Sunday, January 24, 2016

लेख

हिन्दुराज्य भनेर कुर्लनेहरू अनेक अनेक अनुहारका छन् | मलाइ लाग्छ एकदिन तिनीहरू आफूले बोकेको नारा सम्झेर लज्जित हुनेछन | बुद्द नेपालमा जन्मिएका भए पनि चीन, जपान, थाइलैंड जस्ता मुलुकहरूमा मान्छे बुद्दलाई नै मान्छन, किन ? अब नेपालका कथित क्रान्तिकारीहरूले बुद्द एक सामन्त राजपुत्र थिए तिनीको त्यत्रो चर्चा गरिनु आवास्यक छैन भनेर भाषण ठोकेको आधारमा ती सबै मुलुकले यो बुद्द दर्शन त खराब पो रहेछ भनेर ट्रकका ट्रक त्यो बिचार र दर्शन नेपाल पठाएर आफ्नो मुलुक सफा गर्लान् त ? हिन्दु दर्शनमा के छ? किन यो उपयोगी छ ? मान्छेको सोच, बिचार र जीवनशैलीमा यसको महत्वको चर्चा परिचर्चा हुन जरूरी छ | यसलाई सर्वसाधारणले ग्रहण गर्न सक्ने किसिमले ब्याख्या हुनु जरूरी छ | यो महत्वपूर्ण छ भनेर मात्र हुँदैन, त्यसको महत्व बुझाउनु पनि सक्नुपर्छ | यस भित्र हुँदै आएका गलत व्याख्याको बिरुद्द अभियान नै ल्याउन जरूरी छ | आफूलाई सुधारेर उभिन सक्नु पर्छ पहिले | हिन्दु राज्य नभने पनि त्यो त्यतिकै हिन्दु राज्य नै भैसकेको हुन्छ | संबिधानमा लेख्नु जरूरी छैन | जस्तो म छोरो मान्छे हुँ या छोरी मान्छे भनेर निधारमा लेखिरहनु आवास्यक छैन | जबर्जस्ति किन र केका लागि ? जबर्जस्ति कम्जोरहरूले अपनाउने हतियार हो | जबर्जस्त- मसँग बिहे गर | जबर्जस्त - मलाइ यति चन्दा दे | जबर्जस्त - मेरो यो भारी बोकी दे | जबर्जस्ति कतिसम्म टिक्छ ? तिमीलाई आफ्नो बिचार ठीक छ जस्तो लाग्छ भने अरूको बिचारसँग त्यसलाई लगेर सम्बाद गराऊ | आफूलाई प्रमाणित गर | यो धर्म र ऊ धर्ममा बहुमतका कुरा नगर | धर्ममा बहुमत छ भन्ने घमण्ड छ भने एकै छिन् कुनै अल्पमतको कोखबाट जन्मिएको परिकल्पना गरि हेर | जस्तो जन्मँदै कसैले धर्म रोजेर जन्मने होइन | धर्म जो भनिन्छ - यो एक जीवन दर्शन, यति प्रतिशत र उति प्रतिशतको हुँदैन |

क्रिस्चियनहरूले धर्मको नाममा प्रलोभन देखाएर गरिब र अशिक्षित मान्छेलाई धर्म परिवर्तन गराए भन्ने जानिसके पछिको लडाईं गरिबी र अशिक्षा बिरुद्दको हुनुपर्थ्यो | अन्धविश्वास र कुरीति प्रतिको हुनु पर्थ्यो | धार्मिक स्वतन्त्रता भएको मुलुकमा भोको पेट देखिसके पछि मौकाको फाइदा लिन जानेका उनीहरूले रोटी देखाएर धर्मको ब्यापार त गर्ने नै भए नि ! तिनीहरूको बर्मसो खानुपर्ने बाध्यता आउनु पूर्व नै हामीले भोको पेटको निम्ति प्रबन्ध मिलाउन सक्नु पर्थ्यो र पर्छ | छोराछोरी भतुवा भए भनेर न त छोरा छोरीलाई गाली गर्दा समस्या हल हुन्छ, न त भात दिनेलाई नै | संबिधानमा 'हिन्दु अधिराज्य' भनेर पाँच अक्षर लेख्दैमा न त हिन्दुधर्मको सुरक्षा हुन्छ, न त क्रिश्चियन हुने परिपाटीको नै अन्त्य हुन्छ | फेरि क्रिश्चियन हिन्दु मात्र भएको छैन, किरात, बुद्द सबै भएको छ | समस्या हिन्दुको मात्र होइन सबै सनातन नेपाली धर्म र संस्कृतिको हो | सबैको साझा समस्या गरिबी हो, अशिक्षा हो, समस्या अज्ञानता हो | खासमा यस्ता कुराको बिरोद्द लडेर मात्र हिन्दु वा कुनै पनि नेपाली धर्म र संस्कृतिको संरक्षण सम्भव छ | कुरा बुझौं, बुझाउँ | नत्र हिन्दु अधिराज्य भनेर बोल्ड अक्षर मै लेखेपनि धर्म परिवर्तनको गति निरन्तर कायमै रहि रहने छ |

No comments: