Wednesday, November 10, 2010

बिना योजनाका क्षणहरूभित्र

कुनै पनि कार्य गर्नु अघि योजना बनाउनु पर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ | तर यसरी योजना बनाउने क्रममा मैले कहिले पनि दीर्घकालीन योजना बनाएको सम्झना छैन | म अमेरिका प्रबासिएको पनि तीन बर्ष बितिसके छन् | बिना कुनै त्यस्तो महत्वपूर्ण योजना मेरा तीनबर्षहरू दैनिकीहरू मै बिते झैं लागिरहेछ | हुन त यहाँ आउनु मै पनि मेरो कुनै योजना नभएकाले यस्तो भएको हुन सक्छ | " उदेश्य के लिनु उडी छुनु चन्द्र एक " भन्ने भनाई अन्डर लाईन गरी गरी पढियो | अझै पनि धेरै राम्रो लाग्छ | तर अझसम्म जीवनमा न त उदेश्यले प्रवेश पायो न त कुनै योजना नै बनाइयो त्यसको खातिर | कहिले कहीं त आफूलाई साह्रै खेश्रा किसिमको जीवन बाँचिरहे झैँ लाग्छ |
साँच्चै भन्नु पर्दा अझसम्म कुनै खास उलेख्य योजनाले जीवनमा प्रवेश पाएन | तै पनि हरेक कुरा अझसम्म यसै हुँदै आए र तीनमा कुनै गुनासो पनि छैन | अब के गर्ने योजना छ त ? नेपाल जानुहुन्छ होला, के गर्ने योजना बनाउनु भएको छ ? जब जब यदाकदा यस्ता प्रश्न मप्रति जिज्ञासा राख्न खोज्ने शुभचिन्तकहरूबाट सुन्छु र आफूलाई उत्तर बिहीन पाउँछु, अनि मात्र आफ्नो कुनै त्यस्तो योजना नभएकोमा छट्पटी भएर आउँछ |
विश्वबिद्यालयमा अध्यान गरिरहँदा पनि मेरो भविष्यमा के बन्ने भन्ने कुरामा कुनै योजना थिएन जस्तो कि विश्वबिद्यालयको पनि कति योग्यता भएका कति बिद्यार्थी उत्पादन गर्ने भन्ने कुरामा कुनै योजना थिएन | बर्षेनी शिक्षामा करोडौको लगानी गरेर बेरोजगार जनसंख्या उत्पादन गरिरहेको मेरो विश्वबिद्यालयको एउटा बिक्न नसकेको गुणस्तरीय आलु हुनेवाला थिएँ म | हरेक बर्ष जेहन्दार छात्र भनेर पुरस्कृत गर्दै आएको मेरो विश्वबिध्यालयसंग मेरै भबिष्य सुरिक्षित छैन भन्ने कुरामा मलाई पक्का थियो | तै पनि बिजेता हुँदा भने अनौठो गर्ब हुने गर्थ्यो मनमनै | तर क्षण भरमै निरर्थकताले गाँजी हाल्थ्यो | मेरा सहपाठीहरूले मेरो सुन्दर भविष्यको परिकल्पना गरेका थिए भन्ने कुरामा कुनै संका थिएन | उनीहरूमा मप्रति भरोसा थियो तर मलाई आफूप्रति जति नै भरोसा भए पनि मेरो सुन्दर भविष्यप्रति कुनै भरोसा थिएन |
मेरो किसोर भावुक अबस्था दसबर्षे गृहयुद्दको बिभिषिकाबाट पिल्सिएको एउटा टुक्रा हो | यो द्वन्दकालले क-कसको जीवनको कुन-कुन पाटोलाई छोयो कुन्नि तर यसको प्रभाव भने कुनै न कुनै रुपमा रहँदो रहेछ |तै पनि बन्दुक बोकेर भूमिगत हुन सकिन | मैले आर्जन गरेको शिक्षामा मेरै पेटको सुरक्षा छैन भन्ने जान्दाजाँदै पनि थुप्रै पैसा बोकेर सहर पसेर प्राबिधिक शिक्षा ग्रहण गर्न पनि सकिन | किन भनेर नसोध्नु होला ८० % देसको जनसंख्याले तपाईंलाई राता आँखा पारेर हेर्न सक्छन् र त्यसको जवाफ फेरि मसँग बिल्कूल हुने छैन | बेलैमा घरजम गरेर खेतिपाती गरौ भन्ने आँट पनि आएन | जीवनलाई यथावत् छोडियो | यो बग्दै गयो ...| बिना योजना कसरी कसरी आज म यहाँ छु | र अब भने बिलकूल मैले योजना नबनाई हुँदैन भन्ने निस्कर्षमा पुगेको छु |
सुरु सुरुमा धेरै पहिले योजना बनाएको अलि अलि याद छ | योजना म भन्दा धेरै बडेमाका हुने गर्थे | "हर्रो नापाउँदो जाइफल धाउँदो " जस्ता लोकोक्ति कति सुन्न पाएयो पाएयो, त्यो समयमा | सौभाग्य भन्नु पर्छ मसँग यस्ता लोक साहित्यको राम्रो भण्डार छ | त्यतिखेरका मेरा कुराहरूलाई साँचो अर्थमा योजना नभएर सपना मात्र भन्न रुचाउछु | यसर्थ योजना कहीं पनि देख्दिन मेरो वरिपरि |

विश्वका अधिकांस मुलुकका नागरिकहरूले अमेरिकालाई "ल्याण्ड अफ अपरचुनिटि" , "ड्रिम ल्याण्ड" जस्ता पदावलीको संज्ञा दिए पनि मलाई अमेरिका ठिकैको लागेको छ | मलाई यहाँ हुनुमा कुनै गुनासो छैन न त उति ठूलो गर्व नै | यो औसत प्रबासी नेपालीहरूको धारणा हो भन्ने कुरामा दावा गर्छु | तर सबैले आफूलाई देखाएर कुरा गर्छन् भन्ने छैन र यो कुनै सफल जीवन बाँच्ने नीति अन्तर्गतको कुरा पनि होइन | साँचो अर्थमा मैले नेपालमा अमेरिकाको बारेमा सुनेका ७५% कुराहरू कुनै पनि मिलेनन्, पुस्तकमा पढेका बाहेक | सबैले अनुमानको भरमा हावादारी गफ दिंदा रहेछन् | र अमेरिकाबाट नेपाल जाने मान्छेले पनि धेरै सही सूचना लुकाएर आफूलाई प्रस्तुत गर्दा रहेछन् | र वहा ! वहा ! खाएर फिर्दा रहेछन् | यो कुरा धेरै केही समयपछि पत्ता लागेको थियो | मेरो अर्थ अमेरिकाको जीवन कठिन छ वा स्विर्कार्नै नसकिने मुस्किल छ भन्ने हैन | नेपालमा अरु कयौं बर्ष संघर्ष गर्दा पनि नपाईने जीवन पद्दति अमेरिकाको मुख्य आकर्षण हो | तर देश भनेको देश नै हो | आफ्नो मुलूक भनेको आफ्नो मुलूक नै हो | अमेरिकामा रहेका नेपालीहरूले सबैभन्दा बढी आत्मासन्तुष्टी लिने बिषय चाहीं नेपालको जटिल जनजीवनसँग यहाँको प्रबिधिमय गुणस्तरीय जीवनको तुलना नै हो | प्रबासै भए पनि कानुनी मुलूक प्रतिको भरोसा हो | हरेक व्यक्तिले आफू अपमानित भएर पनि कसैको सेवा गरिरहनु पर्ने सामन्ती अर्थतन्त्रको जटिलताबाट मुक्तिको अनुभव हो | यस्ता विभिन्न नेपालका विकर्षणका कारणले अमेरिका लोभलाग्दो बन्दै गएको छ |

देश बनाउने कुरा आफ्नो हैसियतको कुनै सीमाभित्र नपरेपछि आफू र आफ्नो परिवारको लागि थोरै समयको लागि भए पनि केही गरौ भन्ने भावनामा देश छोडेर प्रबासिनेहरूको संख्या पनि दिन प्रितिदिन बढ्दो छ | विकल्पको खोजीमा नागरिक कतातिर लाग्दै छ त्यो त थाहा छैन तर देश बनाउनै पर्दा पनि देशभित्रै बेरोजगार जनसंख्या हामीसंग कम छैन | यदि देश भन्नु भूगोल मात्र नभएर अन्यकुरा पनि हो भने विश्वको जुनसुकै कुनामा हरेक नेपाली आफू भित्र एउटा प्यारो नेपाल बोकेर ठम्ठम्ती हिंडिरहेको छ | देश भन्नु भाषा,संस्कृति, कला, साहित्य आदिकुरा पनि हो भने हरेक प्रबासी नेपालीले नेपालको आयतन विश्वको कुना कुनामा फैलाई रहेको छ | यो कुरा देशमै रहेर देशको राजनीति गर्ने बिदेसीबाट परिचालित स्वदेसी नेताहरूको दिमागमा कहिले घुस्ने हो कुन्नि ! महासय ! घाँटीमा अमेरिकाको नागरिता झुन्ड्याउनु यो रहर हो कि होइन आफै बुझ्नुहोस् तर छातीमा नेपालको सदाबाहर प्रेम छिपाएर , आफूभित्र एउटा प्यारो नेपाल बोकेर संसारको कुना कुनामा पेटको लागि भौतारिनु यो हामी प्रबासीहरूको रहर बिल्कूल हैन | हरेक नेपाली यसै भन्छ यहाँबाट |
कर्मको खोजीमा जहाँ जहाँ पुगे पनि, देश जुन गतिमा बगे पनि आफ्नो पनि नितान्त छुटै एउटा गति चाहिने रहेछ | यो अनुभव भइरहेको छ आज | म अहिले उदेश्यको खोजमा योजनाको निर्माण बारे सोचिरहेको छु... |

Wednesday, September 1, 2010

व्यवहारमा यस्तो प्रसस्त पाउने गरेको छु

कहिले कहिं त लाग्छ मसँग समय मात्र हैन, मन पनि नभएकै हो | मन हुनु हो भने हप्तामा एउटा न एउटा रचना त अबस्य प्रकाशित गर्न सकिन्थ्यो | तर फेरि आफूलाई बचाएर कुरा गर्ने आत्मारक्षा प्रणालीको सिद्दान्तले एकाएक आफूतिर खिचेर लैजान्छ र भन्ने गर्छु - अचेल म धेरै त ब्यस्त पनि छु |
मेरो कुरा सबैभन्दा राम्रो छ भन्ने थाहा पाउन पनि अरुका कुरा सुन्नै पर्ने हुन्छ | फेरि यस्तो यस्तो कारणले अरू खराब छन् त्यसैले म असल छु भन्ने मनोग्रन्थीबाट अभिप्रेरित मान्छेका लागि त झन् आवास्यक कुरा नै हो यो | एकदमै साधारण चलन चल्तीका मजस्ता मान्छेका लागि पनि अरुका कुरा सुन्ने बानीले एकदमै फाइदा गर्छ | कुनै मान्छेहरूको जमातमा तपाईं कहाँ उभिनु भएको छ ? बीचमा, छेउमा, या अगाडि वा पछाडि ? यो चाल पाउन पनि अरुलाई त नियाल्नै पर्ने हुन्छ |
आत्मासम्मानको कुरा गरिरहँदा तर्कको भूमिका लाई बिर्सन सकिँदो रहेनछ | तर्कले हमेसा करणको खोज गरिरहन्छ | कुनै दौडमा तपाईं अगाडि पर्नुभयो भने त कुरै खतम ! तर पछाडि नै परिहाल्नु भएछ भने पनि तपाईंसँग आफ्नो बाचाऊ गर्ने प्रसस्त कारणहरू हुन्छन् | यस्ता कारणहरू अरूलाई मात्र सुनाउन मिल्ने गरिका या आफूले पनि सुन्न मिल्ने गरिका दुवै खालका हुन सक्छन् | अरूलाई बाँचिरहेको देखाउनका लागि गरिने तर्कहरूमा प्रथम प्रकारका कारणहरू देखा पर्छन भने आफैले पनि बाँचेको आभास हुने खालको सन्तुष्टि मिल्ने तर्कहरूमा दोश्रा खाले कारणहरू आउने गर्छन् |
"त्यसको पनि त त्यस्तै छ नि ! त्यसको पनि खासै राम्रो छैन | उसको छोराले पनि खासै राम्रो गरेको त के भन्नु र ! हामीलाई त्यस्तो अवसर हुनु हो भने हामी त्यो भन्दा राम्रो गर्थ्यौ ! के कमाएको भन्नु, त्यो उमेरमा त हामी पनि केही न केही गर्छौ होला नि ! कसरी कमाउँछ त्यसले त्यति ? त्यो गफाडिका कुरामा बिश्वास नगर्नुहोस तपाईं ! म पनि सधैं प्रथम हुन्थे स्कूलमा ! दौडमा मलाई कसैले जित्दैन थ्यो | हाम्रो बंस; कूल पराम्परा सबैभन्दा ठूलो छ | त्यसको त थरै सुनेर दिक्क लाग्छ मलाई !!" ईर्ष्या गरेको भन्नुहोस् अर्थात् अरू अरूले आफूले गरेको भन्दा राम्रो गरेको कुराले उनीहरू माथि र आफू तलको स्थिति बोध भएर आफूलाई पनि विभिन्न कारणहरू देखाएर आफू पनि कमजोर नभएको चरितार्थ साबित गर्न खोजेको भन्नुहोस्, मैले ब्यबहारमा यस्तो प्रसस्त पाउने गरेको छु |

म नारीवादी हूँ भन्ने सूचना दिनुभन्दा पहिला नै उसले पुरुषको बिरोध गरिसकेको हुन्छ | यौनको बिषयमा हामी नेपालीहरूको खराब अबधारणा छ भनेर उसले भनिसके पछि तपाईंको धारणा चाहिं के छ त भनेर सोधिरहनु मैले उचित ठानिन | ह्विस्कीको बोतल बीचमै रोकेर उसले भन्यो - यो क्राउन रोयल क्यानाडामा हुँदा धेरै खाइयो | हुन त लन्डनमा पनि धेरै साथीहरू यहीं नै पिउँथे | एकचोटी तानेर टेबलमा गिलास राखिसकेपछि अरू थप्यो - मस्कोमा पहिलाचोटी जाँदा पेरिसमा बनेको भड्का थियो, अहिले मलाई नाम सम्झना छैन, मलाई हार्ड ड्रिंक्समा त्यो अति नै मन परेको थियो | पोहोर साल न्युयोर्कमा चाहीं साथीहरूले अति नै गरे ..| न्युयोर्कतिर त के टन्न खाएर रेलमा चढे भैहाल्छ, यहाँको जस्तो ड्राइभ गर्नु पर्दैन | तर मसँग त कार पनि थियो ..आदि आदि !! यो ड्यालास फोर्ट वोर्थको एक साँझ थियो | उसले नजानिँदो पारामा मान्छेहरूलाई आफूतिर केन्द्रित गर्दै थियो | क्यानाडा, रुस, लन्डन, अस्ट्रिया, स्विजरल्याण्ड, जपान, अमेरिका र अरू अरू विश्वका सक्ति सम्पन्न धनी मुलूकहरू सबैतिर घुमेको छु भन्ने कुराको सूचना ऊ यसरी नै गफको सिलिलामा अघि घुसाई हाल्थ्यो | तर सबै मान्छे असल श्रोता हुन्छन् भन्ने छैन | यसो हुँदा भने उसलाई बेलाबेला निक्कै मुस्किल परेको देखिन्थ्यो |
बेलुका साँझ अबेर घर फर्केपछि मेरो साथीले खाना खाँदाखादै अचानक भन्यो - त्यो मान्छे त्यस्तो धेरै ठाऊँ घुमेको जस्तो त लाग्दैन है मणिजी ! ऊ यस बिषयमा अघि धेरै समयदेखि सोचिरहेको रहेछ | म एकछिन नबोले पछि उसले अरू थप्यो - जे भन्नुहोस् अली चाहीं गफ लाएकै हो | मैले साथीको आसय बुझिसकेको हुनाले अरू केही बोल्नु उचित ठानिन र केवल अलिकति हासिदिएँ | मेरो एक हाँसोमा आफूले चाहेको सारा उत्तरको अनुमान लाएर साथी मख्ख थिए | त्यो रात अबेरसम्म साथीले मच्ची मच्ची यस बिषयमा कुरा गरेको सम्झन्छु ..|
मान्छेको अरूहरू भन्दा सर्बोत्तम हुने चाहना भनुहोस् या रवाफ देखाउन खोजेको भनुहोस् , ईर्ष्या भन्नुहोस् अर्थात् आत्मा सन्तुष्टिको खोज भन्नुहोस् , मैले ब्यबहारमा यस्तो प्रसस्त पाउने गरेको छु |

Saturday, February 13, 2010

प्रेम दिवसको सन्दर्भमा :-

प्रेमको अर्थ व्यापक हुन्छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि 'प्रेम' भन्ने बित्तिकै स्वाट्ट सबैको दिमागमा अनुभूत हुने बिषय भनेको स्त्री-पुरुषका बीचमा हुने प्रणय नै हो | यसलाई सबैभन्दा बढी शक्तिशाली प्रेमका रूपमा पनि लिन सक्नुहुन्छ तपाईं | यसो भएर पनि अरू प्रेमहरू प्रेमको विश्लेषणको क्रममा मात्र डोरिएर आएका होलान् | मुनामदन, लैनामज्नु, रोमियोजुलिएट जस्ता प्रशिद्द कृतिहरू पनि स्त्री-पुरुषकै वृत्तमा फन्को मारेको पाईन्छ | ताजमहल स्त्री-पुरुषकै प्रेमको पिण्ड हो | तपाईं सुन्दर नारी हुनुहुन्छ तर सोच्नुहोस् कि तपाईंको जीवनमा पुरुष कहीं पनि छैन | के तपाईंलाई लाग्छ कि तपाईंको जीवन साँच्चै नै सुन्दर छ ? यो प्रश्न पुरुषको हकमा पनि यसरी नै लागु हुन्छ |हरेकले यस्तो अबस्थामा आफ्नो जन्मप्रति नमीठो प्रश्न अनुभव गर्छ जीवनमा | साँच्चै नै मृत्युप्रतिको घृणा जीवनप्रतिको मोहको उपज मात्र हो | त्यसो त कतिपय बिपरित लिङ्गीहरू तपाईंको जीवनमा योजनाबद्दरूपमा बर्बादी लिएर पनि आउन सक्छन् | तर मैले यो अप्राकृतिक प्रणालीको बिषयमा कुरा गर्न चाहेको हैन | म नारी पुरुषका बीचमा हुने असली आकर्षण र प्रेमको बिषयमा केही भन्न खोजीरहेको छु, जो सम्पूर्ण प्रेममा सर्बोच्च स्थान ओगटेर बसेको हुन्छ र प्रेम भन्ने बित्तिकै हामी उसैको पहिला स्मरण गर्न पुग्छौं | प्रेम दिबसको छेऊ छाऊमा मानिसहरूले तिम्रो 'ग्रल फ्रेन्ड' छ अर्थात् तिम्रो 'ब्वाई फ्रेन्ड' छ भनेर सोधेको कारण पनि शायद यसैले होला | हुनत प्रेम बाबुछोरामा पनि हुन्छ, तर छोराको मायाको खातिर बाबुले खोलामा हामफालेको वा बाबुको मायाको खातिर छोरो पासो लागेको घटना निश्चय नै नौलो समाचार हुनजाला जस्तो कि प्रेमी प्रेमिकाको लागि यो नौलो बिषय होइन | मृत्यु कुनै पनि कुराको समाधान होइन | बाँच्नेहरूका लागि यसको असर निक्कै नै गहीरो हुन्छ | आख्यानहरूमा बगेका मृत्युका घटनाहरूले नै हामीलाई कति सिथिल बनाउँछन् कति !
कसरी बुझ्ने प्रेमलाई !
संसार भ्रमको मायाजाल रहेछ भनेर हाम्रा पुराणहरू हामीलाई सुनाउँछन् | भ्रम नै हो जस्तो लाग्छ धेरै जसो त ! तर यो भ्रम भित्र जीवनको यति मीठो आनन्दको पाटो कसरी छिपेको होला कुन्नि ! एउटा रमाइलो ड्रामा हेरे जस्तो हामी त अघि नै भुसुक्क भइसकेका हुन्छौं जिन्दगीदेखि, थाहा नपाइकनै | वाह ! प्रेम ! ...... आँखिर हो के यो ? यसको उत्तर न तपाईंसँग छ न मसँग | तर रमाईलो कुरा के छ भने प्रेम हामी दुवैसँग छ | उत्तर किन चाहियो र ?खुरु खुरु प्रेम गर्नुहोस् | तपाईं 'प्रेम आफै हुन्छ' भन्ने तर्क गर्न पल्किनु भएको छ भने यसलाई आफै हुन दिनुहोस् | नरोक्नुहोस् , नत्र तपाईं आफै रोकिनु होला | अनुशासासन सबै क्षेत्रमा लागु हुने बिषय हो र प्रेममा पनि यसलाई नभुल्नु होला |
कसैको कुरा नसुन्नुहोस् -
म भन्छु - कसैको अर्ति नसुन्नुहोस् जीवनमा प्रेमका खातिर | मेरो पनि | पुस्तक पढेर प्रेम नगर्नुहोस | फिल्म हेरेर प्रेम गर्न नसिक्नुहोस | खालि अनुभव गर्नुहोस् प्रेमलाई |अभिनयमा सबै पोख्त हुन सकिन्छ भन्ने छैन | फेरि सबै ब्याक्तिले असली प्रेममा अभिनयलाई रुचाउँछन् भन्ने पनि छैन | प्रेम हृदयदेखि गर्नुहोस् | तपाईंको प्रेम दुनियाँमा शक्तिशाली प्रेम हुनेछ |
तपाईंले भन्नुहोला - कहिले कहीं हृदयले काम गरेन भने ?
यसका विकल्पहरू चाहीं परलोक मै प्रशस्त छन् भन्ने सुन्नमा पाइएकाले म यो पोस्टलाई लम्ब्यउन चाहन्न |
तपाईं मदेखि चिडिनु भए जस्तो छ | शान्त हुनुहोस् | उत्तर आफै भित्र खोज्नुहोस | अरुका सल्लाहले सँधै आफुलाई काम दिन्छ भन्ने छैन | अनुभव गर्नुहोस् | भनिसकि गएँ नि मैले अघि नै ! कसैका कुरा नसुन्नुहोस आफ्नो निजि प्रेममा | मेरा पनि |
धराबासी भन्नुहुन्छ "हुँदै नभएकोलाई भएको मानेर त्यसलाई खोज्दा गलेको हो मान्छे|" थाक्नु भएको छ भने कुरै खतम | यसैलाई ओके गरेर आराम गर्नुहोला | नभए अझै खोजी गर्नुहोला | भेटाउनु भयो भने हामी मिलेर उहाँलाई मुखभरीको जवाफ दिनुपर्छ | तपाईंले एक्लै दिए पनि हुन्छ | हामी भनेर तपाईंको दु:खको जस मैले पनि लिन खोजेको हैन | मलाई त तपाईंको उत्तर भए पुगी गयो नि ! आँखिर प्रेम के हो ?? ?
प्रेम जे होस् मलाई मन पर्छ, तपाईंलाई जस्तै | मेरो तर्फबाट तपाईंलाई प्रेम दिबसको हार्दिक शुभकामना !!!

Friday, September 18, 2009

एउटा बिरानो मुलुक

म कबितामा यीं सबै कुराहरू लेख्न सक्ने सामर्थ्य राख्दिन त्यसैले बिना शृंखला आज एउटा लामो गध्यमा अवरोह गर्दैछु | धेरै कुराहरू मनमा चित्त नबुझेजस्ता भएर बसेका छन् र लेखूँ लेखूँ भएर आएको छ एका एक मनभित्र |

मानब सभ्यता निरन्तर एउटा सम्मान जनक सह-अस्तित्वको खोजमा छ | उत्तरआधुनिक यस युगमा बहुलवादी चिन्तन ,सोच, एवम् धारणाबाट अभिप्रेरित हुँदै गएर मान्छेले अनेकता भित्र एकताको खोज गरिरहेको छ | पछिल्लो समयमा संचारको क्षेत्रमा भएको तिब्र प्रगतिले विश्वलाई एक सानो डबली जस्तो बनाउँदै लान खोजिरहेको छ | विश्व ध्रुबिकरणको प्रक्रियाले संसारका हरेक मुलुक र त्यहाँका हरेक बासिन्दा, जाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज र परम्परा आदिलाई एकसाथ समेटेर सम्बादमा उभ्याउँदै लगिरहिको छ | संसारका कुनै पनि मुलुकका मान्छेका पीडाहरूले एउटा सम्बेन्दनशील विश्वको कुनै पनि मान्छेको हृदयमा छुन्छ नै र मानब सभ्यताको कुनै पनि उपलब्धिले मनमा नजानिँदो हर्ष कुनै न कुनै रूपमा प्रकट हुन्छ नै | तर अर्काको टाउकामा टेकेर माथि पुग्ने हामीहरू, अर्कालाई हमेशा कमसल प्रमाणित गरेर आफू असल बन्न खोज्ने हामीहरू, निरन्तर म्युजिकल चेयर प्रतियोगिताको आयोजना र बिजेता घोषणामा हराई रहेका हामीहरू, हमेशा षडयन्त्रका नयाँ सूत्रको निमार्णमा तल्लिन छौं यसैलाई हामीले राजनीति बुझेका छौं ,हाम्रो विद्वता सम्झेका छौं |

विश्वको कुनै पनि धर्मले कसैलाई काट, मार, समातेर जिउंदै जलाइदेऊ, घरमा बम पड्काई देऊ, स्कूल जाँदैगरेको बच्चालाई अपहरण गरिदेऊ र मारिदेऊ अर्थात् तीनको हातमा बन्दुक थमाईदेऊ, लोग्नेलाई समातेर पाता कस र स्वास्नीलाई तिनकै सामु बलात्कार गरिदेऊ, मदिरा पेऊ, चरेस तान, मत्त भएर लडिरहू, चोर, खोस, डकैती गर, अपशब्द बोल, ग्याँस च्याम्बरहरूको निर्माण गर, लडाकु प्लेनहरू तयारीमा राख, नया सुरुंग युद्दको तयारी गर, लड, सबलाई मार, दुख देऊ या आफूपनि मर भनेर कहीं पनि भनेको रहेनछ | तर हामीलाई राजनीतिले जसरी हुन्छ सत्ता कब्जा गर र शक्ति हातमा लेऊ भनेर सिकाएको हुनाले बीच बीचमा हामी मानब इतिहासमा रक्ताम्य भइरह्यौं | मानवीय वैयक्तिक कमजोरीका हिंसात्मक भावहरूको सक्रियतामा, संस्कारको रुप धारण गर्दै गएका परम्परागत हिंसाहरूको प्रोत्साहनमा र सत्ता प्राप्तिको तिब्र महत्वाकांक्षी अहम्मा हामीले पटक पटक हिंसालाई निरन्तरता दिंदै आइरह्यौं | तर जति सुकै हिंसा गरे पनि कुतर्क गरेर मनोगत सन्तुष्टि लिने र दुनियालाई भ्रममा राख्न खोज्ने हाम्रा आफैले नबुझ्ने दर्शनहरू र आदर्शहरुले हामीलाई पत्थर बनाउँदै लगेको हामी आफैलाई कहिले थाहा हुने हो कुन्नि !

धर्ती एउटा सिंगो घर हो, मानवता सबभन्दा ठूलो धर्म हो, यहाँका सबै मान्छेहरू एक हौँ भन्ने बिशाल भावना के सुनेर मज्जा लिने एउटा आदर्श मात्र हो त ? कुनै एक देशको भौगोलिक सीमास्तम्भ भित्र पनि जातीयताका नाममा, भाषाका नाममा, धर्म संस्कृतिका नाममा, दलित र गैर दलितका नाममा, रंग या वर्णका नाममा, आदिबासी र भर्खरबासीका नाममा दोश्रो भौगोलिक कित्ता बाँडफाँड गरेर स्वत्तताको स्वप्निल मज्जा लिने दैनिकी हाम्रो देशमा चलिरहेको छ | भड़काऊ अतिबादी खराब राजनीति गर्नेहरूले अस्तित्व र पुनरुत्थानको नाममा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने उदेश्यले उब्जाएको एउटा कलङ्क शिवाय यो केही पनि होइन | कसैसंग पनि यस्तो किसिमको सुनौलो भविष्य भएको भोलिको नेपालको सुन्दर नक्सा छैन र यो सम्भब छ जस्तो पनि लाग्दैन | यो संकुचित अबधारणाको बिजारोपण, कलहको सुरूवात, बदमास राजनीति गर्नेहरूको भाषणको चर्को आवाज मात्र हो | आभाव भए पछि तनाब उत्पन्न हुन्छ भन्छन | दिन दिन गरीब बन्दै गइरहेको देशमा राजनीति गर्नेहरूका लागि प्रसस्त कुराहरू छन् जो सपनाको रूपमा सोझा जनातालाई चोक चोकमा भेला गरेर सित्तैमा प्रशस्त बाँड्न सकियोस | र जनताहरू फेरी एकचोटी सपनाको खोजमा निस्किऊन र मरून | के यहीं एउटा विकल्प मात्रा बाँचिरहन्छ हामीसंग जहिले ?

पछिल्लो समयमा निक्कै चर्चामा उठेको विषय भाषा पनि हो | भाषा विचार अभिव्यक्तिको माध्यम मात्र हैन विचार विनिमयको साधन पनि हो | भाषाको आवास्यकता र जन्म पनि यहीं प्रक्रियाले नै भएको हो | भाषाभित्र कुनै पनि जाति वा समुहको इतिहाँस पनि छिपेर बसेको हुन्छ | उसको संस्कृति, स्वभाव, परम्परा, रीतिरिवाज, वेशभूषा, आदिपनि भाषाभित्र लुकेर बसेका हुन्छन | यसर्थ भाषा कुनै समूह वा जातिको पहिचान पनि हो | समूह समूह वा जाति जातिको अर्को एउटा संगठनात्मक सिङ्गो भूभाग स्वतन्त्ररूपमा देश भएर रहेको हुन्छ भने कुनै पनि जाति वा भाषा त्यो देशको पनि पहिचान हो | त्यसको सही सम्मान र बिकास कुनै पनि सचेत र अशल राष्ट्रबाट हुन्छ र त्यो हुनु पनि पर्छ | तर पछिल्लो समयमा भाषिक उत्थान र पुनरुत्थानका नाममा देखापरेका बेस्वादका नौटंकीहरूले यो भाषाको महत्वलाई बढाउने होइन बरू भाषिक विविधताको गर्विलो परम्पराप्रति पनि नकारात्मक सोच उब्जाउन खोजेको छ | भाषा केही हो बाट राजनीति सुरू गरेर भाषा केही होइन भन्ने मनोविज्ञान जनतामा भर्न खोजिरहेछन भाषामा राजनीति गर्नेहरू ! भाषिक स्वतन्त्रताको चर्को रूपले उदण्डतातिर पाईला राख्दै छ | भनिन्छ कुनै पनि स्वतन्त्रताले जब उदण्डताको रुप लिंदै जान्छ त्यो स्वतन्त्रताले कि त आफ्नो हुँदै भएको स्वतन्त्रता पनि गुमाउँछ कि त उदण्डताको नमीठो छाप बोकेर नै बाँचीरहन्छ | जसको प्रभाव अन्तत असल रहँदैन जो सम्झन लायक भएर रहिरहोस |

संसद भन्ने ठाउँ राष्ट्रिय समस्याका अनेक बिषयमा बहस गर्ने ठाउँ हो | भोलिको हरेक सुनौलो भविष्यको लागि कानुन र नीति निर्माण गर्ने ठाउँ हो | यहाँ विचार विनिमयको अत्यन्तै ठुलो हात रहन्छ | तर वर्तमानमा झैं हरेक सभासदले आफ्नो भाषा मात्र बोलेर विचार राख्ने हो भने यो विसङ्गतिले भरिएको नाट्यशाला बढ्ता र संसद भवन कम होला | यो अन्तराष्ट्रिय स्तर मै एउटा नपुंसक बहसालय होला | एउटा सभासदले संसदमा उसको मातृभाषा बोल्दैमा त्यो भाषाको उत्थान भै हाल्छ जस्तो मलाई चाहीं लाग्दैन, जरूर उसको राजनीतिक उत्थान चाहीं होला किनकि हामीकहाँ यस्ता कुराहरू बढी बिक्रि हुने चलन छ | उसले त सबैले बुझ्ने भाषामा आफ्ना समयस्या राखेर कानुन पो बनाउन सहयोग गर्नु पर्थ्यो त, ता कि जुन कानुनले ऊ लगायत तमाम पिछडिएका भाषा, जातजाति , संस्कृतिको उठान होस् र देशको पहिचान माथि उठोस |

जुन देशमा प्रशासनिक निकायको हरेक क्षेत्रमा पटक पटक राजनीतिक भागबण्डा भैरहन्छ , जहाँ तस्करहरूले राजनीतिक सहमतिका आधारमा मुक्त्त भएर आफ्नो धन्दा गरिरहन्छन, जहाँ हर प्रकारका गिरोहहरू निर्ढुक्क भएर बस्तितिर चहारी रहन्छन | जुन देशमा कानुन कम र फोहोरी राजनीति बढी लागु हुन्छ , जुन देशका जनतालाई आफ्नो अधिकारको लागि हिँसा नै नगरी हुँदैन भनेर सिकाइएको छ र जनताहरूले पनि त्यहीं मात्र राम्ररी बुझ्दै आएका छन् ,जहाँ छिन भर मै सत्य असत्य र असत्य सत्य हुन्छ ,त्यो देश ,मेरो देश जहाँ निहत्था जनताको आँसु निरन्तर बागमती भएर बगेको छ र विष्णुमतिको पानि जस्तो हमेशा ह्वास्स दुर्गन्ध बोकेर फैलिरहेको छ लाशमा उन्मत्त राजनीति ! किन किन आफ्नो देश आफैलाई ऐठन भैरहन्छ अचेल | कुनै दन्त्य कथाको एउटा बिरानो मुलुक लागिरहन्छ अचेल !