यो बित्थाको रहर भइरहन्छ ..
भन, किन भइरहन्छ......
यो नीलो रङ्ग
जिन्दगीभर छोएर बसिरहूँ
यो नीलो रङ्ग
जिन्दगी भर खेलाएर बसिरहूँ
यो नीलो रङ्ग !
साँच्चि प्रिय ,
तिमी त आकाश भइसक्यौ !
Tuesday, October 20, 2009
मैले बाँचिरहेको यो धर्तीमा
जाल बुन्न ब्यस्त छन्
र किन चुपचाप छन् मकुराहरू
मान्छेहरूको बिरुद्दमा !
यो समय
मैले जाल बुन्न जानिन भने
परिवारले मलाई घर निकाला गर्ने छ
राष्ट्रले मलाई देश निकाला गर्नेछ
म विश्वका जुन जुन कुनामा पुगूँ
धर्तीले मलाई उपेक्षाले हेर्नेछ !
तर मलाई त आमा
जाल बुन्न पटक्क मन छैन |
कैले कहीं त लाग्छ -
एउटा नयाँ धर्ती
एउटा नयाँ सूर्य
एउटा छुट्टै ब्रह्माण्डले
मलाई न्यानो काखमा सुताउला
र प्यारले स्पर्श गर्ला
मेरा प्रतिक्रिया बिहीन
निशब्द ओठहरूमा
मधुरो चुम्बन गर्ला
मलाई हातमा समातेर उठाउला
र
मेरा पैतालाहरूका संघारमा
एउटा सुन्दर बाटो छोडिदेला !
Monday, October 5, 2009
तीन मुक्तक
मन परेन
मलाई बज्यै त्यसरी सती गएको मन परेन
मलाई बाजे त्यसरी पति भएको मन परेन
हुन त परम्परामा सबैका कमजोरी हुन्छन नै
तर हाम्रोमा यसरी अति भएको मन परेन |
सुन्छु
अझै पनि देशको हालत खराब छ भन्ने सुन्छु
हो कि हैन कुन्नि सतिको सराप छ भन्ने सुन्छु
हुन त सँधै नयाँ नेपालको कुरा हुँदैछ भन्छन्
तर अहिले सम्मको रोडम्याप धराप छ भन्ने सुन्छु |
यहाँ जसले जे पनि भन्छ कुरा बिचार गरेर सुन्नु
साउती मार्ने झन् खराब हुन्छ पुरा बिचार गरेर सुन्नु
यो ठाउँमा पुरुषमात्र बस्छन, महिला आउन निषेध छ
हरेक रात कसरी बज्छ चुरा बिचार गरेर सुन्नु !! Read more...
Thursday, September 17, 2009
एउटा बिरानो मुलुक
Tuesday, September 15, 2009
सूनको बाँसुरी
कृष्ण अष्टमीको बेला लेखेको भए पनि समय परिस्थितिको कारण आज मात्र प्रकाशन गर्दैछु
मैले सुनेको
तिम्रो बाँसुरीको धून
सारै मीठो थियो रे !
तिमीले बाँसुरी फुकिहँरदा
गाईहरू घाँस चर्न बिर्सन्थे रे !
चराहरू चिरबिर गर्न बिर्सन्थे रे !
गोपिनीहरू गाउँमा कम
र जंगलमा बढ्ता हुन्थे रे !
जब फुकिरहन्थ्यौ तिमि बाँसुरी
पशु पशु हुँदैन थ्यो रे !
मान्छे मान्छे हुँदैन थ्यो रे !
सबै बग्थे रे !
बगिरहन्थे रे !
तिम्रो धूनको प्रबाह समातेर !
नदी जस्तो निरन्तर भएर !
साँची कृष्ण,
मैले सुनेको
तिमि त प्रेमको बाँसुरी फुक्थ्यौ रे !
तिमि त प्रेमको बाँसुरी फुक्थ्यौ रे !
कृष्ण,
तिमि त प्रेमको बाँसुरी फुक्थ्यौ रे !
युगौं भैसक्यो
तै पनि ..
तिमी भनेपछि हुरुक्क
यीं बस्तीका सारा महिलाहरू
भेंटे-
आज एका बिहानै
तिम्रो मन्दिर गइरहेको
र सोधें -
साँची कृष्ण केको बाँसुरी फुक्थे हँ ?
तिनीहरू एकै स्वरमा भन्दै थिए -
कि कृष्ण सूनको बाँसुरी फुक्थे !
कि कृष्ण सूनको बाँसुरी फुक्थे !
कि कृष्ण सूनको बाँसुरी फुक्थे !
यीं सूनको बाँसुरी सुन्नेहरूलाई
यीं सूनको बाँसुरी सुन्ने बानी परेकाहरूलाई
यीं सूनको बाँसुरीमा लठ्ठ भइरहनेहरूलाई
मलाई जवाफ फर्काउनै आएन
कि कृष्ण,
तिमी प्रेमको बाँसुरी फुक्थ्यौ !
साँची कृष्ण,
तिमी त प्रेमको बाँसुरी फुक्थ्यौ नि हैन ?
कि तिमी पनि
तिमी भनेपछि हुरुक्क -
यीं महिलाहरूले भनेको
एउटा सूनको बाँसुरी फुक्थ्यौ कृष्ण !
Tuesday, September 8, 2009
दुई जिन्दगी
न्यानो मन !
न्यानो भेट !
न्यानो स्पर्श !
न्याना न्याना सम्झौताहरू !
खुल्ला आकाश र सुकिला दिनहरू !
अनन्त अनन्त फैलिएका
सुनौला सुनौला भविष्यहरू !
कहिले दिग्दारीले नभरिएका
झन् झन् सुन्दर यात्राहरू !
लाग्छ, जिन्दगी -
अन्त्यको कल्पनै नहुने
एउटा सुरुवातमा छ
हमेशा सुरुवातमा छ |
चिसो मन !
चिसो भेट !
चिसो स्पर्श !
चिसा चिसा सम्झौताहरू !
तुषाराले छपक्क ढाकेका भविष्यहरू !
ठिहीले कक्रक्क पारेका पाइतालाहरू !
अनेक बक्रमा फन्को मारेका यात्राहरू !
लाग्छ, जिन्दगी -
अकमक्क उभिएको छ
वा भासिंदै गइरहेको छ
निरन्तर त्यहींबाट |
Thursday, August 6, 2009
यो मान्छेहरूको सपना हो
यो मान्छेहरूको सपना हो
मान्छे यसलाई
मनभरी जतन गरेर पाल्छ, हुर्काउँछ
सबभन्दा लायकको,ठूलो बनाउँछ
र यसलाई हेरेर
हाँस्छ,हाँसिरहन्छ
यो अनौठो शक्ति केन्द्र हो मान्छेको
र यसैले गरेर कतिपटक
मान्छे बाँच्छ,बाँचिरहन्छ |
कहिले कहीं सपना
हेर्दा हेर्दै रङ्ग बिरङ्ग भएर फाट्छ
र हराउँछ नि शब्द दृश्यबाट
बिना सूचना, आँखाबाट
संधै हिंडेर आउँदो भैसकेका
आफ्नै जीवनका बाटाबाट |
तैपनि भरोसा ठानेर मान्छे
कयौं सपनाहरूको खेती गरिरहन्छ
मान्छे सपनाहरूमा बाँच्छ
बाँचिरहन्छ |
तर मान्छेहरूलाई थाहा नै त छैन
कि यो मान्छेहरूको सपना हो
तर मान्छेहरूलाई थाहा हुनु पनि त भएन
कि यो मान्छेहरूको सपना हो ||