Wednesday, November 10, 2010

बिना योजनाका क्षणहरूभित्र

कुनै पनि कार्य गर्नु अघि योजना बनाउनु पर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ | तर यसरी योजना बनाउने क्रममा मैले कहिले पनि दीर्घकालीन योजना बनाएको सम्झना छैन | म अमेरिका प्रबासिएको पनि तीन बर्ष बितिसके छन् | बिना कुनै त्यस्तो महत्वपूर्ण योजना मेरा तीनबर्षहरू दैनिकीहरू मै बिते झैं लागिरहेछ | हुन त यहाँ आउनु मै पनि मेरो कुनै योजना नभएकाले यस्तो भएको हुन सक्छ | " उदेश्य के लिनु उडी छुनु चन्द्र एक " भन्ने भनाई अन्डर लाईन गरी गरी पढियो | अझै पनि धेरै राम्रो लाग्छ | तर अझसम्म जीवनमा न त उदेश्यले प्रवेश पायो न त कुनै योजना नै बनाइयो त्यसको खातिर | कहिले कहीं त आफूलाई साह्रै खेश्रा किसिमको जीवन बाँचिरहे झैँ लाग्छ |
साँच्चै भन्नु पर्दा अझसम्म कुनै खास उलेख्य योजनाले जीवनमा प्रवेश पाएन | तै पनि हरेक कुरा अझसम्म यसै हुँदै आए र तीनमा कुनै गुनासो पनि छैन | अब के गर्ने योजना छ त ? नेपाल जानुहुन्छ होला, के गर्ने योजना बनाउनु भएको छ ? जब जब यदाकदा यस्ता प्रश्न मप्रति जिज्ञासा राख्न खोज्ने शुभचिन्तकहरूबाट सुन्छु र आफूलाई उत्तर बिहीन पाउँछु, अनि मात्र आफ्नो कुनै त्यस्तो योजना नभएकोमा छट्पटी भएर आउँछ |
विश्वबिद्यालयमा अध्यान गरिरहँदा पनि मेरो भविष्यमा के बन्ने भन्ने कुरामा कुनै योजना थिएन जस्तो कि विश्वबिद्यालयको पनि कति योग्यता भएका कति बिद्यार्थी उत्पादन गर्ने भन्ने कुरामा कुनै योजना थिएन | बर्षेनी शिक्षामा करोडौको लगानी गरेर बेरोजगार जनसंख्या उत्पादन गरिरहेको मेरो विश्वबिद्यालयको एउटा बिक्न नसकेको गुणस्तरीय आलु हुनेवाला थिएँ म | हरेक बर्ष जेहन्दार छात्र भनेर पुरस्कृत गर्दै आएको मेरो विश्वबिध्यालयसंग मेरै भबिष्य सुरिक्षित छैन भन्ने कुरामा मलाई पक्का थियो | तै पनि बिजेता हुँदा भने अनौठो गर्ब हुने गर्थ्यो मनमनै | तर क्षण भरमै निरर्थकताले गाँजी हाल्थ्यो | मेरा सहपाठीहरूले मेरो सुन्दर भविष्यको परिकल्पना गरेका थिए भन्ने कुरामा कुनै संका थिएन | उनीहरूमा मप्रति भरोसा थियो तर मलाई आफूप्रति जति नै भरोसा भए पनि मेरो सुन्दर भविष्यप्रति कुनै भरोसा थिएन |
मेरो किसोर भावुक अबस्था दसबर्षे गृहयुद्दको बिभिषिकाबाट पिल्सिएको एउटा टुक्रा हो | यो द्वन्दकालले क-कसको जीवनको कुन-कुन पाटोलाई छोयो कुन्नि तर यसको प्रभाव भने कुनै न कुनै रुपमा रहँदो रहेछ |तै पनि बन्दुक बोकेर भूमिगत हुन सकिन | मैले आर्जन गरेको शिक्षामा मेरै पेटको सुरक्षा छैन भन्ने जान्दाजाँदै पनि थुप्रै पैसा बोकेर सहर पसेर प्राबिधिक शिक्षा ग्रहण गर्न पनि सकिन | किन भनेर नसोध्नु होला ८० % देसको जनसंख्याले तपाईंलाई राता आँखा पारेर हेर्न सक्छन् र त्यसको जवाफ फेरि मसँग बिल्कूल हुने छैन | बेलैमा घरजम गरेर खेतिपाती गरौ भन्ने आँट पनि आएन | जीवनलाई यथावत् छोडियो | यो बग्दै गयो ...| बिना योजना कसरी कसरी आज म यहाँ छु | र अब भने बिलकूल मैले योजना नबनाई हुँदैन भन्ने निस्कर्षमा पुगेको छु |
सुरु सुरुमा धेरै पहिले योजना बनाएको अलि अलि याद छ | योजना म भन्दा धेरै बडेमाका हुने गर्थे | "हर्रो नापाउँदो जाइफल धाउँदो " जस्ता लोकोक्ति कति सुन्न पाएयो पाएयो, त्यो समयमा | सौभाग्य भन्नु पर्छ मसँग यस्ता लोक साहित्यको राम्रो भण्डार छ | त्यतिखेरका मेरा कुराहरूलाई साँचो अर्थमा योजना नभएर सपना मात्र भन्न रुचाउछु | यसर्थ योजना कहीं पनि देख्दिन मेरो वरिपरि |

विश्वका अधिकांस मुलुकका नागरिकहरूले अमेरिकालाई "ल्याण्ड अफ अपरचुनिटि" , "ड्रिम ल्याण्ड" जस्ता पदावलीको संज्ञा दिए पनि मलाई अमेरिका ठिकैको लागेको छ | मलाई यहाँ हुनुमा कुनै गुनासो छैन न त उति ठूलो गर्व नै | यो औसत प्रबासी नेपालीहरूको धारणा हो भन्ने कुरामा दावा गर्छु | तर सबैले आफूलाई देखाएर कुरा गर्छन् भन्ने छैन र यो कुनै सफल जीवन बाँच्ने नीति अन्तर्गतको कुरा पनि होइन | साँचो अर्थमा मैले नेपालमा अमेरिकाको बारेमा सुनेका ७५% कुराहरू कुनै पनि मिलेनन्, पुस्तकमा पढेका बाहेक | सबैले अनुमानको भरमा हावादारी गफ दिंदा रहेछन् | र अमेरिकाबाट नेपाल जाने मान्छेले पनि धेरै सही सूचना लुकाएर आफूलाई प्रस्तुत गर्दा रहेछन् | र वहा ! वहा ! खाएर फिर्दा रहेछन् | यो कुरा धेरै केही समयपछि पत्ता लागेको थियो | मेरो अर्थ अमेरिकाको जीवन कठिन छ वा स्विर्कार्नै नसकिने मुस्किल छ भन्ने हैन | नेपालमा अरु कयौं बर्ष संघर्ष गर्दा पनि नपाईने जीवन पद्दति अमेरिकाको मुख्य आकर्षण हो | तर देश भनेको देश नै हो | आफ्नो मुलूक भनेको आफ्नो मुलूक नै हो | अमेरिकामा रहेका नेपालीहरूले सबैभन्दा बढी आत्मासन्तुष्टी लिने बिषय चाहीं नेपालको जटिल जनजीवनसँग यहाँको प्रबिधिमय गुणस्तरीय जीवनको तुलना नै हो | प्रबासै भए पनि कानुनी मुलूक प्रतिको भरोसा हो | हरेक व्यक्तिले आफू अपमानित भएर पनि कसैको सेवा गरिरहनु पर्ने सामन्ती अर्थतन्त्रको जटिलताबाट मुक्तिको अनुभव हो | यस्ता विभिन्न नेपालका विकर्षणका कारणले अमेरिका लोभलाग्दो बन्दै गएको छ |

देश बनाउने कुरा आफ्नो हैसियतको कुनै सीमाभित्र नपरेपछि आफू र आफ्नो परिवारको लागि थोरै समयको लागि भए पनि केही गरौ भन्ने भावनामा देश छोडेर प्रबासिनेहरूको संख्या पनि दिन प्रितिदिन बढ्दो छ | विकल्पको खोजीमा नागरिक कतातिर लाग्दै छ त्यो त थाहा छैन तर देश बनाउनै पर्दा पनि देशभित्रै बेरोजगार जनसंख्या हामीसंग कम छैन | यदि देश भन्नु भूगोल मात्र नभएर अन्यकुरा पनि हो भने विश्वको जुनसुकै कुनामा हरेक नेपाली आफू भित्र एउटा प्यारो नेपाल बोकेर ठम्ठम्ती हिंडिरहेको छ | देश भन्नु भाषा,संस्कृति, कला, साहित्य आदिकुरा पनि हो भने हरेक प्रबासी नेपालीले नेपालको आयतन विश्वको कुना कुनामा फैलाई रहेको छ | यो कुरा देशमै रहेर देशको राजनीति गर्ने बिदेसीबाट परिचालित स्वदेसी नेताहरूको दिमागमा कहिले घुस्ने हो कुन्नि ! महासय ! घाँटीमा अमेरिकाको नागरिता झुन्ड्याउनु यो रहर हो कि होइन आफै बुझ्नुहोस् तर छातीमा नेपालको सदाबाहर प्रेम छिपाएर , आफूभित्र एउटा प्यारो नेपाल बोकेर संसारको कुना कुनामा पेटको लागि भौतारिनु यो हामी प्रबासीहरूको रहर बिल्कूल हैन | हरेक नेपाली यसै भन्छ यहाँबाट |
कर्मको खोजीमा जहाँ जहाँ पुगे पनि, देश जुन गतिमा बगे पनि आफ्नो पनि नितान्त छुटै एउटा गति चाहिने रहेछ | यो अनुभव भइरहेको छ आज | म अहिले उदेश्यको खोजमा योजनाको निर्माण बारे सोचिरहेको छु... |