Wednesday, September 1, 2010

व्यवहारमा यस्तो प्रसस्त पाउने गरेको छु

कहिले कहिं त लाग्छ मसँग समय मात्र हैन, मन पनि नभएकै हो | मन हुनु हो भने हप्तामा एउटा न एउटा रचना त अबस्य प्रकाशित गर्न सकिन्थ्यो | तर फेरि आफूलाई बचाएर कुरा गर्ने आत्मारक्षा प्रणालीको सिद्दान्तले एकाएक आफूतिर खिचेर लैजान्छ र भन्ने गर्छु - अचेल म धेरै त ब्यस्त पनि छु |
मेरो कुरा सबैभन्दा राम्रो छ भन्ने थाहा पाउन पनि अरुका कुरा सुन्नै पर्ने हुन्छ | फेरि यस्तो यस्तो कारणले अरू खराब छन् त्यसैले म असल छु भन्ने मनोग्रन्थीबाट अभिप्रेरित मान्छेका लागि त झन् आवास्यक कुरा नै हो यो | एकदमै साधारण चलन चल्तीका मजस्ता मान्छेका लागि पनि अरुका कुरा सुन्ने बानीले एकदमै फाइदा गर्छ | कुनै मान्छेहरूको जमातमा तपाईं कहाँ उभिनु भएको छ ? बीचमा, छेउमा, या अगाडि वा पछाडि ? यो चाल पाउन पनि अरुलाई त नियाल्नै पर्ने हुन्छ |
आत्मासम्मानको कुरा गरिरहँदा तर्कको भूमिका लाई बिर्सन सकिँदो रहेनछ | तर्कले हमेसा करणको खोज गरिरहन्छ | कुनै दौडमा तपाईं अगाडि पर्नुभयो भने त कुरै खतम ! तर पछाडि नै परिहाल्नु भएछ भने पनि तपाईंसँग आफ्नो बाचाऊ गर्ने प्रसस्त कारणहरू हुन्छन् | यस्ता कारणहरू अरूलाई मात्र सुनाउन मिल्ने गरिका या आफूले पनि सुन्न मिल्ने गरिका दुवै खालका हुन सक्छन् | अरूलाई बाँचिरहेको देखाउनका लागि गरिने तर्कहरूमा प्रथम प्रकारका कारणहरू देखा पर्छन भने आफैले पनि बाँचेको आभास हुने खालको सन्तुष्टि मिल्ने तर्कहरूमा दोश्रा खाले कारणहरू आउने गर्छन् |
"त्यसको पनि त त्यस्तै छ नि ! त्यसको पनि खासै राम्रो छैन | उसको छोराले पनि खासै राम्रो गरेको त के भन्नु र ! हामीलाई त्यस्तो अवसर हुनु हो भने हामी त्यो भन्दा राम्रो गर्थ्यौ ! के कमाएको भन्नु, त्यो उमेरमा त हामी पनि केही न केही गर्छौ होला नि ! कसरी कमाउँछ त्यसले त्यति ? त्यो गफाडिका कुरामा बिश्वास नगर्नुहोस तपाईं ! म पनि सधैं प्रथम हुन्थे स्कूलमा ! दौडमा मलाई कसैले जित्दैन थ्यो | हाम्रो बंस; कूल पराम्परा सबैभन्दा ठूलो छ | त्यसको त थरै सुनेर दिक्क लाग्छ मलाई !!" ईर्ष्या गरेको भन्नुहोस् अर्थात् अरू अरूले आफूले गरेको भन्दा राम्रो गरेको कुराले उनीहरू माथि र आफू तलको स्थिति बोध भएर आफूलाई पनि विभिन्न कारणहरू देखाएर आफू पनि कमजोर नभएको चरितार्थ साबित गर्न खोजेको भन्नुहोस्, मैले ब्यबहारमा यस्तो प्रसस्त पाउने गरेको छु |

म नारीवादी हूँ भन्ने सूचना दिनुभन्दा पहिला नै उसले पुरुषको बिरोध गरिसकेको हुन्छ | यौनको बिषयमा हामी नेपालीहरूको खराब अबधारणा छ भनेर उसले भनिसके पछि तपाईंको धारणा चाहिं के छ त भनेर सोधिरहनु मैले उचित ठानिन | ह्विस्कीको बोतल बीचमै रोकेर उसले भन्यो - यो क्राउन रोयल क्यानाडामा हुँदा धेरै खाइयो | हुन त लन्डनमा पनि धेरै साथीहरू यहीं नै पिउँथे | एकचोटी तानेर टेबलमा गिलास राखिसकेपछि अरू थप्यो - मस्कोमा पहिलाचोटी जाँदा पेरिसमा बनेको भड्का थियो, अहिले मलाई नाम सम्झना छैन, मलाई हार्ड ड्रिंक्समा त्यो अति नै मन परेको थियो | पोहोर साल न्युयोर्कमा चाहीं साथीहरूले अति नै गरे ..| न्युयोर्कतिर त के टन्न खाएर रेलमा चढे भैहाल्छ, यहाँको जस्तो ड्राइभ गर्नु पर्दैन | तर मसँग त कार पनि थियो ..आदि आदि !! यो ड्यालास फोर्ट वोर्थको एक साँझ थियो | उसले नजानिँदो पारामा मान्छेहरूलाई आफूतिर केन्द्रित गर्दै थियो | क्यानाडा, रुस, लन्डन, अस्ट्रिया, स्विजरल्याण्ड, जपान, अमेरिका र अरू अरू विश्वका सक्ति सम्पन्न धनी मुलूकहरू सबैतिर घुमेको छु भन्ने कुराको सूचना ऊ यसरी नै गफको सिलिलामा अघि घुसाई हाल्थ्यो | तर सबै मान्छे असल श्रोता हुन्छन् भन्ने छैन | यसो हुँदा भने उसलाई बेलाबेला निक्कै मुस्किल परेको देखिन्थ्यो |
बेलुका साँझ अबेर घर फर्केपछि मेरो साथीले खाना खाँदाखादै अचानक भन्यो - त्यो मान्छे त्यस्तो धेरै ठाऊँ घुमेको जस्तो त लाग्दैन है मणिजी ! ऊ यस बिषयमा अघि धेरै समयदेखि सोचिरहेको रहेछ | म एकछिन नबोले पछि उसले अरू थप्यो - जे भन्नुहोस् अली चाहीं गफ लाएकै हो | मैले साथीको आसय बुझिसकेको हुनाले अरू केही बोल्नु उचित ठानिन र केवल अलिकति हासिदिएँ | मेरो एक हाँसोमा आफूले चाहेको सारा उत्तरको अनुमान लाएर साथी मख्ख थिए | त्यो रात अबेरसम्म साथीले मच्ची मच्ची यस बिषयमा कुरा गरेको सम्झन्छु ..|
मान्छेको अरूहरू भन्दा सर्बोत्तम हुने चाहना भनुहोस् या रवाफ देखाउन खोजेको भनुहोस् , ईर्ष्या भन्नुहोस् अर्थात् आत्मा सन्तुष्टिको खोज भन्नुहोस् , मैले ब्यबहारमा यस्तो प्रसस्त पाउने गरेको छु |

No comments: