Sunday, August 28, 2016

SLC विशेष लघुकथा

आफ्नो छोरो c ग्रेड र एउटा कोठामा ४/५जनाको सिंगो परिवार बस्दै आएको भाडावालको छोरो A+ ग्रेडमा पास भएको सुनेपछि घर मालिकले पहिलो पटक आफ्नो घर बाहिर उभिएर आफ्नो बडेमाको घरलाई धेरैबेर नियालिरह्यो । घर भित्र पसेर छोरालाई र बुढीलाई हेर्यो । सबै कुरालाई अनौठो पाराले हेरिरह्यो र अन्तत: बाथरूममा गएर आफ्नो अनुहार हेर्यो । चिट्चिट् पसिना आइरहेको थियो ।
पल्ला कोठामा छोरालाई पढ्न डिस्ट्रिब हुन्छ भनेर बेलैमा टिभी निभाएर सुतेको सम्झ्यो । भाडावालका छोराछोरीको संगत नगर् भनेर छोरालाई हप्काएको संझियो । उसले छोरालाई पढाउन गरेका हर मेहनत संझेर ल्यायो । त्यसपछि भाडावाल ईन्द्रजीत र उसको एउटा सानो कोठा, टिभी त्यही, भान्सा कोठा त्यही, दुई-दुई वटा बेडहरू त्यही, पाहुना आउँदा खाटमुनि आफू सुतेर पाहुनालाई खाटमाथि सुताउनु पर्ने उस्को अवस्था एक एक संझियो । आफ्नो पटक पटक श्रीमतीसँग झगडा परेको तर ईन्द्रजीत र उसकी श्रीमती एक अर्कोमा कहिल्यै चर्को स्वरले बोलेकोसम्म नसुनेको एकसाथ संझियो। आफ्नो अधिकृतको जागीर र ईन्द्रजीतको सामान्य मजदुरी पेसा पनि एकै चोटी संझियो । त्यो अस्तव्यस्त सानो कोठाभित्र पढेर पनि A+ ग्रेड ल्याउने ईन्द्रजीतको छोरा सुन्दरलाललाई संझिने धेरै कोसिस गर्यो । भाडावालका छोराछोरी भनेर उस्ले उति ध्यान पनि दिएको रहेनछ !
ऊ आज ईन्द्रजीत र उस्को परिवारलाई संझेर पहिलो पल्ट भावुक मात्र भएन, भित्रैबाट श्रद्दाले भरिएर आयो । फटाफट् तल झर्यो, ईन्द्रजीतसँग पहिलो पल्ट हात मिलायो र सुन्दरलालको हातमा बधाईस्वरूप केही थमाईदियो । उस्ले निक्कैबेर सुन्दरलाललाई हेरिरह्यो । मलाई टाढाको नसंझनु, हामी एउटै घरमा बसेको धेरै भयो । ईन्द्रजीत तिर फर्केर भन्यो- मलाई दाजु जस्तै संझिए हुन्छ। 'म तिम्रो बडाबा हूँ' - सुन्दरलालको टाउको सुम्सुम्याउँदै भन्यो । त्यसपछि ऊ माथितिर गयो । ईन्द्रजीत र उनको परिवार छक्क परेर हेरिरहे ।
घर मालिक्नीले यो सबै संबाद सुनिछन् क्यारे ! ऊनी आफ्नो लोग्नेसँग चर्को चर्को स्वरमा बोलिरहेकी थिइन् । घर मालिक पनि जंगिरहेको सुनिन्थ्यो ।

असारपन्ध्र


असार पन्ध्रमा दही चिउरा खाएको याद छ तर रोपाईँ गरेको थाह छैन । हाम्रोमा रोपाईँ श्रावणबाट मात्र सुरू हुन्थ्यो । मनसुनमा आश्रित खेती न हो । प्राय: हरेक दिन अकास हेरेरै असार र साउनहरू जान्थे। पानी पर्ने आसै आसमा बाँझो खेतमा सिरू फुल्न थालिसक्थे ।
भदौका टुप्पामा माटो बुकुल्टो पारेर धान रोपेको बरू याद छ । रोप्न नपाई हरेक बर्ष ब्याडमै धान पसाएको त झन् कति याद छ कति ! राम्ररी रोपिएको पनि पछि धान पोटाएको बेला पानी नपुगी यतिकै सुकेर गएको, पराल काट्न समेत हातगोडा नलागेर गाई फुकाएर छोडिद्एको, बरू यस्ता कुराको धेर याद छ । तै पनि किन किन हरेक बर्ष धान रोप्ने रहर हुन्थ्यो | पर्खंदा-पर्खंदा समय गइसक्थ्यो | यसपाल त पानी पर्ला र धान फल्ला भन्ने आसले धेरै नै सालहरू बिते । खेत भएको र धान धेर थन्क्याउने मान्छेलाई फरक ढंगले हेरिन्थ्यो । शायद त्यहिं भएर भल छोपेर भएपनि धान रोप्ने रहर जागेको हुनसक्छ ।
आठ बर्षको थिएँ होला, पहिलो पल्ट अङ्ग्बुङ्ग ( अमरपुर) पाँचथरबाट आमाबुबासँग हिंडेर हेंवा खोलाको दोभान हुँदै पाँचथर - फिदिममा आएर गाड़ी चढेको याद छ, झापाको निम्ति । त्यतिखेर सिंहपुर घुम्तिमा पूरै गाडी चल्न थालिसक्का थिएनन् । बुबा, दाजुहरू, गाउँका सबै नुन बोक्न घरदेखि करिब १० घन्टाको बाटो फिदिम तल जोरसाल जानुहुन्थ्यो । हामी त्यही बाटो हुँदै फिदिम आएका थियौ | त्यहाँबाट झापा लागियो गाडीमा | मधेस पुगियो । जे हेर्यो त्यो नौलो । गाडि, रिक्सा,साइकल, ठेला गाडा सबै सबै नौलो ! राँगाले खेत जोतेको देखेर नै छक्क परियो |
के भएर हो कुन्नि पेट्रोलको गन्ध मन पर्थ्यो | मोटर बाइक आउने बित्तिकै सडक छेऊ पुगिन्थ्यो | आमा पछि पछि कराउँदै आइपुग्नुहुन्थ्यो | त्यो बाइकको मान्छे भुसुनो जत्रो भइन्जेल म तन्किएर उसलाई हेरिरहन्थे | डिजेलको गन्ध भने कहिल्यै मन परेन | बस र ठुला ठुला ट्रक आउने बित्तिकै म पर पर भाग्थें |
हिँउँदमा पहाडमा काम नहुनाले पहाडका मान्छेहरू आफन्त भेटघाट र घुमफिरको सिलसिलामा तराईतिर झर्थे । तराईकाहरू पहाडबाट आफन्तले ल्याउने सुन्तला, घ्यु र कालोमासको कोसेली मन पराउँथे । तर कतिपय उनीहरूलाई यी पहाडेहरू धानकोभात खान झरेका भन्ने हुँदोरहेछ ! कतिले त मुखै फोरेर भन्थे पनि । एकदिन एकजनाले खाना खाईरहेको बेला मेरो सर्ट उचालेर भुँडीको छाला तान्दै भन्नु भएको थियो - हेर यसको त मकैको भात खाएर भुडी पातलो भएछ ! मिठो लाग्यो धानको भात ? बिचरा ! हेर कत्रा कत्रा गाँस हालेर खाइरहेको छ ? म खाँदा खाँदै रोकिएँ | सबै मलाई नै हेरिरहेका थिए | वास्तबमा म धानको भात मीठो लागेर हो वा भोक लागेर त्यसरी खाइरहेको थिएँ मलाई राम्रो सम्झना छैन, तर म खाँदा खाँदै रोकिनुमा ती आमैको मुखबाट उच्चारण भएको 'बिचरा' शब्द नै थियो | मलाई त्यतिखेर त्यो शब्द पटक्क मन परेको थिएन | मैले के बुझें कुन्नि ! म खाँदा खाँदै उठेर हिंडे | त्यसपछि मलाई जिरेखुर्सानी जस्तो भट्टराई । सन्काहा केटो भनेर नामकरण गरेका थिए ।
धान नेपालको प्रमुखबाली भएर हो या सबैलाई धानको भात मीठो लागेर हो असार पन्ध्रमा धान रोपेर रमाईलो गर्ने र धानकै चिउरा खाने चलन नेपालमा छ । हुँदा हुँदा असार पन्ध्रमा कृषिमन्त्रिले पनि गमलामै सही धान नरोपी नभएको देख्दा नेपाली जनजीवनमा धानको भातको महत्व निक्कै नै रहेको प्रश्ट हुन्छ😀 । अर्को आफूले मकैको भात खाएर भए पनि पाहुनालाई धानको भात दिने चलनले पनि त्यस्को पुष्टि गर्छ । 🙂मलाई पहाडमा पाहुना लाग्दा सबै भन्दा गाह्रो कतिबेला हुन्थ्यो भने -आफ्नोथालमा धानको भात र आफूले मान्नुपर्ने देखि आफू भन्दा साना बालकहरूको थालमा मकैको च्याँख्ला हुन्थ्यो । 😥म केही भन्न सक्दिन थें । जे भने पनि कुरा अप्ठ्यारो खालको हुन्थ्यो ।
आङ्ग्बुङ्ग सुकौरो ठाउँ भएकोले आङ्ग्बुङ्गमा छोरी दिनु भन्दा तमोरमा बगाई दिन्छु भन्थे रे तमोर पारिका बस्तीहरु | जहाँ ठाडा खहरेहरूबाट बर्खामा पानीको आपुर्ती गरिन्थ्यो। यसरी उनीहरू पानीको आपूर्ति त गर्थे, तर त्यहाँ पनि प्रशस्त पानी नहुनाले कुलोमा बर्षेनी धेरैको झगडा भएर पानी बाराबारको स्थिति हुन्थ्यो |
जलश्रोतको धनि देश नेपाल ! तल फेदिमा तमोर खोला बर्षेनी गाऊँको कसै न कसैलाई बगाएर लागिरहन्थ्यो । गाऊँ सिन्चाइ हुन्थ्यो त यहीं पीडाको आँशुले हुन्थ्यो । छोटो शिर भएको गाऊँ, झुकिएर मात्र पानी पर्थ्यो । अहँ ! रोपाईं सहितको असार पन्ध्र आएको याद छैन ।
अझै पनि गाऊँ सम्पर्कमै छ । भर्खर हिजो मात्र कुरा भएथ्यो । खाने पानी छैन रे । अलिअलि भएका मूल पनि सुक्दै गएका छन् रे ! दाइ भन्दै हुनुहुन्थ्यो - पर आधि घन्टाको बाटो पर लाम्पातेका खोल्साको पानी बोक्दै छौं । भैंसीलाई पानी बोकेर पाल्नै गाह्रो भो, बरू घाँस त जसो तसो हुन्थ्यो !
गाउँमा १५० खाने पानीका धारा ल्याउने भनेर १० बर्ष अघि हरेक घरबाट पैसा उठाएका थिए । दाइ,गाउँमा धारा आए पानी आएन भन्दै हुनुहुन्थ्यो । अरू त त्यस्तै हो तर उसबेला पानीको धारा कहाँ कहाँ खसाउने भन्ने बारेमा गाउँमा भएको बहस र बिबाद सम्झिँदा भने आँखा रसाउँछन् ।
अनि केको असार पन्ध्र-केको रोपाईं ? सिर्फ किनेका एक मुठी चिउरा र त्यसलाई बुकुल्ट्याउने एक चम्चा दहीको याद छ ।
असार पन्ध्रको अर्थ नभएका लाखौ किसानहरू अझै पनि असारपन्ध्र भने मनाई नै रहेछन् । अझै म जस्तै कति त सात समुन्द्रपारी दहीचिउरा खाएको फोटो खिचेर बर्सेनी फेसबुकमा अपलोड गरिरहेछन् । जग्गा मासेर सबै भिटामा सिमितहरू पनि असारपन्ध्र मनाई नै रहेछन् । जिन्दगीमा खेतिकिसान सुन्न नमान्नेहहरू त झन् मज्जाले मनाउँछन्, उनिहरूको असारपन्ध्र भनेको दही चिउरा न हो । अझ अचेल त सहरमा सुटेट्बुटेट्हरू कुन्नि के संगठनको नाममा भेला भएर अलि पर कतै हिलोमा उफ्रिन्छन् र कृषिप्रेमी भएको झ्याली पिट्छन् । त्यस्ता प्रशस्त उदाहरण यही फेसबुकमा देख्न पाइएको छ । मन्त्रीदेखि सर्बसाधरणसम्म फैलिएको यो विज्ञापनको रोगबाट असारपन्ध्र मुक्त हुन सकोस् । असार पन्ध्रमा जहाँ जहाँ हिलो छ त्यहाँ त्यहाँ गएर उफ्रिने भन्दा ती सबैले किसानका वास्तविक समस्या तर्फ ध्यान दिए कति जाति हुनेथियो । सिंचाईको अभावमा बाँझै पल्टिएका बाँझा खेतबारीले देशलाई कति आसिर्बाद दिनेथिए । असारपन्ध्रको अर्थ कति सार्थक हुने थियो ।