Sunday, July 3, 2016

केही दैनिकी भित्रका अनुभूतीहरू

Oct, 14
जीवन शायद रङ्गहरूको अनेकता नै रहेछ क्यारे ! भोगाईका अनेकन शृंखलाहरूमा यसका विभिन्न अप्ठ्याराहरूको उपस्थिति र फेरि तिनै अप्ठ्यारा बीच सहजताको बोधगम्यता पटक-पटक महसुस भएको छ जीवनमा | सम्पूर्ण वर्तमानहरू क्षणभरमै अतित बनिदिन्छन् र तीं आफैमा टाठा भएर पनि क्रमश : आँखामा ईन्द्रेणी पार्दै जान्छन् र धुमिल दृश्य हुन्छन एकएक | मोह हरेक रमाईला कुराको हुन्छ , मोह हरेक निर्दोष र अजीव मायाको हुन्छ , घमाईलो र सुकिलो दिनको हुन्छ , प्रत्येक शरदका चांदनीको हुन्छ , प्रत्येक बसन्तका बहारको हुन्छ | प्रत्येक सुन्दर कुराकै मोह हुन्छ जीवनमा | तर जीवन चक्रमा बर्षात पीडाको संकेत मात्र होइन रहेछ, जीवनको धुकधुकीको प्रत्यारोपण पनि रहेछ | अचेल बर्षात पनि आकर्षक लाग्न थालेको छ | जीवनको बारीमा सबै खाले मौसमहरू स्वीकारी दिएको छु | र आफै भित्र एउटा सन्तुष्टि निरन्तर बाँचिरहेको छु...|
नियतीको उपल्लो साम्राज्यबाट सिफारिस गोरेटाका प्रत्येक मोड र घुम्तीले संधै अपरिभाषित यो जीवनका सीमारेखामा म विवादित भविष्यका अनेक रंग पढ्न सक्छु | गन्तब्य एकै होला, बिसाउनीमा सबैका एकै मापदण्ड होलान् , तर सम्भावनाका अनेक किरमिर बक्ररेखामा जीवनको गति सरल बनाएर हिंडिदिनु या बाँचिदिनु निश्चय नै जटिल हुन सक्छ | क्रमश :....
भिमनिधीले आफ्नो जागिरे जीवनबाट वाक्क भएर जिन्दगीलाई दिवाल घडीको लंगुरसँग तुलना गरेका थिए | यीं हाम्रो तुलनामा अलि बढी पुरानै मान्छे हुन् | पुलचोक इन्जिनियरिंग कलेजबाट इन्जिनिएर भएर भर्खर जागिरे भएको मेरो एउटा मित्रले फेसबुकमा च्याट हुँदा बारम्बार यहाँ त कुनै कुराको स्कोप नै छैन यार ! मान्छे यहाँ जहाँको त्यहीं कुहिन्छ भनेर लेखेको याद आइरहन्छ | तीन तीन वटा बिषयमा डिग्री सिध्याएर पनि जागीर नपाएर ऋणमा डुबेको हैरान कुलप्रसादले मलेसियाको लागि कामदार भिसामा आबेदन हालेको छ भनेर हिजो मात्र नबराजले इमेल गरेको थियो | हरिहर मलाई बारम्बार इमेल पठाउने गर्छ | उसको इमेलमा सँधै एकै कुरा पाउने गर्छु म | दाइ, जसरी हुन्छ मलाई अमेरिका तान्नु पर्यो | कुनै केटी मिल्दैन दाइ बिहे गरेर अमेरिका आउनलाई ? काली गोरी जस्ती भए पनि हुन्छ | नेपाली भए त झन् राम्रो ! बरू म आठ-दश लाख खर्च गरुँला ! पछिल्लो इमेलमा उसले अलि झोक्किएर लेखेको थियो - मैले भनेको कुरा हुन्छ कि हुँदैन दाइ ? हुँदैन भने म मेक्सिकोको बाटो भएर पनि आउंछु | के म चाहीं नेपाल मै कुहिनु भन्ने छ र ? तपाईंको के बिचार छ दाइ यसमा ? आदि आदि ..|

भर्खर मात्र मैले निक्कै गतिलै खर्च गरेर करिब ६ महिना लगाएर मेक्सिकोको बाटो हुँदै अमेरिकाको एरिजोना भन्ने स्टेटमा उत्रिएका नेपालीहरूको खबर सुन्ने मौका पाएको थिएँ |तिनीहरूलाई सुरुमा पुलिसले पक्रिएछ | सोधपुछ र अनुसन्धान पछि केही दिन जेलमा राखेर मुद्दामा छोडिदिएछ | र अदालतले अमेरिकामा रहेर कामगरी खान पाउने स्टाटस तोकिदिएपछि तिनीहरूको योजना सफल भएछ | यो खबर अमेरिका र नेपालमा रहेका आफन्तहुँदै सनसनी फैलिएपछि हरिहरले पनि सुनेछ र उसले बिहेगरेर आउने विकल्पको रूपमा यसलाई पनि देखेछ | मैले हरिहरलाई यस बिषयमा यहीं गर भनेर केही सल्लाह दिन सकिन | अक्सर म हरिहरलाई बिद्यार्थी भिसामा आउने सल्लाहा दिन मन पराउँछु तर उसलाई यो कुरा पटक्क चित्त बुझ्दैन | हरिहर त्यो दिनदेखि मेरो सम्पर्कबाट पातलिंदै गयो |
बास्तबमा अमेरिका कसरी छिर्न सकिन्छ ? कुन कुन बाटाहरू भएर ? धेरै मान्छेहरू नेपाल फोनमा कुरा हुँदा या च्याट गर्दा सोधि नै रहन्छन | क्रमश:....