Sunday, January 24, 2016

लेख

हिन्दुराज्य भनेर कुर्लनेहरू अनेक अनेक अनुहारका छन् | मलाइ लाग्छ एकदिन तिनीहरू आफूले बोकेको नारा सम्झेर लज्जित हुनेछन | बुद्द नेपालमा जन्मिएका भए पनि चीन, जपान, थाइलैंड जस्ता मुलुकहरूमा मान्छे बुद्दलाई नै मान्छन, किन ? अब नेपालका कथित क्रान्तिकारीहरूले बुद्द एक सामन्त राजपुत्र थिए तिनीको त्यत्रो चर्चा गरिनु आवास्यक छैन भनेर भाषण ठोकेको आधारमा ती सबै मुलुकले यो बुद्द दर्शन त खराब पो रहेछ भनेर ट्रकका ट्रक त्यो बिचार र दर्शन नेपाल पठाएर आफ्नो मुलुक सफा गर्लान् त ? हिन्दु दर्शनमा के छ? किन यो उपयोगी छ ? मान्छेको सोच, बिचार र जीवनशैलीमा यसको महत्वको चर्चा परिचर्चा हुन जरूरी छ | यसलाई सर्वसाधारणले ग्रहण गर्न सक्ने किसिमले ब्याख्या हुनु जरूरी छ | यो महत्वपूर्ण छ भनेर मात्र हुँदैन, त्यसको महत्व बुझाउनु पनि सक्नुपर्छ | यस भित्र हुँदै आएका गलत व्याख्याको बिरुद्द अभियान नै ल्याउन जरूरी छ | आफूलाई सुधारेर उभिन सक्नु पर्छ पहिले | हिन्दु राज्य नभने पनि त्यो त्यतिकै हिन्दु राज्य नै भैसकेको हुन्छ | संबिधानमा लेख्नु जरूरी छैन | जस्तो म छोरो मान्छे हुँ या छोरी मान्छे भनेर निधारमा लेखिरहनु आवास्यक छैन | जबर्जस्ति किन र केका लागि ? जबर्जस्ति कम्जोरहरूले अपनाउने हतियार हो | जबर्जस्त- मसँग बिहे गर | जबर्जस्त - मलाइ यति चन्दा दे | जबर्जस्त - मेरो यो भारी बोकी दे | जबर्जस्ति कतिसम्म टिक्छ ? तिमीलाई आफ्नो बिचार ठीक छ जस्तो लाग्छ भने अरूको बिचारसँग त्यसलाई लगेर सम्बाद गराऊ | आफूलाई प्रमाणित गर | यो धर्म र ऊ धर्ममा बहुमतका कुरा नगर | धर्ममा बहुमत छ भन्ने घमण्ड छ भने एकै छिन् कुनै अल्पमतको कोखबाट जन्मिएको परिकल्पना गरि हेर | जस्तो जन्मँदै कसैले धर्म रोजेर जन्मने होइन | धर्म जो भनिन्छ - यो एक जीवन दर्शन, यति प्रतिशत र उति प्रतिशतको हुँदैन |

क्रिस्चियनहरूले धर्मको नाममा प्रलोभन देखाएर गरिब र अशिक्षित मान्छेलाई धर्म परिवर्तन गराए भन्ने जानिसके पछिको लडाईं गरिबी र अशिक्षा बिरुद्दको हुनुपर्थ्यो | अन्धविश्वास र कुरीति प्रतिको हुनु पर्थ्यो | धार्मिक स्वतन्त्रता भएको मुलुकमा भोको पेट देखिसके पछि मौकाको फाइदा लिन जानेका उनीहरूले रोटी देखाएर धर्मको ब्यापार त गर्ने नै भए नि ! तिनीहरूको बर्मसो खानुपर्ने बाध्यता आउनु पूर्व नै हामीले भोको पेटको निम्ति प्रबन्ध मिलाउन सक्नु पर्थ्यो र पर्छ | छोराछोरी भतुवा भए भनेर न त छोरा छोरीलाई गाली गर्दा समस्या हल हुन्छ, न त भात दिनेलाई नै | संबिधानमा 'हिन्दु अधिराज्य' भनेर पाँच अक्षर लेख्दैमा न त हिन्दुधर्मको सुरक्षा हुन्छ, न त क्रिश्चियन हुने परिपाटीको नै अन्त्य हुन्छ | फेरि क्रिश्चियन हिन्दु मात्र भएको छैन, किरात, बुद्द सबै भएको छ | समस्या हिन्दुको मात्र होइन सबै सनातन नेपाली धर्म र संस्कृतिको हो | सबैको साझा समस्या गरिबी हो, अशिक्षा हो, समस्या अज्ञानता हो | खासमा यस्ता कुराको बिरोद्द लडेर मात्र हिन्दु वा कुनै पनि नेपाली धर्म र संस्कृतिको संरक्षण सम्भव छ | कुरा बुझौं, बुझाउँ | नत्र हिन्दु अधिराज्य भनेर बोल्ड अक्षर मै लेखेपनि धर्म परिवर्तनको गति निरन्तर कायमै रहि रहने छ |

भुलक्कड हामी


सर्वसाधारण नेपाली जनताहरूको स्मरण शक्ति कमजोर छ भनेको हो कि क्या हो ? नेताहरूले चुनावमा के प्रतिबद्धता गरेका थिए त्यो त चाँडै विर्सन्छौ नै, हुँदा हुँदा चार महिना पुरानो समाचारलाई कुनै पत्रिकाले फेरि नयाँ शिर्शक दिएर पोष्ट गर्यो भने पुरै कहिल्यै नपढेको, नयाँ, नौलो जस्तो गरेर पढिरहेका र फेरि त्यहि कुरो सेयर गरिरहेका हुन्छौं ।

एउटै समाचार दश चोटी विकिरहेको हुन्छ । कसरी एउटै विचार पटक पटक नौलो लागिरहन्छ हामीलाई ? दुई चोटी पढेको कुरा पनि किन फेरि अस्ति पढेको हो के जस्तो भएर आउँछ ? पुरानै कुरा पनि कत्ति चाँडै नयाँ, नौलो भइसकेका हुन्छ ?

हाम्रो यो कमज़ोरी बुझेकाहरू हाम्रै घर भित्रका हामीले भुलेका कुराहरू हामीलाई नै बेचिरहेका हुन्छन् । हाम्रै विचाराहरू उनिहरूले आफ्नो वनाएर हामीलाई पढाइरहेका हुन्छन् । हामी भने यो त मलाई पनि यस्तै लाग्थ्यो भनेर आफ्नै कुरा फेरि सिकिरहेका हुन्छौं । भुलक्कड हामी ।

‎तपाईंको उचाई कति हो‬ ?


साढे पाँच फुटले एकदिन मेरो सामु आएर ऊ साढे छ फुट भएको बतायो |
उसबेला मेरो समस्या बढी भन्दा बढी बस्तुबादी हुन खोज्नु थियो |
मैले भने - झुठो हो, तिमी साढे पाँच फुट जस्तो मात्र देखिन्छौ | यसपछि ऊ मबाट रिसाएर गयो | फेरि कहिल्यै सम्पर्कमा आएन | मलाई त्यसै नरमाइलो लागिरह्यो |
यस्ता कयौ घटना घटे मेरो जीवनमा |
**
एक दिन देवकोटाको कविताले मलाई आकर्षित गर्यो | मैले पनि काँडालाई फूल र फूललाई काँडा, ढुंगालाई ईश्वर र ईश्वरलाई ढुंगा, यस्ता अनेक कुरा देख्ने प्रयास गरें | २+२=५ पनि हुनसक्छ, ४ पनि हुन सक्छ भनेर बिश्वास गर्न खोजें | दृश्य भन्दा परतिर गएर जीवनलाई बुझ्न खोजें | यसो गर्दा मलाई आफू झन्झन् भ्रममा, झन्झन् कठीनतिर प्रवेश गरिरहेको जस्तो लागिरह्यो | झन् हराए जस्तो भएँ म | तर एक प्रकारको आनन्द भने आइरहे जस्तो पनि लागिरह्यो |
**
समय न हो । एकदिन कताबाट फेरि साढे पाँच फुट मेरो सामु आइपुग्यो | उसले आफ्नो गलाको आइडि कार्ड देखाउँदै भन्यो - अब त म साढे छ फुटको हुँ भन्नेमा बिश्वास लाग्छ ? यसो हेरेको त्यहाँ उसको उचाई साढे छ फुट नै लेखेको थियो |
मैले भने - किन नलाग्नु ? खासमा तपाईं साढे सात फुटको हुनुपर्ने हो | त्यो बेला मैले मजाक गर्न खोजेको थिएँ । तपाईं यसै मसँग रिसाएर हिंडीहाल्नु भयो । तपाईंको जस्तो उचाई भएकोले साढे सात फुट नै लेखे पनि सबले बिश्वास गर्छन् | र त्यो हो पनि | नत्र एकचोटी आफ्नो उचाई आफै नापेर हेर्नुहोस् त | मलाई त लाग्छ - कसैले तपाईंको उचाइको अझै अवमुल्यन गरिरहेको छ |
ऊ कन्फुज भयो | ऊ जे सोचेर मलाई भेट्न आएको थियो, त्यो भन्दा फरक पाएको थियो उसले मलाई | ऊ एकछिन अल्मलियो र त्यहाँबाट हठात् बाहिरियो |
**
एक दिन म कुन सही र कुन गलत बाटो हो भन्ने बुझ्न नसकेर यसै कफीसपमा घोत्लिरहेको थिएँ | ऊ एक्कासि मेरो छेऊमा आयो र भन्यो - तपाईंले मेरो आँखा खोलिदिनु भयो | मेरो वास्तविक उचाइ साढे पाँच फुट नै रहेछ | यी हेर्नुहोस् त मैले मेरो परिचय पत्रमा पनि सुधारेर साढे पाँच नै बनाए | मलाई माफ गर्नुहोला |
उसले थप्यो - तर तपाईं कसरी बदलिनु भयो ? तपाईंले ठीक गर्नु भएन | तपाईं पहिलाको जस्तै हुनुहोस् | प्लिज, मलाई एकचोटी तँ साढे पाँच फुटको होस् भनिदिनुहोस् |
**
म भने झन् छक्क परिरहेको थिएँ | अझै पनि कुन ठीक/ कुन गलत छुट्याउन सकिरहेको थिइन |
उसले अन्तिम प्रश्न गर्यो - तपाईंको उचाई ?
-मेरो आफ्नै उचाइ चाहि "साढे पाँच फुट" हो | तर कहिले कहिं म छ फुट, सात फुट, आठ फुट, दश फुटको पनि देखिन्छु |
मतलब ?
मतलब म कहिले अरुको ढाडमा टेकेर उभिएको हुन्छु, कहिले काँधमा, कहिले टाउकामा | अरुले दिएको उचाइ घटाइन भने र त्यसलाई आफ्नै उचाई सम्झें भने हिसाब फरक निस्कन्छ । परबाट देख्दा धेरै मान्छेहरू भ्रममा हुन्छन् | म केमा टेकेर उभिएको छु त्यो थाहा पाउन्दैनन् र मलाई दश फुटको भनिदिन्छन् र म दश फुटको मूल्यमा बजारमा बिकिरहेको हुन्छु | म खिस्स हाँसें |

उसको निधारमा चिट चिट पसिना निस्किरहेको थियो |
मैले उसलाई आँखिरी प्रश्न गरें -तपाईंको उचाई साढे छ फुट देखिएको बेला तपाईं केमा टेकेर उभिनु भएको थियो ? के तपाईं सम्झन सक्नुहुन्छ ?
...............त्यसपछि ऊ आफ्नो गाउँलाई सम्झिएर भक्कानिंदै धेरैबेर रोइरह्यो | आमाबुबा, साथीभाइ, गुरुहरू धेरै धेरैको नाम लिएर उसले सुँक्कसुँक्क गरिरह्यो |

‪‎कृष्णप्रसाद‬


सुरुमा लगातार तीन छोराको बिहे भइन्जेल कृष्णप्रशाद चुक्क बोलेनन् | सकेसम्म कुटुम्बबाट दाइजो कुम्ल्याए |
अन्तत: छोरीहरू पनि हुर्के | बिहे गर्ने बेला भयो | त्यसपछि उनी एकाएक बदलिए | जुनसुकै गफलाई पनि मोडेर अघि नै बिहे र दाइजो प्रथामा जोडेर त्यसको बिरोध गरिसकेका हुन्थे | दाइजोको बिरोद्मा नयाँ नयाँ कथा सिर्जना गरेर मान्छेलाई सुनाइ रहेका हुन्थे | केटाकेटीको मन मिल्नु ठूलो कुरा हो | हामीले दाइजोको पछि कुदनु हुँदैन | दाइजोको कुरा गर्ने मान्छे पशु हो | आदि आदि |
साँचै भन्नु पर्दा पछिल्लो समयमा गाउँलेको सोचाईमा कृष्णप्रशादले ठूलो परिवर्तन ल्याईसकेका थिए | उनमा त्यो खुबी पनि थियो | उमेरले पाको बन्दै गए पनि कृष्णप्रशाद गाउँमा सबै भन्दा प्रगतिवादी र क्रान्तिकारी जस्ता लाग्थे | सबैले भन्थे - कृष्णप्रसाद आधुनिक सोचको मान्छे हो |

- कुरो के भने-
हाम्रो गाउँ समाजमा, देशमा, कृष्णप्रसाद जस्ता मान्छे कयौं छन् | जसलाई के खराब हो र के असल हो भन्ने समयमै थाहा छ र त्यो अरुलाई बुझाउन सक्ने क्षमता पनि तिनीहरूमा छ, तर ती आफ्नो स्वार्थमा भइन्जेल त्यो नराम्रै भए पनि चुपचाप हुन्छन | थाहा नभए झैं गर्छन | र फेरि आफ्नो स्वार्थ पुरा भएपछि तिनै कुरालाई उठाएर गतिलो देखिन खोज्छन | हामीले बिद्द्वान र असल ठानेका कयौं नेताहरू यहीं चरित्र भएका कारण सामान्य र अत्याबस्यक परिवर्तनको लागि पनि हामीले बर्षौं कुर्नु परेको हो कि ?

के सहनशीलता नारीको बिशेष चरित्र नै हो त ?


नारी ममताकि खानी होलिन्
तर नारी धर्ति पनि होइनन्/आकाश पनि होइनन् |
नारी सहनशीलता भन्ने कुरा पुरानो कुरा हो | यस्ता शब्दजालमा फँसाएर नारीलाई जुनसुकै पीडा पनि सोच्नै नसक्ने हदसम्मको बनाउने सपना अबका मान्छेले त्यागेको राम्रो ! स्वयम् नारीहरूले नै यस्तो सोच्न छोडेको राम्रो | कुनै उपाए नहुनुको पीडा मात्र सहँदै आएकी हो नारीले अहिलेसम्म | यो उसको बाध्यता हो, चरित्र होइन |

पुरुषहरू पनि यस्तो स्थिति हुनु हो भने शहनशील नहुनुको बिकल्प हुँदैन | द्वन्दकालमा बिनाकारण जति कुटे पनि चुपचाप सहेर हिंडेका पुरुषहरू मैले देखेको छु | इस्लामिक स्टेटहरूमा गर्धन थापिरहेका प्रशस्त पुरुषहरू देखेको छु | ईतिहाँसमा संसारको कुनाकुनामा सिक्री लगाएर बेच्न राखेका पुरुषहरू देखेको छु | आफ्नै श्रीमतीसँग मालिक सुतेको देख्दा पनि थाहा नपाए जस्तो गरेर अर्कै पट्टि फर्केर हिड्ने कमाराहरू पुरुष नै त थिए | बा-आमाको निम्ति बिहे गरेको हो मैले भन्ने शहनशील लघुपुरुषहरू त झन् कति देखेको छु कति |

सहनशील हुनुपरेको हो नारीले, बनाइएको हो | कम्तिमा नारीले आफैलाई नारी सहनशील हुन्छे नभन्नु होला, यहाँ हरेक पुरुष त्यो सुन्न आत्तुर छ |

-नारी फगत एक नारी हो | एक सामान्या मानिस हो ऊ | पूर्ण स्वतन्त्रताको हकमा परिस्थिति अनुसार ऊ जस्ती पनि हुन्छे | दुखेको कुरो दुख्यो नभनी बस्ने कुनै अलौकिक मानव जाति होइन नारी |

# कुनै नारीले त यति लेख्ने आँट गर्नु नि | पुरुषले पढाएका हरफहरू उपहार जस्तो ठानेर शेयर गरेर हैरान | कति साह्रो डराएका गाँठे ! परिवर्तन चाहनेले बोल्नु पनि पर्यो नि ? सबै पुरुषहरू तर्सेर भाग्छन भनेर हो कि के हो ? # grin emoticon

Friday, January 22, 2016

साहित्य समाजको दर्पण हो

'साहित्य समाजको दर्पण हो' - यो परिभाषा धेरैलाई मन पर्दापर्दै पनि यो परिभाषाले व्यक्त गर्न खोजेको कुराले कतिपय सर्जकलाई सोच्न बाध्य बनाउँछ ।
यस परिभाषाले साहित्यमा अर्ति,उपदेश र आदेशलाई स्वीकार्दैन ।
जस्तो हामीले दर्पण हेरिरहँदा दर्पणले तेरो अनुहारको कालो धो, कमाल काट् या दाँत चम्का कहिल्यै भन्दैन । आँखिभौ मिला पनि भन्दैन ।
कालो या सेतो, लामो या छोटो त्यो देखाइदिने काम मात्र गर्छ । बाँकि निर्णय हामीले अर्थात् पाठकले गर्ने हो ।

मनको आरोप



एकदिन कहाँकहाँ पुगेर ठोकियो मन र घाइते भएर फर्कियो ।
यस्तै हुन्छ, धेर बरालिनु राम्रो होइन, आराम गर भनेर थुम्थुम्याए पछि मुसुक्क हाँस्यो र भन्यो - त्यो त मलाई पनि थाहा छ । तर मेरो स्वभावै यस्तो छ कि म एकै ठाऊँ कहिल्यै बस्नै सक्दिन । एकै ठाऊँ गुम्सिएर बस्नु मेरो स्वभाव विरूद्दको कुरा हो । बरू यी यसरी रक्ताम्य भएर फर्किंदा मलाई अफ़सोस लाग्दैन । तर अचेल अलि बढी नै बरालिंदै छु । मलाई माफ़ गर्नुहोला । म सकेसम्म अलि बढी नियन्त्रित हुन कोसिस गर्नेछु ।

त्यसको एकै छिनपछि फेरि कहाँ कहाँ पुगेर मुस्कुराउन थाल्यो मन । धेरै बेर उतै हरायो । फर्किंदा पनि त्यो मेरो ओठमाथि नाच्दै नाच्दै फर्कियो । त्यो म अनुभव गर्न सक्थें । एक प्रकारको आनन्द आइरहेको थियो ।
मैले कहाँ गएको थिइस् पनि भनिन । र यस पटक मैले उस्लाई धेरै बरालिनु हुँदैन पनि भनिन । आराम गर पनि भनिन ।

मैले चुपचाप थाहा नपाए झै गरेको देखेर उस्ले भन्यो - यस पटक त केही भन्नु भएन त ? तपाई पनि स्वार्थी नै त हुनुहुँदो रहेछ नि !

Monday, September 29, 2014

अभिमान एक चर्चाका क्रममा :-

आफ्नो गल्ति नदेख्ने अन्धताले छोपे पछि पनि मान्छेले अरुका प्रसस्त गल्तिहरु देख्दोरहेछ | यो अन्धता अभिमानले भरिएको छ भने त झन् यहाँबाट फुत्किएर बाहिर निस्किन धेरै मुस्किल हुन्छ | अभिमानीहरूमा अभिमान बढ्दै जानुको प्रमुख कारकको रूपमा तिनका झुठा प्रसंसक नै हुन् जो तिनका सामु नतमस्तक तिनको प्रसंसा गरिदिन्छन् | मैले भने शान्त होऊ ! सब ठिक हुनेछ | यीं जमेका सबै कुराहरू समयसँगै एकदिन पग्लने छन् | तिमीलाई परिवर्तनमा बिश्वास छ भने तात्नुको अर्थ कुनै दिन सेलाउनु हो | यो साउने खोल्साले नदीमा मिसिने बितिकै धेरै कुरा सिकिसकेको हुन्छ | यो नदीले समुन्द्र या सागरमा पुगेपछि आफ्नो विशालताको अर्थ आफै बुझ्ने छ | जीउन एकदमै सजिलो छ | बस् आफू असल बनिदेऊ | असल हुनुको अर्थ अरुको लागि उपयोगी हुनु मात्र होइन | कसैलाई नराम्रो नसोच | नराम्रो नाचिताऊ | अचेल दुनियाँ बुझिनसक्नुको छ | यसले के भन्छ त्यो बढी महत्वको बिषय होइन | यसले जे पनि भन्छ | तिमी आफ्नो तर्फबाट असल कर्म गर, आफू जति सक्छौ | तिम्रा आँसुहरू संसारको जुनसुकै कुनाको हावाले आफै सुकाइदिने छ | मैले यति भनिरहँदा तिमीमा भरिएको साहस देखेर मलाई कति आनन्दा भएको थियो भित्रैबाट |

मैले यति सिकाएको हुँ तिमीलाई | आज तिम्रो हरेक असल ब्यबहारले मैले कति धेरै सिकिरहेको छु जीवनमा | मैले नजानेका यति धेरै कुराहरू छन् भन्ने मलाई थाहै थिएन |

अँ, म अभिमानीहारूको बारेमा केही भन्न खोजिरहेको थिएँ | अभिमानलाई अभिमानकै तहमा बुझिदिएका मात्र भए पनि यीं सारा अभिमानीहारू स्वाभिमानी हुने थिए | स्वाभिमानको यिनीहरूलाई पनि औधि सोख हुन्छ | तर यिनीहरू अभिमानलाई आफ्नो स्वाभिमानको रूपमा बुझिदिन्छन् | यहीं कारणले यिनको अभिमान दिन-प्रतिदिन बढेको हो | मान पाउनको लागि अभिमान गर्नुपर्छ भन्ने कुरा संसारका कुनैपनि प्रतिष्ठित व्यक्तिहरूको सिद्दान्त विपरितको कुरा हो |
तिम्रा बाजे बराजु कस्ता थिए ? कति रवाफले बसेका थिए ? कस्तो थर्को थियो तिनको गाऊँमा या सहरमा ? कति प्रगति गरेका थिए अर्थात् कस्तो कमजोर अबस्था थियो तिनको ? मैले एकजना महासयलाई भनेको थिएँ - यस्तो कुरालाई आधार बनाएर यो पुस्ताको मान्छेको मूल्यांकन गर्न खोज्नु कमजोरी हुन आउँछ | तिनले मेरो कुरा सुनेनन् | हरेक समय भेट हुँदा आफ्ना पूर्वजका लामा कहानी सुनाई हाल्थे |कहिले कहीं त दिक्क लागेर आउंथ्यो |
संसारका कुनै पनि मान्छेलाई सरनार्थी भएर बस्न रहर हुँदैन | र यो रहर बर्षौदेखि सरनार्थी जीवन बाँच्दै आएका नेपाली मूलका भुटनीज सरनार्थीको पनि थिएन | कुनै सम्पन्न मुलुकमा आफूखुसी लुकिछिपी प्रेबेश गरेर आफ्नो पुर्ख्यौली नागरिता च्यातेर सार्नार्थीको रूपमा असाइलम भर्नु जतिको मज्जाको बिषय यो होइन | आफू बस्दै आएको मुलुकबाट आफ्नो थाकथलो छोडेर रातारात अनेक यातना सहित बेठेगान लखेटिनुको पीडा अर्कै हुन्छ | तर यो सबै कुरा देश खाएर शेष भएका यीं भद्र भलाद्मीको दिमागमा कहिले घुसेन | सर्टिफिकेटले मान्छेको ज्ञान र बिबेकलाई भन्दा उसको योग्यतालाई मात्र बोक्दो रहेछ | केस पाक्नु परिपक्वताको संकेत नभएर बुढ्यौलीको संकेत मात्र रहेछ | जैविक रूपमा असक्त बन्दै जानु मानिसिक रूपमा ससक्त बन्दै जानु हो भन्ने कुरा मलाई उति ठिक लागेन | ऊनी गलल हाँसे र भने - हैन भोटाँगेहरू पनि अमेरिका पो आइपुगे त हँ !...

Friday, November 22, 2013

के यसपटक चाहिं नेपाली जनताले जीते त ??


माओवादीप्रतिको जनताको आक्रोस, उसले हार्दा आफ्नै पार्टीले जीतेको भन्दा बढी नेपाली जनतालाई हुने आनन्दको अनुभूति, यीं सब माओवादीको हिंसात्मक राजनीति, शान्ति प्रक्रियामा आइसके पछि माओवादी नेतामा देखापरेको चरम भोगविलास, भ्रष्टचार, आफन्तबाद, कृपाबाद र पार्टीमुखी र सत्तामुखी रणनीति, पार्टी अध्यक्षको बोलीको बेठेगान, देश बिकाश र संबिधान निर्माण भन्दा सत्ता हत्याउने षड्यन्त्र मै केन्द्रित अधिनायकबादी सोच, कुटनीतिक क्षेत्र लगायत देशकै गरिमामय पदमा पार्टीगत बिल्ला भिरेका असक्षम व्यक्तिको नियुक्ति, संघीयताका नाममा देशलाई टुक्र्याउने र सदियौं देखिको जातीय सदभावलाई खल्बल्याएर फूटको राजनीतिबाट फाईदा लिन खोज्ने रणनीति , विभिन्न अपराधमा संग्लग्न पार्टीभित्रका कार्यकर्तालाई दशबर्षे महान जनयुद्दको कहानी र शान्ति सम्झौतासँग जोडेर संरक्षण गर्दै कानुनी राज्यको उपहास, राष्ट्रिय स्तर देखि गाऊँस्तर सम्मका कार्यकर्ता र पार्टी नेता, महानेतामा डर, धम्कि, र त्रासको सृजना गर्ने किसिमका भूमिगत शिल स्वभाव र चरित्रको यथास्थिति, आदि इत्यादी कुराहरु प्रमुख जिम्मेवार छन् | कुनै कांग्रेस अर्थात् एमाले सर्बगुण सम्पन्न भएर चुनाव जितेका होइनन् | मावोबादीको पतन्मोख चरित्रबाट आजीत जनताले आफ्नो झिनो आँखिरी आशा यिनलाई सुम्पेका हुन् | भ्रष्ट्रचार, दम्भ, भोगविलास, सत्तालिप्सा र जनभावनाको अवहेलना गर्ने कांग्रेस / एमालेका शैलीबाट पनि नेपाली जनता अपरिचित छैनन् |

वास्तवमा भन्ने हो भने मावोबादीको अबधारणा नेपालको भूराजनैतिक परिवेशसँग मात्र नभएर बर्तमान विश्वपरिस्थिति अनुसार पनि प्रतिकूल देखिन्छ | अन्तत: तीनका जबर्दस्त निरंकुस प्रवृतिका गुप्त नीति कार्यनीतिले नेपाली जनतालाई नराम्रो धोका दिन्छ | निरक्षर, असिक्षित र होहल्लाको पछि दगुर्ने औंलाको संख्यामा गन्न सकिने नाम मात्रका केही पढेलेखेकाहरुको एउटा अबसरबादी जत्था सिवाय यो केही होइन जस्तो देखाउँछ बिगत ईतिहाँसले | अहिंसाको मनोविज्ञान मानव जगतमा फैलाउन र विश्वमा शान्तिको स्थापना गर्न अहिले सम्मको मानव ईतिहाँसले कतिधेरै समय र पुस्ताहरूको लगानी गरेको होला सम्झिहेर्नुहोस् त ?? तर आँखा अगाडि नै हामीले  ढुंगे युग भन्दा ईत्तर समयमा पनि देख्न नपाईने खालका दर्दनाक र पासविक दृश्यहरू २१ औं शताब्दीको राजनीतिक धरातलमा भोग्यौं, देख्यौं | केन्द्रिय तहमा होस् अर्थात् स्थानिय तहमा, त्यो मानसिकता, त्यो धम्कीको भाषा अझै मायोबादीबाट हटेको छैन | यसरी नै स्वतन्त्र, निस्पक्ष, खुला र डर त्राश बिहीन निर्बाचनहरू हुनु हो भने मावाबादी नेपाली राजनीतिबाट सदा सदालाई बिलय  हुने थियो | तर त्यसो हुन पाउने छैन, किनकी कांग्रेस एमालेको स्वेच्छाचारी, अहम्बादी, भ्रष्ट, सत्तालोलुप प्रवृतिले माओवादको संरक्षण गरिनै रहने छ | र ती फोका जस्ता भएर नेपाली राजनीतिमा उठ्ने र प्याट्ट फुट्ने क्रम जारी नै रहने छ |

यथार्थमा भन्नु हो भने नेपाली जनताहरू एकदमै कुइरोको काग जस्ता भएका छन् | अब के गर्ने होला ? अब के हुन्छ  होला ?? तीनलाई केही कुराको पत्तो छैन, किनकि तीनलाई आफैले चुनेर पठाएको प्रतिनिधि प्रति कति भरोषा छैन | बिचरा जनताहरू यता न उता भएका छन् | चोरै चोरहरूको बीचबाट अलि कमचोर, फटाहा नै फटाहाको बीचबाट अलि कम फटाहा, अनैतिकै अनैतिकको बीचबाट थोरै भए पनि नैतिकवानको खोजिगरेर भोट हाल्नु पर्ने मुस्किलता नेपाली जनताहरूको बिबसता बनेको छ | औंलामा गन्न मिल्ने असल नेताहरू खराबहरूको भीडमा यसै हराएका छन् | कांग्रेस र एमालेले यसपालको जनाताको यो सपोर्टलाई आफ्नो बिगत झुसिल्किरे राजनीतिक गतिबिधिको समर्थनको रूपमा बुझे र त्यहीं अनुसारको आचरणमा अघि बढे भने नेपाली जनताले अत्यन्तै दुखको अनुभव गर्नेछन् | त्यो दिन अब महसुस गर्न नपरोस | यसलाई उनीहरुले जनताले सुम्पेको आँखिरी भरोषा र  जिम्माको रूपमा बुझिदिएर कर्तब्यपरायण भएर अघि बढिदिए भने नेपाली जनताले हर्षले आसुँ चुहाउने छन् | सोह्र हजार सिधा-साधा नेपालीका तड्पिरहेका मृत आत्माले शान्तिको महसुस गर्नेछन् | र माओवादी हिंसात्मक आन्दोलनका पछिला सम्भाव्य योजना-परियोजनाहरू  यसै तुहिएर जाने छन् | नेपाल र नेपालीको सपना साकार हुनेछ | तर के यो सम्भव छ ? सम्भव होस्, सबलाई शुभकामाना छ !!!!!  नेपाली जनतालॆ भरोषा गर्न मिल्ने कोही नभएर रुँदैरुँदै चोरलाई चाबी दिन दिन नाअओस || सच्चा ईमान्दार र भरपर्दो राजनीतिक संस्कारको बिकास भएर जाओस | बिजेताहरूले यसको अभ्यास गर्ने हिम्मत गरुन् |

"के यो ईच्छा कोर्रा परिकल्पना मात्र हो त ?? एउटा बिथ्थाको बस्तु ???"   बिगतले वर्तमानभरी प्रसस्त संकाहरू  छरिदिएको छ |

मित्रहरू,
मलाई के लाग्छ  भने - नेपालमा यी चोर, फटाहा, डाका, हत्यारा, घुसखोरी, बलात्कारी, रास्ट्रघाती, देशद्रोही, बिखन्डनकारी, आतंककारी कुनै पनि अपराधी जन्तु जुनसुकै पार्टीको, अर्थात् जो सुकैको बाउ, बराजु ,छोरो , नाति वा पनाति भए पनि कानुनी राज्याको अबधारणा अनुसार कारबाही हुने परिपाटीको बिकास मात्र हुनु हो भने पनि नेपाली जनाताले अथाहा राहतको महसुस गर्ने थिए,  तर यीं चुत्याहा राजनीतिक पार्टीहरूले जबसम्म यस्ता दुष्टहरुको पृष्ठपोषण गरेर यिनलाई पोल्टामा हालेर जोगाई रहन्छन् तवसम्म नेपाली जनता माओवादी जस्ता हिंसात्मक राजनीतिमा उन्मत्त पार्टीबाट अहिले क्षणिक जीतको महसुस गरेपनि निरन्तर हारिनै रहनेछन् |

                               

Saturday, August 24, 2013

टपरटुईंयाँ बिद्द्वानहरू र तिनका भँगेरे समर्थकहरू

बिसङ्गति त जरुर छ यहाँ | यहीं भित्रबाट प्रकृतित: बाँच्ने प्रिक्रियाको खोज हमेसा गरिरहन्छ मान्छे | जीवनमा दु:खहरूले जतिसुकै दाईं गरेपनि अन्तिमसम्म जिजीबिषा पालीरहन्छ मान्छे, र त्यो हुनु आवस्याक पनि छ | जीवनको अमूल्य मूल्य आफ्ना अपुरा र अधुरा सपनाहरुले सिमान्ततासम्म बोकेर हिंडीरहेकै हुन्छन् | कसैको अर्ति/उपदेश अर्थात् वर्तमानका केही टपरटुईंयाँ बिद्द्वानहरूका भ्रमित ज्ञानगुन बिना पनि मान्छे यसै बाँचिरहेकै हुन्छ |

हमेसा जीवनको निरर्थकताको कुरा गर्ने, क्षणभंगुरता र अस्थाइत्वको कुरा गर्ने, जीवनका दुर्घटना र भ्रमपूर्ण चेतनाको कुरा गर्ने तर फेरि आफू महानताको पगरी गुच्छन अर्थात् बिद्द्वताको टीका लगाउन छिन मै अरूको पाईतालाको छापसम्म खुर्केर फाल्न खोज्ने कंकाल मानसिकताका जिउँदा विसंगतिहरू भ्रमको व्याख्याका क्रममा अरू भ्रम फैलाएर दुनियालाई अरू दिग्भ्रमित पार्न खोजिरहेछन् | यो दुनियाँ हल्लाको पछि धेर दगुर्छ | नाम दामको पछि कुद्दा कुद्दै आफूलाई नै गुमनाम गर्छ | काम भन्दा कुरा, ब्यबहार भन्दा सिद्दान्तको खेति गर्ने प्रचलनको अनुसरण धेर तिनैले अपनाएको देखिन्छ, जो आफू बख्खु लगाउँछन् तर हमेसा आफूलाई धोतीधारी भन्न रुचाऊँछन् | बख्खुको बिरोध गर्छन् र कन्दनी र धोतीको प्रसंसा गर्छन् | आफू नाङ्गो, उदाङ्ग खुल्ला किताब जस्तो छु भन्छन् तर कोड भित्र अनेक कोडहरूमा आफ्नो असली छुपाएर बात गर्छन् | हिजो ढाँटेको कुरा निकाल्यो भने त्यो हिजोको कुराहो,आज फरक भैसक्यो भनेर किच्च गरिदिन्छन् | आफ्नो पंगु जीवनशैली र बकम्फुसे दर्शनको समर्थनमा नयाँ सिद्दान्त नै स्थापना गर्न खोज्छन | आफू कट्टु माथि कट्टु लागाउने र अरुलाई नाङ्गो हुनुपर्छ भन्ने खालका यथार्थबादी लेखक, कलाकार, र नेता, महानेताको बिगबिगी कम गतिमा बढेको छैन अचेल | आफूलाई सत्य सावित गर्न ती रुन्छन् / कराउँछन् | तिनले यहीं प्रक्रिया द्वारा डण्डीफोरलाई पीलो साबित गरेर देखाई दिन्छन् | यिनीहरू आफूलाई लुकाउँछन् र अरुको एकसरो जीवन बाँच्ने प्रतिष्ठा पनि च्यातिदिन्छन् , र भन्छन - उदाङ्ग हुनु पर्छ | खुल्नु पर्छ | लुकाउनुको अर्थ छैन | आँखीर एकदिन असलियत सबैले थाहा पाईहाल्छन् |

यीं यसरी झुठा बिचारको खेती गरेर अगाडि बढिरहनुको एकै कारण तिनको पछाडि ठूलो भ्रमपूर्ण जमात घिसारिएर जानु हो | यस्तालाई काँधमा बोकेर तिनको धमिलो बिचारले आफूलाई प्रदुषित बनाउदै लगेका अदृश्य जमातहरू प्रशस्त: छन् | ती कालान्तरमा यस्ता बिचारले टक्सिकेटेट भएर अन्ध समर्थक जस्ता बन्दै जान्छन् | जसरी कम्युनिष्ट विचारधाराबाट मात्रा प्रशिक्षितहरू दुनियाँका अन्य दर्शनलाई तिनीहरूको अध्यानको सामन्तबादी आँखाले मात्र हेर्छन् र आफू आजीवन अन्धो भएको पत्तो पाउँदैनन् | यीं प्रसंसक अर्थात् समर्थकहरू यस्ता हुन्छन्, जसले ती टपरटुईंयाँ बिद्द्वानलाई बातै पिच्छे पगरी लगाईदिन खोज्छन् | र भन्छन - हजुरले त डकार्दा पनि दर्शन नै निस्कन्छ |

अचेल जसले जेको पनि खेती गरेकोछ | जेको पनि व्यपार गरेको छ | बिक्नेसम्म जसले जे पनि बेच्न खोजेको छ /बेचेको छ | त्यो तुलनामा यस्ता बिद्द्वानहरूले बजार अनुसारको बिचारको आलु उत्पादन गरेर फाईदा लिनुलाई तिनको कलाको सफल प्रयोगको रूपमा लिनुपर्ला ! अनि जे कुरामा पनि समर्थन गरेर भुईं छोड्ने भँगेरे समर्थकहरूलाई असल उपभोक्ता भनेर बुझ्नु पर्ला !! कि कसो ???

Tuesday, February 26, 2013

अनुभव भन्ने कुरा अजीबको हुँदोरहेछ !


कहिले कहीं कति आसानी साथ हाँसिदिनु पर्छ मान्छेले, ता कि आफ्नो सिधापनले ऊनिहरुको आपराधिक मानसिकतालाई अपाङ्ग बनाई दियोस ।
म राजनीति झन् भयङ्कर र रिलेसनसिप मृत प्राय: भएको एउटा गाउँमा पुगेर उभिन्छु । मलाई बिल्कुल डर लागेको हुँदैन तर  मनभरि दुखेसो हुन्छ । पीडा हुन्छ । एक प्रकारको अमिलो खेद उब्जिएर आउँछ । मलाई आफ्नै माटामाथि थुक्ने हिम्मत बिल्कुल हुन्दैन, तर राजनीतिको घोडा चडेर गोप्य मिटिंगमा दिनभर गाएब हुने र रातभर भिष्म पितामह बन्न खोज्ने आफन्ती अनुहारहरू आफ्नो बैचारिकताको सिमान्ततामा तैरिदै गएझै लागिरहेथ्यो । त्यसबेला, त्यो दिन मैले एउटा भ्रमलाई स्वीकारेको थिएँ र बिस्तारी मुस्कुराएको थिएँ ।
जीवन भोग्नुसंग हमेशा सवाल राख्छ । अनुभवका टुक्रा टुक्राले जीवनको लम्बाईको हिसाब राख्छन् । फरक-फरक परिस्थितीमा  मान्छे फरक-फरक  बनिसकेको हुन्छ । अनुहारको उपस्थिती र ब्यबहारको प्रुस्तुती नमिल्दा लाग्न थाल्छन । र फेरी एउटा ज्ञान अर्थात् भ्रमको जन्म भैसकेको हुन्छ ।
जसरी  हरेक भ्रम सहित एउटा ज्ञानको जन्म हुन्छ, ठीक त्यसरी नै हरेक भ्रम सहित अर्को ज्ञानको मृत्यु पनि हुन्छ । तर यो अनुभव भन्ने कुरा चाहीं सँधै अजीबको हुँदोरहेछ !