Tuesday, November 15, 2011

पान्डोराको बाकस

पान्डोराको कथा ग्रिकको मनपर्ने कथा मध्येमा पर्छ | ऊनिहरूले कसरी विभिन्न समस्या,दु:ख,झन्झट,तनाब र आसा पृथ्वीमा आयो भन्ने कुरा यो कथाले बताउँछ भन्ने ठाने | साथ साथै उनीहरूले पान्डोराबाट पनि एउटा पाठ सिके |
पान्डोरा एउटी सुन्दर केटी थिई | ईश्वरहरूका राजा जुपिटरले उनलाई एपिमिथियस कहाँ पठाए | एपिमिथियस प्रमिथसको भाइ थियो | जुपिटारले प्रमिथसलाई स्वर्गबाट आगो चोरेर पृथ्वीमा मान्छेलाई दिएकोमा दण्डित गरेका थिए | अब जुपिटरको योजना अरु मान्छेलाई पनि सजाय दिनु थियो | के उनीहरूले प्रमिथसको उपहार लिएका थिएनन् त ?

प्रमिथसले जुपिटरलाई बिश्वास गरेनन् | उनले आफ्नो भाइ एपिमिथियसलाई जुपिटारसँग होसियार हुन र त्यो केटीलाई बिश्वास नगर्न चेतावनी दिएका थिए | तर प्राय: एपिमिथियस एक्लै रहने गर्थ्यो र उसले यो कुरालाई सुन्दै सुनेन |
पहिलो पटक पन्डोराले एपिमिथियसको घरमा एउटा ठूलो बाकस देखी | उसले पहिलो चोटी नै एपिमिथियसलाई त्यो बाकसमा के छ भनेर सोधी |
उसले जवाफ दियो -"मेरी प्रिय पान्डोरा", "त्यो गोप्य कुरा हो | यस बिषयमा मलाई केही नसोध | यो बाकस कसैले मलाई यहाँ सुरक्षित राखिदिन भनेर छोडेको हो | मलाई यसभित्र के छ भन्ने कुरा थाहा छैन | "
पान्डोराले सोधी - तर यो कसले तिमीलाई दियो त ?
"त्यो पनि गोप्यो कुरा हो"- एपिमिथियस भन्यो |
"मलाई गोप्य मन पर्दैन "- पान्डोराले भनी | यो पुरानो बकास यहाँ न भैदिएको भए पनि हुने !
उसले भन्यो - पान्डोरा यता आऊ | यस बिषयमा नसोच प्रिय ! म तिमी बेखुसी भएको देख्न चाहँदिन |
तर पान्डोराले त्यो अनौठो बाकसलाई भुल्न सकिन | हरेक दिन उसले त्यो बकासलाई सम्झेकै हुन्थी |
-कहाँबाट त्यो बाकस आयो ? यसभित्र के हुन सक्छ ? उसले यो भनिनै रही |
" सँधै बाकसकै मात्र कुरा !" अन्तमा: एपिमिथियसले भन्यो | कहिले कहीं त अरुनै कुरा गर्ने प्रयास गरेको भए पनि त हुन्थो ! हिंड कतै डुल्न जाऊँ |
म कतै पनि डुल्न जान्न | यो बाकसमा के छ तिमीले मलाई भन्नै पर्छ | पान्डोराले जिद्दी गरी |
मैले तिमीलाई पचास चोटी भनि सकें कि यो बाकसमा के छ भन्ने मलाई थाहा छैन | मलाई नै थाहा छैन भने म तिमीलाई कसरी भन्न सक्छु ? ऊ केही रिसाएको थियो |
उसो भए ठिक छ तर कम्तिमा यो कसरी यहाँ आयो भन्ने कुरा त भन्न सक्छौ नि ! पन्डोराले थपी |
ओ, ठीक छ | यो ढोकामा छोडिएको थियो | तिमी आउनु भन्दा ठीक अगाडि अनौठो कोट लागाएको, प्वांखले बनेको जास्तो देखिने टोपी लागाएको एउटा मान्छेले यो ल्याएको थियो | यो मान्छे झन्डै यस्तो देखिन्थ्यो कि मानौ; उसका पखेटा थिए |
"के उसले लौरो पनि बोकेको थियो ?" - पान्डोराले सोधी |
अँ, हो, उसले बोकेको थियो |
"मलाई यस बिषयमा भन,यो कस्तो देखिन्थ्यो ?" पान्डोराले इच्छुक भएर सोधी |
यो धेरै अनौठो देखिन्थ्यो | यो एउटा डन्डीमा दुईटा सर्प बेरिएको जस्तो देखिन्थ्यो | यो सुन्दर तरिकाले कुँदिएको थियो | सुरुमा त मलाई सर्पहरू जिउंदै छन् होला जस्तो लागेको थियो |
-ए, त्यो मान्छे को थियो भन्ने मलाई थाहा भयो | पान्डोरा अब उत्तेजित भएकी थिई | उसले भन्न थाली -"ऊ देवताहरू मध्यको एक हो | उसको नाम मर्करी हो | र ऊ त्यहीं देवता हो जसले मलाई यहाँ ल्याएको थियो | म बाजी मार्छु, त्यो बाकस मेरो लागि हो | सायद यो बाकस सुन्दर लुगाहरूले भरिएको हुनसक्छ |"
"हुनसक्छ उसो भए" - एपिमिथियसले जवाफ दियो | तर उसले मलाई त्यो बाकस नखोल्न भनेको छ | उसले नभनेसम्म त्यो बाकस खोल्ने अधिकार हामीलाई छैन | ऊ अर्को केही सब्द नै नोबोली घरबाट बाहिरिएको थियो | ऊ सडक भएर गयो | मर्करीले यो बाकस कतै अन्तै छोडेको भए पनि हुने थियो ! यो बाकस, यो बाकस, केही होइन तर बाकस...! यसको सबै भन्दा खराब पक्ष भनेको के थियो भने एपिमिथियस पनि यस बारेमा छक्क परिरहेको थियो |
एपिमिथियस गइसके पछि पान्डोरा उभिएर बाकसलाई हेरिरही |
ऊ किन मलाई सुन्दैन ? मलाई नै थाहा छैन कि किन हामी यो बाकसलाई खोल्न सक्दैनौ ? उसले भनी - मर्करीले पनि वास्ता गर्ने थिएन |

यो बाकस आफैमा धेरै सुन्दर थियो | यो गहिरो चम्किलो काठबाट बनाइएको थियो | किनारामा फूलहरू र चराहरू कुँदिएका थिए | माथि पट्टिको किनारामा सुन्दर बच्चाहरू कुँदिएका थिए | एउटा बच्चाको अनुहार वास्तविक देखिन्थ्यो | लाग्थ्यो कि, यो उनिसँग बोल्नै आटेको छ |
"नडरा पान्डोरा" बाकस खोलेर तँलाई कुनै चोट पुग्दैन | एपिमिथियस तिमी पनि नराम्रो नसोच ! पान्डोराले आफू एपिमिथियस भन्दा बिद्वान भएको ठानी |बाकस खोल र हेर, तिमीले केही सुन्दर कुराहरू पाउँछौ कि !
पन्डोरा केही नजिक गई | बाकस उचाल्न खोजी | यो धेरै गह्रौं थियो | उसले उचाल्ने नसक्ने किसिमको गह्रौं ! उसले भुईंबाट केही इन्च मात्र उचाली र यसलाई तलै खस्न दिई | उसले यसो गरिरहँदा बाकस भित्र केही सरेको आवाज सुनेको जस्तो उसलाई लग्यो |
त्यसपछि उसले सुनको डोरी देखी | बाकस ताल्चा मरेको नभएर यसलाई सुनको डोरीले वरिपरीबाट कसिएको थियो | उसले यसमा हेरी |
उसलाई यो गाँठो फुकाउन सक्छु भन्ने बिश्वास भएर आयो | कोसिस गर्दैमा के फरक पर्छ र ! यसलाई फुकाउँदैमा असर पर्छ जस्तो लाग्दैन | फेरी म यसलाई तत्कालै बाँध्न पनि त सकिहाल्छु | एपिमिथियस पनि यसको लागि मसँग रिसाउने छैन | फेरी मैले गाँठो फुकाउँदैमा बाकस खोल्नै पर्छ भन्ने पनि छैन |
उसले गाँठो छोई र बटारी | जादू जस्तो भएर यो सुनको डोरी गायब भयो | फेरी उसलाई बाकस भित्रबाट आवाज सुनिए जस्तो लग्यो | "हामीलाई बाहिर आउन देऊ, प्रिय, पान्डोरा | हामीलाई बाहिर आउन देऊ | यो के हुन सक्छ ?" पन्डोराले सोची | के बाकस भित्र केही जिउँदो कुरा छ ? ठीक छ, म पुलुक्क हेर्छु मात्र |
यहीं क्षणमा एपिमिथियस घरमा प्रेबेश गर्यो | उसले पान्डोराले बाकस खोल्नै लागेको देख्यो | उसले कराएर पान्डोरालाई रोक्न सक्थ्यो तर उसले त्यसो गरेन |
पान्डोराले बाकसको बिर्को उठाई र भित्र तिर हेरी | बाकस भित्रबाट लोभ,घृणा,नैरश्यता,ईर्ष्या,डाहा,रोग र अरू यस्ता कयौं खाले समस्या एवं दु:ख झन्झट र तनावहरू उडेर बाहिरिए | ओ, मलाई गहिरो पीडा महसुस भयो - एपिमिथियस चिच्यायो | पान्डोराले बिर्को खस्न दिई | त्यसपछि उसलाई पनि केही गहिरो पीडाको बोध भयो | एपिमिथियस र पान्डोरा दुवै अत्यन्तै दु:खी थिए | यस अघि उनीहरूले यति दु:खको अनुभव कहिले गरेका थिएनन् |
यीं सम्पूर्ण नराम्रा खराब दु:खपूर्ण कुराहरू केही क्षणमा नै झ्यालबाट बाहिर उडेर गए र तीं मान्छेहरूलाई सदा सदाका लागि दु:ख दिने गरी सारा पृथ्वीभरी फैलिए | जुपिटरको योजना सफल भएको थियो |

तर बाकसमा अझै केही कुरा थियो | पान्डोरा र एपिमिथिएस दुबैले बाकस भित्र एउटा मधुरो आवाज सुने | एउटा मीठो बोली आयो - "मलाई बाहिर आउन देऊ |" म तीं दुखहरू जस्तो होइन | तिमीलाई मेरो आवस्यकता छ | म तिमीलाई सहयोग गर्न सक्छु |
"म फेरी बिर्को उठाऊँ ?"- पान्डोराले सोधी |
"ठीक छ उठाऊ,"- एपिमिथिएसले जवाफ दियो | अब एउटा समस्या बाहिर आएर कुनै ठूलो फरक पार्दैन |
यस पटक तीं दुबैले बिर्को उठाए | त्यसपछि त्यहाँबाट बाहिर एउटा सुन्दर मायालाग्दो "आसा" नाम गरेको बस्तु उडेर बाहिरियो |
"यीं सम्पूर्ण दु:ख अर्थात् तनावहरूलाई सान्त गर्नको लागि मलाई बाकसमा राखिएको थियो," उसले उनीहरूलाई भन्यो | जबसम्म म रहन्छु, यीं सम्पूर्ण दु:ख र तनाबहरू उति धेरै खराब लाग्ने छैनन् | हामीले अघि नै धेरै राम्रो महसुस गरिसक्यौं - एपिमिथियस ले जवाफ दियो | "आसा(होप) के सँधै तिमी हामीसँग रहन्छौ ?"
"म कहिले तिमीबाट टाढा रहने छैन," असाले जवाफ दियो | कहिले कहीं तिम्रो सोचाईमा म न भएको जस्तो लागेपनि तिमीले चाहने बितिक्कै म आईपुगेको हुनेछु | म हमेसा तिम्रो साथ रहने छु |

यधपी पान्डोराले दु:ख, झन्झट एवम् विभिन्न खाले (ट्र्बल) समस्याहरूलाई पृथ्वीमा आउन दिई तर यसको साथै मान्छेहरूसँग उनीहरूलाई दुखद परिस्थितीमा सहयोग पुर्याउनको लागि "आसा" पनि सँगसंगै छ | जहाँसम्म मान्छेहरूमा आसा जीवित रहन्छ, तिनीहरू सँधै दु:खी रहन सक्दैनन् |
"As long as people have hope,they can not always be unhappy". - From Pandora's Box (Greek and Roman Myths)

Sunday, October 2, 2011

भित्र र बाहिर

म बाहिरबाट घरमा आउँदा घरमा भएका मान्छेहरू ढोका बन्द गरेर पर्दा नखोली बसेका थिए | म ढोका खोलेर भित्र पसें, घर अँध्यारो थियो | मैले कराएँ- किन अँध्यारोमा बस्नु ? लाइट बालेर बस्दा हुन्थ्यो ! झ्यालको पर्दा खोलेको भए पनि हुन्थ्यो ! सबै अचम्म मानेर मलाई हेरिरहेका थिए | सायद उनीहरुलाई लागेको थियो - यतिको मनग्य उज्यालो छ र म बित्थामा कराइरहेको छु | मैले अझ थपें- बाहिर धेरै रमाईलो छ किन घर भित्र गुम्सिएर बस्नु ? ऊनिहरू निक्कै छक्क परिरहेका थिए | त्यहीं प्रकाश प्रयाप्त थियो उनीहरूका लागि | कति त्यहीं पढिरहेका थिए | कति त्यहीं भित्र खाइरहेका थिए | उनीहरूका लागि सामान्य लागेको कुरा मेरा लागि असामान्य लागेको थियो | म बाहिरबाट भित्र एक्कासी आउँदा मलाई भित्रको प्रकाश प्रयाप्त नभएको हुन सक्छ | मैले पर्दा खोलें - झ्यालबाट प्रकाश एक्कासी हुत्तिएर घरभरी फैलियो | देखें - सबैका आँखा तिर्मिराई रहेका थिए | एकछिन पछि उनीहरूका आँखा होसमा आईरहेका थिए | अघिसम्म मलाई छक्क परेर हेर्नेहरू झ्यालबाट बाहिर अचम्म मानेर हेरिरहेका थिए |

मलाई लाग्यो- 'यो त घरको कुरा भयो | मान्छे आफै भित्र,आफ्नै दुनियाँमा आफ्नै ज्ञान र दर्शनका आफ्ना निजी घर भित्र कति कति यसरी नै छिपेर बसेका होलान् | त्यहीं ज्ञान, दर्शन र दृष्टिकोणलाई अन्तिम ठानेर त्यहीं रमाईरहेका होलान्, त्यसै भित्र |' आफूले जानेको,बुझेको,ठानेको र भोगेकोलाई नै सर्वश्व मानेर त्यहीं घेरा भित्र गुम्सिएका मान्छेको मनको पर्दा खोलिदिन सके तीं दुनियाँका अरु सयौं सुन्दर बिचारदेखि अबस्य आकर्षित भएर आफूबाट बाहिर निस्कन्थे होला !

कानमा अनौठो आवाज आयो | यसो फर्किएर हेरें | कोही ढोकाको चुकुल बिस्तारै खोल्दै थियो | देखें - केटाकेटीहरू पनि झ्यामिएर ढोकातिर बढिरहेका थिए |

Sunday, January 23, 2011

दर्शन !

मलाई थाहा थियो, सबलाई आफ्नै कुराहरू प्यारा हुन्छन् | मैले कुनै बाद,सिद्दान्त या दर्शनलाई अन्धो रूपमा समर्थन गरेर कहिल्यै ताली पड्काइन | जुलुसमा सामेल भइन, दंगामा समर्थन जनाइन | यो युगमा गान्धीबादी भएर बाँच्न सकिंदैन | बैयक्तिक स्वार्थको चरम चुलीमा चक्कर मारिरहेको भोगबादी सर्बसत्ताबादबाट स्वाचालित यस उत्तरआधुनिक विश्वमा इमान्दारिता बाजारमा पिठोको भाउमा पनि बिक्न सक्दैन भन्ने कुरा मैले कयौं पटक आफ्नै जीवन भोगाईबाट आर्जन गरेका कुराहरू मध्येमा पर्छ | तर यहीं कमजोरी हो, जो लिएर म बाँचेको छु | र यहीं कमजोरी जसले मलाई जीवनका हर क्षेत्रमा उर्जा प्रदान गरिरहन्छ | अति अहम् जीवनबादी मूल्यलाई पूजा गरेर आफ्नो छातीको चौडाई जति फैलाए पनि उतिकै मात्रामा खुम्चिंदै गएका मान्छेका साना भन्दा साना प्लास्टिकका जस्ता मुटुहरुको पनि मूल्य कहाँ नै पो उस्तो महँगो छ र ? यसै बिक्री भइरहन्छन् सानोतिनो मूल्यमा !
जीवन भोग्नु हो, आनन्द लिनु हो, अन्तिम थोपासम्म निचोरेर यसको स्वाट्ट बनाइदिनुमा जीवनको सार्थकता छ भन्ने मानसिकताबाट मात्र अभिप्रेरित भएर जीवन हुनुका अरू आधारभूत मूल्यहरूलाई नै बिर्षिनेहरू हुन् या जीवनलाई नचाहिँदो पूजा मात्र गरेर बाँच्नै बिर्षिनेहरू हुन्, सबैका आ-आफ्ना कमजोरीहरू छन् नै | 'दर्शन' तिमीलाई म प्रेम गर्छु तर म सम्पूर्ण तिमी भएर बाँच्न सक्दिन | खालि तिमीसँगै बाँच्न चाहान्छु | तिमीसँग तर्क गर्न, झगडा गर्न, सानोतिनो रिसइबी गर्न, मनमुटाब गर्न, तिमीसँग जिस्किन, ख्यालठट्टा गर्न, तिमीलाई आफ्नो बनाएर च्याप्प छातीमा टाँसिरहन, तिमीलाई जीवनको सिमान्ततासम्म यसै प्रेम गरिरहन मलाई गहिरो पागलपन भइरहन्छ, यद्यपी म कुनै दार्शनिक होइन | मलाई माफ गर दर्शन !
आँखिर मेरो सबभन्दा कठिन प्रश्नको सबभन्दा सरल उत्तर भनेको नै तिमी नै त हौ |