Sunday, October 2, 2011

भित्र र बाहिर

म बाहिरबाट घरमा आउँदा घरमा भएका मान्छेहरू ढोका बन्द गरेर पर्दा नखोली बसेका थिए | म ढोका खोलेर भित्र पसें, घर अँध्यारो थियो | मैले कराएँ- किन अँध्यारोमा बस्नु ? लाइट बालेर बस्दा हुन्थ्यो ! झ्यालको पर्दा खोलेको भए पनि हुन्थ्यो ! सबै अचम्म मानेर मलाई हेरिरहेका थिए | सायद उनीहरुलाई लागेको थियो - यतिको मनग्य उज्यालो छ र म बित्थामा कराइरहेको छु | मैले अझ थपें- बाहिर धेरै रमाईलो छ किन घर भित्र गुम्सिएर बस्नु ? ऊनिहरू निक्कै छक्क परिरहेका थिए | त्यहीं प्रकाश प्रयाप्त थियो उनीहरूका लागि | कति त्यहीं पढिरहेका थिए | कति त्यहीं भित्र खाइरहेका थिए | उनीहरूका लागि सामान्य लागेको कुरा मेरा लागि असामान्य लागेको थियो | म बाहिरबाट भित्र एक्कासी आउँदा मलाई भित्रको प्रकाश प्रयाप्त नभएको हुन सक्छ | मैले पर्दा खोलें - झ्यालबाट प्रकाश एक्कासी हुत्तिएर घरभरी फैलियो | देखें - सबैका आँखा तिर्मिराई रहेका थिए | एकछिन पछि उनीहरूका आँखा होसमा आईरहेका थिए | अघिसम्म मलाई छक्क परेर हेर्नेहरू झ्यालबाट बाहिर अचम्म मानेर हेरिरहेका थिए |

मलाई लाग्यो- 'यो त घरको कुरा भयो | मान्छे आफै भित्र,आफ्नै दुनियाँमा आफ्नै ज्ञान र दर्शनका आफ्ना निजी घर भित्र कति कति यसरी नै छिपेर बसेका होलान् | त्यहीं ज्ञान, दर्शन र दृष्टिकोणलाई अन्तिम ठानेर त्यहीं रमाईरहेका होलान्, त्यसै भित्र |' आफूले जानेको,बुझेको,ठानेको र भोगेकोलाई नै सर्वश्व मानेर त्यहीं घेरा भित्र गुम्सिएका मान्छेको मनको पर्दा खोलिदिन सके तीं दुनियाँका अरु सयौं सुन्दर बिचारदेखि अबस्य आकर्षित भएर आफूबाट बाहिर निस्कन्थे होला !

कानमा अनौठो आवाज आयो | यसो फर्किएर हेरें | कोही ढोकाको चुकुल बिस्तारै खोल्दै थियो | देखें - केटाकेटीहरू पनि झ्यामिएर ढोकातिर बढिरहेका थिए |