मलाई थाहा थियो, सबलाई आफ्नै कुराहरू प्यारा हुन्छन् | मैले कुनै बाद,सिद्दान्त या दर्शनलाई अन्धो रूपमा समर्थन गरेर कहिल्यै ताली पड्काइन | जुलुसमा सामेल भइन, दंगामा समर्थन जनाइन | यो युगमा गान्धीबादी भएर बाँच्न सकिंदैन | बैयक्तिक स्वार्थको चरम चुलीमा चक्कर मारिरहेको भोगबादी सर्बसत्ताबादबाट स्वाचालित यस उत्तरआधुनिक विश्वमा इमान्दारिता बाजारमा पिठोको भाउमा पनि बिक्न सक्दैन भन्ने कुरा मैले कयौं पटक आफ्नै जीवन भोगाईबाट आर्जन गरेका कुराहरू मध्येमा पर्छ | तर यहीं कमजोरी हो, जो लिएर म बाँचेको छु | र यहीं कमजोरी जसले मलाई जीवनका हर क्षेत्रमा उर्जा प्रदान गरिरहन्छ | अति अहम् जीवनबादी मूल्यलाई पूजा गरेर आफ्नो छातीको चौडाई जति फैलाए पनि उतिकै मात्रामा खुम्चिंदै गएका मान्छेका साना भन्दा साना प्लास्टिकका जस्ता मुटुहरुको पनि मूल्य कहाँ नै पो उस्तो महँगो छ र ? यसै बिक्री भइरहन्छन् सानोतिनो मूल्यमा !
जीवन भोग्नु हो, आनन्द लिनु हो, अन्तिम थोपासम्म निचोरेर यसको स्वाट्ट बनाइदिनुमा जीवनको सार्थकता छ भन्ने मानसिकताबाट मात्र अभिप्रेरित भएर जीवन हुनुका अरू आधारभूत मूल्यहरूलाई नै बिर्षिनेहरू हुन् या जीवनलाई नचाहिँदो पूजा मात्र गरेर बाँच्नै बिर्षिनेहरू हुन्, सबैका आ-आफ्ना कमजोरीहरू छन् नै | 'दर्शन' तिमीलाई म प्रेम गर्छु तर म सम्पूर्ण तिमी भएर बाँच्न सक्दिन | खालि तिमीसँगै बाँच्न चाहान्छु | तिमीसँग तर्क गर्न, झगडा गर्न, सानोतिनो रिसइबी गर्न, मनमुटाब गर्न, तिमीसँग जिस्किन, ख्यालठट्टा गर्न, तिमीलाई आफ्नो बनाएर च्याप्प छातीमा टाँसिरहन, तिमीलाई जीवनको सिमान्ततासम्म यसै प्रेम गरिरहन मलाई गहिरो पागलपन भइरहन्छ, यद्यपी म कुनै दार्शनिक होइन | मलाई माफ गर दर्शन !
आँखिर मेरो सबभन्दा कठिन प्रश्नको सबभन्दा सरल उत्तर भनेको नै तिमी नै त हौ |